Logo

काठमाडौं-तराई द्रुतमार्गः सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा



काठमाडौं १० असार । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ । दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् । ‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल (सुरुङमार्ग), ब्रिज (पुल), सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’
उक्त कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६÷७ जनाको टोलीले गरेको उनको भनाइ छ । उक्त डिजाइनरको समूहले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाई टनेल, ब्रिज, सडकलगायत संरचनाको डिजाइन शुरू गर्ने उनले जानकारी दिए ।

‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार यस्तो कोभिडको अवस्थामा पनि उनीहरू आउनु उपलब्धि नै हो,’ पौडेलले भने, ‘टनेल बन्ने धेद्रे र लेनडाँडाको आसपासमा क्याम्पसाइट स्थापना गरिनेछ ।’ नेपाली सेनाले इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) माध्यमबाट दु्रतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । यस माध्यमबाट निर्माण हुने आयोजनाको डिजाइन पनि सोही कम्पनीले गर्नुपर्ने व्यवस्थाअनुसार अहिले आएको टोलीको प्रमुख काम सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नु हो ।

उक्त चिनियाँ कम्पनीसँग सम्झौता गरेअनुसार ६ महीनाभित्र डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ । नेपाल आएका उनीहरूलाई सेनाले सक्दो सहजीकरण गरेर छिटोभन्दा छिटो डिजाइनको काम शुरू गर्ने तयारी गरिने उनको भनाइ छ । यसैगरी पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडको टोली पनि २र३ दिनमै काठमाडौंमा आउने उनको भनाइ छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्