Logo

स्वीस बैंकमा प्रधानमन्त्री निकट व्यापारीको पैसा



काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा देशमा भ्रष्टाचार बढीरहेका बेला स्वीस बैंकमा समेत नेपालीको बचत बढ्नुलाई संयोगमात्र मान्न नसकिने अर्थविद्हरू बताउँछन् ।

स्वीस बैंकमा प्रधानमन्त्री ओली निकट व्यापारीहरुको समेत पैसा रहेको पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय पत्रकारहरुको संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसीआइजे)ले ६ वर्षअघि सार्वजनिक गरेको प्रतिवेदनमा स्वीस बैंकमा पैसा लुकाउने १३ नेपालीको नाम नै खुलाइएको थियो । १३ जना नेपालीको नाममा ५ अर्ब ४० करोड कालो धन राखेको तथ्य सार्वजनिक भएको थियो । तीमध्ये धेरैजसो व्यापारी हाल प्रधानमन्त्री ओलीका विश्वासपात्र छन् ।

‘स्वीस लिक’को नाममा सार्वजानिक गरिएको प्रतिवेदनमा एक नेपालीको खातामा चार अर्ब ५० करोड र बाँकीको खातामा ९० करोड कालोधन लुकाएको सार्वजनिक भएको थियो । अहिले ४६ अर्बमध्ये आधा जसो उनीहरुको भएको बताइन्छ । सो विवरण स्वीस बैंकले नै सार्वजनिक गरेको हो । तर, उसले बचतकर्ताको नाम भने सधैं गोप्य राख्दछ ।

‘स्वीस लिक’ प्रतिवेदनअुनसार होटल मेरियटका मालिक शशिकान्त अग्रवालको समेत स्वीस बैंकमा खाता छ । अग्रवालकै मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता माधव नेपालबीच गत महिना २ पटक भेटवार्ता भएको थियो । अग्रवाल ओलीका निकट व्यवसायी हुन् । चिनी उद्योगीसमेत रहेका अग्रवालमाथि राजश्व अनुसन्धान विभागले गत वर्ष छानबिन थालेको थियो । तर, ओलीकै निर्देशनमा रोकियो ।

अग्रवालले ब्रिटिस भर्जिन नामक देशमा कम्पनी खोलेर कालो धन लुकाउँदै आएका छन् । ब्रिटिस भर्जिनमा उनको मल्टि लिंक ट्रेडिङ लिमिटेड नामक कम्पनी छ । शशिकान्त सहित सुमितकुमार अग्रवाल सो कम्पनीका मालिक हुन् । सुमितको ठेगाना शिवकुन्ज, बत्तिसपुतली, काठमाडौं नेपाल राखिएको छ । त्यही नजिकै शशिकान्तको समेत घर छ ।

त्यस्तै, स्वीस बैंकमा पैसा राख्नेहरुमा विजेन्द्र जोशी, विजेशकुमार तोडी अग्रवाल, विमल काजी ताम्राकार, विनु श्रेष्ठ, विश्ववीरसिंह थापा, विश्वधर तुलाधर, डा. श्यामबहादुर कर्माचार्य, हरिशकुमार तोदी, सत्येन्द्र कुमार गुप्ता, राजेन्द्र कुमार काबरा, रेनुका प्रधान र रेखा काबरा छन् । उनीहरुमध्ये केही भारतीय मुलको भएको स्रोत बताउँछ ।

स्वीस बैंकमा पैसा राख्ने विजेन्द्र जोशी बैंकर शसिन जोशीका भाइ हुन् । उनको ठूलो व्यवसाय नभए पनि कसरी स्वीस बैंकमा पैसा लुकाए भन्ने चासोको विषय छ । ब्रिटिस भर्जिनमा दर्ता रहेको वल्र्ड डिस्ट्रिव्युसन नेपाल लिमिटेड र हिमालयन इन्भेष्टमेन्टमा विजेन्द्रको लगानी छ ।

जोशीसहित विमल काजी ताम्रकार, विश्वधर तुलाधर सो कम्पनीका साझेदार छन् । उक्त कम्पनीको हिमालय इन्भेष्टमेन्ट ग्रुप लिमिटेड र पोर्चुकल्स ट्रस्ट नेट (बीभीआई) लिमिटेड अफसोर कम्पनीका रुपमा रहेका छन् । उनीहरुको नेपालको ठेगाना सिद्धी भवन, कान्तिपथ, पोष्ट बक्स ११२९१, काठमाडौैं राखिएको छ ।

विजेशकुमार तोदी अग्रवाल ब्रिटिस भर्जिनमा दर्ता रहेको वुडस्टक युनिभर्सल लिमिटेड कम्पनी सञ्चालक हुन् । ब्रिटिसभर्जिन कालो धनलाई सेतो धन बनाउन सहजीकरण गर्ने देशका रुपमा चिनिन्छ । तोदीसँग विन्दु तोदी र हरिशकुमार तोदी पनि ती कम्पनीका सञ्चालक हुन् । हरिशकुमार तोदीले नेपालको ठेगाना विराटनगर–९ मोरङ छ ।

