Logo

विपक्षी गठबन्धनको निर्णय : सरकारविरुद्ध जनपरिचालन, प्रदेश २ र गण्डकी सरकारलाई पूर्णता दिने



असार ९, काठमाण्डौ । विपक्षी गठवन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी ओलीको असवैधानिक कदमविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बुधबार साँझ बसेको बैठकले प्रधानमन्त्रीले एकपछि अर्को गर्दै गलत निर्णय गरेकोप्रति आपत्ति जनाएको छ ।

साथै आगामी दिनमा ओलीबाट हुन सक्ने गलत कदम रोक्नका लागि सबै उपाय अपनाउन गठबन्धनमा सहमति जुटेको जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । बुधबारदेखि प्रतिनिधिसधा विघटनसम्बन्धी मुद्धाको सुनुवाई सुरु भएकाले त्यसबारे पनि समिक्षा गरिएको उनले बताए । सरकारविरुद्ध जनदबाब कसरी सृजना गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको भट्टारईले जानकारी दिए ।

विपक्षी गठबन्धनले आफ्नो रणनीतिबारे विहिबार पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने छ । गठबन्धन बैठकमा प्रदेश २ र गण्डकी प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ । साथै गठबन्धनलाई अझै मजबुत बनाउने निर्णय पनि बैठकले गरेको छ ।

बुधबारको बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरू उपस्थित थिए ।

मंगलबारमात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्