Logo

महालक्ष्मी नगरपालिकाको वडा नं ८ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित



ललितपुर, १० असार । महालक्ष्मी नगरपालिकाको नगरसभाले वडा नं ८ मा छुट्टै वडा बनाउने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न नगरसभाबाट प्रस्ताव पारित भएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगरसभामा नगरपालिका गठन हुँदा वडा नं ६ रहेको क्षेत्रलाई छुट्टै वडा बनाउन निर्णयार्थ प्रस्ताव राखेका थिए । वडा नं ८ का सदस्य अनिल श्रेष्ठले उक्त प्रस्ताव सभामा राखेका थिए । त्यसलाई निर्णयार्थ प्रस्ताव गर्दा सर्वसम्मतले पारित भएको थियो । प्रस्तावमा कसैले पनि हुन्न नभनेको र सबैले हुन्छ भनेको सुनिएपछि मेयर श्रेष्ठले प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

महालक्ष्मी नगरपालिका बनेपछि तत्कालीन लुभु गाविसमा ४ वटा वडा बनेकोमा पुनः वडा घटाउँदा एउटै वडा भएको थियो । जनसंख्या र भूगोलका आधारमा महालक्ष्मी नगरपालिका बन्दा वडा नं ६ बनेको र लुभु गाविस हुँदा वडा नं ८ रहेको विष्णुडोल, चारघरे, शंखादेवी, ढुंगेकोट, नेपालचौर, फूलबारीलगायतको क्षेत्रमाथि अन्याय भएको भन्दै आवाज उठ्दै आएको थियो । त्यस क्षेत्रका स्थानीयवासी र राजनीतिक दलका नेता कार्यकर्ताले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए ।

वडा छुट्याउने अभियान नै लिएर गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी समेत दिएका विवेककुमार कार्कीले ५ वर्ष लामो संघर्षबाट सफलतातर्फ बढिएको बताए । उनले छुट्टै वडा बनाउन नगरसभाले सर्वसम्मतबाट प्रस्ताव पारित गरेकोमा नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलगायत सबै जनप्रतिनिधिलाई धन्यवाद दिए । हाल नेपाली काँग्रेसमा रहेका कार्कीले भने,‘हामी न्याय पाउने दिशामा अगाडि बढ्न सक्यौं ।’

विगतमा कार्कीकै नेतृत्वमा वडा छुट्याउन पहल हुँदै आएको थियो । मेयर रामेश्वर श्रेष्ठलाई ज्ञापनपत्र समेत दिइएको थियो । कार्कीले भने,‘हाम्रो आवाजको सुनुवाई गर्नुभएका मेयर रामेश्वर श्रेष्ठ, वडाध्यक्ष विश्वराज श्रेष्ठलगायत जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गर्दछौं ।’

नगरसभाबाट पारित भएको प्रस्ताव प्रदेश सभा हुँदै पारित हुनुपर्नेछ । महालक्ष्मी नगरपालिका वडा नं ८ को छुट्टै वडा बनाउन प्रस्ताव गरिएको क्षेत्रमा खुशियाली छाएको छ । स्थानीयवासी खुशी बाँड्न थालेका छन् ।

https://www.facebook.com/messenger_media?thread_id=100002586923860&attachment_id=2992296547722218&message_id=mid.%24cAAAAALHrkOmAbrDIO16PWnSPhavf



प्रतिक्रिया दिनुहोस्