कागजको व्यवसाय गर्ने राजेन्द्रकुमार काबरा र उनका श्रीमती रेखा काबरा पनि स्रोत नखुलेको सम्पत्ति स्वीस बैंकमा राख्ने व्यक्ति हुन् । नेपालमा ओम्नी इन्टरप्राइजेज कम्पनीमार्फत उनीहरुले व्यवसाय गर्दै आएका छन् ।

रिपोर्ट अनुसार बिनु श्रेष्ठको बेलउड एक्रिस लिमिटेड नामको कम्पनी सन २००५ देखि ब्रिटिस भर्जिनमा दर्ता छ । जसबाट उनी पनि कालो धनकै कारोबारमा संलग्न रहेको प्रष्ट हुन्छ ।

स्वीस बैंकमा पैसा राख्ने डा. श्यामबहादुर कर्माचार्य सर्जि इलेक्ट्रो मेडिका लिमिटेडको सञ्चालक हुन् । सो कम्पनी सन् २००८ मा सिंगापुरमा दर्ता गरिएको थियो । उनले विभिन्न विदेशी साझेदारसँग मिलेर क्रेडिट स्वीस, क्रोम्नि होल्डिङ, सक्सेफुल डेभलपमेन्ट होल्डिङ, राइट मुभ म्यानेजमेन्ट प्रोपर्टी, मलाया साउन अमेरिकन इन्भेष्टमेन्ट, बेस्टन ब पोइन्ट कर्पोरेशन, फच्र्युन रिच क्यापिटल लिमिटेड लगायत कम्पनी सञ्चालन गर्दै आएका छन् । डा.कर्माचार्यको कम्पनीको नेपालको ठेगाना ललितपुर उपमहानगरपालिका वडा नं २ राखिएको छ ।

प्रोफेसर सत्येन्द्रकुमार गुप्ताले सन् २००४ अप्रिलमा वनका इन्टरनेशनल इंक नामक कमपनी दर्ता गरेका छन् । उक्त कम्पनीमा विदेशी प्रोफेसर र डाक्टर साझेदार रहेको देखिन्छ । उनले नेपालको ठेगाना भने पोष्ट बक्स नं १५३५, काठमाडौ नेपाल राखेका छन् । उनले कसरी स्वीस बैंकमा पैसा राखे भन्नेमा छानबिन हुन सकेको छैन ।

स्वीस बैंकमा अनधिकृत पैसा राख्ने अर्का व्यापारी हुन् राजेन्द्रकुमार काबरा । उनी फ्य्रागरेन्ज टाउन लिमिटेडका मालिक हुन् । सन २००९ अप्रिल ६ मा सो कम्पनी पनि ब्रिटिस भर्जिनमै दर्ता गरिएको थियो । उक्त कम्पनीमा काबराका श्रीमती रेखा काबराको पनि साझेदारी छ । रेखाको नाममा पनि स्वीस बैंकमा खाता छ । उनीहरुको हङकङमा क्रेडिट सुसी नामको कम्पनी रहेको आइसीआइजेले उल्लेख गरेको छ । उनीहरुले नेपालको ठेगाना शुक्रपथ ६÷६०७, काठमाडौं नेपाल राखिएको छ ।

स्वीस बैंकमा पैसा राख्ने रेणुका प्रधान ब्रिटिस भर्जिनमै दर्ता रहेको बेस्ट पार्क क्यापिटल इंककी सञ्च्चालक हुन् । सन् २००७ मार्च २३ देखि उनी सो कम्पनीको निर्देशक छन् । उन नेपाल ठेगाना काठमाडौं–४ चुनदेवी रहेको छ ।

त्यस्तै द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ (आईसीआईजे) गत वर्ष सार्वजनिक गरेको विवरणअनुसार स्वीस बैंकमा तीन नेपालीको खाता फेला परेको थियो । लण्डनमा बस्दै आएकी नेपाली महिला मिनु शाह छिब्बर र उनका दुई छोराको नाममा स्वीस बैंकमा पैसा छ । उनीहरुको नेपालको ठेगाना कुपण्डोल छ । उनीहरुको स्वीस बैंकमा करिब तीन अर्ब रकम छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्न खोजेपनि दबाबका कारण रोकिएको थियो ।

त्यसो त प्रधानमन्त्री ओलीको श्रीमतीको नाममा समेत स्वीजरल्याण्डको जेनेभास्थित मिराबौड बैंकमा खाता रहेको र त्यसमा ५५ लाख डलर रहेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर आएको थियो । ओलीले त्यसको खण्डन गरेका थिए । तर, स्वीस बैंकमा पैसा राख्नेहरुको ठेगानासहितको विवरण सार्वजनिक हुँदा पनि उनले छानबिनमा चासो नदिनुले पनि कालोधनको संरक्षणमा प्रधानमन्त्रीको समेत संलग्नताको आशंका बढेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘प्रधानमन्त्रीले चाहने हो भने पैसा लुकाउने सबैलाई कानुनी दायरामा ल्याउन सकिन्छ ।’-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्