Logo

पछिल्लो समय मिडियामा आएको कुरा र ईजलासमा आएर वकिलले तिघ्रा ठट्याएको आधारमा फैसला भएको देखिन्छ : विष्णु रिमाल (भिडिओसहित)



काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले अदालतले लय समातेको भए र विधिअन्तर्गत गएको भए एउटा अनुमान गर्न सकिन्थ्यो भन्ने धारणा राखेका छन् । पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कबाट आज प्रसारण भएको नेपाली बहस कार्यक्रममा ‘संसद् पूनःस्थापना हुन्छ कि मुलुक निर्वाचनमा गयो ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘पछिल्लो समय अदालतमा हुने निर्णयहरु भनेको मिडियामा के कुरा आएका छन्, ईजलासमा आएर तिघ्रा ठट्याएर कुन चाहीँ वकिल साहेबले बढि उफ्रिनुभयो, त्यसको आधारमा फैसला भएको देखिन्छ । तपाईँले विधि सोध्नुभयो भने हाम्रो देशमा सरकार बन्ने संविधानको धारा भनेको धारा ७६ को १, २, ३ र ५ हो । ५ अनुसार सरकार बन्न नसकेपछि संसद् विघटन भएको हो । अब यही विधिमा जाने हो भने त संसद् पूनःस्थापना हुने ठाउँ चाहीँ मैले देख्दिन् । अब मैले अघि नै भनिहालें, अहिले हामी विधिमा छैनौं । कसैलाई लागेको आधारमा, उफ्रिएको आधारमा र बाहिर प्रभावित गरेको आधारमा फैसला हुन थालेको छ ।’

संसद् विघटनसम्बन्धी मुद्दामा हिजो बहस गरेका अधिवक्ताहरुले पूरै मर्यादा उल्लंघन गरेर बोलेको पनि रिमालको आरोप छ । उनले भने,‘उहाँहरुले यसमा शिष्टतालाई पनि जित्नुभएको छ । यसमा के टिप्पणी गर्नु ? मान्छे कति शिष्ट र सभ्य हुने भन्ने कुरा आफ्नो कुरा रह्यो । तर, इजलासमा गएर शिष्टता बिर्सिएर बोल्ने कुरा आँफैमा ठीक होईनजस्तो लाग्छ मलाई । मर्यादाको सिमा उहाँहरुले नाघ्नुभएको छ ।’ राष्ट्रपतिलाई वरिष्ठ अधिवक्ता शम्भु थापाले हिजो बहसको क्रममा ‘हु आर यू ?’ भनेर भनेको विषयमा रिमालले पनि राष्ट्रपतिको बारेमा यस्तो प्रश्न गर्ने तपाई को हो ? भन्दै थापालाई उनले पनि भने–‘हु आर यू ?’



प्रतिक्रिया दिनुहोस्