Logo

मकवानपुर प्रशासनद्वारा सेवा शुरु गर्न बार निर्धारण



वाग्मती, १० असार: जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः शुरु गर्ने जनाएको छ । कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो । नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो ।

थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मङ्गलबार र बुधबार आउन भनिएको छ । त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्यरू मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्