Logo

अध्यात्म : के मासु खाँदा पाप लाग्छ ?



महेन्द्रकुमार शाक्य : साधारणतया बुद्धको अहिंसाको शिक्षालाई मांसहारसँग जोडेर हेर्ने गरिएको छ । मांसहारलाई बन्द गर्ने हो भने प्राणीहिंसा स्वत: बन्द हुन्छ । कमसेकम बौद्धमार्गीहरुले मात्र मांसहार नगर्ने हो भने पनि धेरै हदसम्म प्राणी हिंसा रोक्न सकिन्छ भन्नेहरु मैले धेरै भेटेको छु ।

सिद्धान्तत: मासु खान पूरै बन्द गर्ने हो भने प्राणीहिंसा धेरै हदसम्म कम हुन्छ भन्ने तर्क नमिल्दो पनि देखिँदैन । ठूलठूला बौद्ध विद्वान्हरु पनि यस विषयमा विवादमा तानिएको देखिन्छ । बौद्ध ऋषि महाप्रज्ञाले आफ्नो आत्मवृत्तान्तमा बर्मामा विवादमा तानिएको बताउनुभएको छ । यस गहन विषयमा मैले आफ्नो विचार राखेर विवादमा तानिन चाहन्नँ । तर पनि मासु खाने नखाने विषयमा आफूलाई लागेको कुरा मेरो आफ्नै अनुभव यहाँ बाँड्न चाहन्छु ।

‘सरलाई लोकल कुखुरा चल्छ ?’ गोरखा जिल्लाको एउटा दुर्गम गाउँमा मलाई सोधिएको प्रश्न हो यो । २०७२ सालको भूकम्पको करिब एक वर्षपछिको कुरा हो । भूकम्प प्रभावित गोरखा जिल्लाका गाउँहरुमा हाम्रो कार्यालयको आर्थिक सहयोगमा भग्नावशेषहरु पन्छाउने, भत्केका बाटो, कुलोहरु मर्मत गर्ने जस्ता कामहरु हुँदै थियो । तिनै कामहरु निरीक्षण गर्ने सिलसिलामा म गोरखा जिल्लाको रंचोक भन्ने दुर्गम गाउँमा गएको थिएँ ।

दरौंदीपारि बारपाककै वारिपारि पर्ने त्यस गाउँ पुग्न गाडीमा लगभग २ घण्टा लाग्यो । बाटो निकै अप्ठेरो भएकाले अपराह्न त्यहाँ पुग्दा शरीर पूरै थाकेको थियो । त्यस्तो थाकेका बेला लोकल कुखुरा नचल्ने कुरै थिएन । मैले लोकल कुखुरा चल्छ भनेको भए एउटा कुखुराको ज्यान जान्थ्यो र चल्दैन भनेको भए झूट बोलेको हुन्थ्यो । त्यसैले मैले चल्छ, चल्दैन केही नभनी ‘कुखुरा काटिसकेको हो र’ भनेर सोधें । मलाई नै सोधेर कुखुरा काट्ने उनीहरुको मनसाय बुझेर मैले ‘कुखुरा काट्न पर्दैन, मलाई, गुन्द्रुक, सिन्की, बासको तामा असाध्य मन पर्छ, त्यही पकाए हुन्छ’ भनें ।

बेलुकी खाना खान बोलाए । मलाई आश्चर्य लाग्यो । खानासँगै एउटा प्लेटमा चार टुक्रा कुखुराकै मासु पनि थियो । बिहान आफूहरुले खाएर बाँकी रहेको ब्रोइलरको मासु । मलाई त्यो मासु खान कुनै आपत्ति भएन र खाएँ ।

बुद्धको शिक्षामा सबै मासु एउटै हुँदैन, मासु दोषसहित र दोषरहित हुन्छ । मैले लोकल कुखुरा चल्छ भनेको भए कुखुरा काटिन्थ्यो । मेरै कारणले, मेरै लागि काटिने हुँदा त्यो मासु मेरा लागि दोषसहित मासु हुन्थ्यो र त्यस कुखुराको हत्याको जिम्मेवारीबाट मैले पन्छिन मिल्दैनथ्यो । तर ब्रोइलर कुखुराको मासु मेरा लागि दोषरहित मासु थियो । किनभने त्यसको हत्यामा मेरो कुनै संलग्नता थिएन । त्यो कुखुरा मेरा लागि भनेर काटिएको थिएन । त्यसैले त्यस्तो मासु खान कुनै समस्या हुँदैन र पाप पनि धेरै लाग्दैन ।

बुद्धमार्गीहरु पञ्चशील पालना गर्नुलाई सुखी गृहस्थी जीवनको अनिवार्य आवश्यकता ठान्छन् । पञ्चशील पालना गर्दा प्राणीहिंसा नगर्ने, चोरी नगर्ने, मैथुन सम्बन्धी व्यभिचार नगर्ने, झूट नबोल्ने र मादक पादर्थ नपिउने जस्ता पाँचवटा नियमहरुको पालना गर्नुपर्दछ ।

पञ्चशीलका यी पाँच शीलहरुमा प्राणी हिंसा नगर्ने शील पहिलो नम्बरमा आउँछ । हिंसाको पूर्ण त्याग नगरी कुनै पनि आध्यात्मिक विकास सम्भव हुँदैन । त्यसैले अहिंसा धेरै महत्वपूर्ण छ । तथापि त्यसो भनिरहँदा पञ्चशीलका बाँकी चार वटा शीलहरुको चाहिं महत्व छैन भन्ने होइन । पञ्चशीलका बाँकी चार शीलहरुको पालना गर्न पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । प्राणी हिंसा नगरे पनि चोरी गर्नु राम्रो होइन, त्यसरी नै व्यभिचार, झुट र मादक पदार्थको सेवन गरिरहेसम्म शीलपालन गरेको ठहर्दैन ।

जीवनलाई सुखमय बनाउन साथै आध्यात्मिक विकासका लागि यी पाँचवटै शीलहरु पालना गर्नु त्यति नै आवश्यक हुन्छ । बुद्धको शिक्षामा शील निर्वाणमार्गको पहिलो खुट्किलो हो र हिंसा नगर्नु शीलको मात्र एउटा अंग । सबै होइन । मासु नखाँदैमा शीलवान् भइन्छ भन्ने पनि होइन र मासु नखाने सबैले हिंसा गर्दैनन् भन्ने पनि हुँदैन ।

भनिन्छ, देवदत्त शाकाहारी थिए । उनले भिक्षुहरुले जीवनभर माछामासु खान नहुने नियम बनाउन बुद्धसँग माग गरेका थिए । तर बुद्धले उनको मागलाई स्वीकार गर्नु भएन । माछामासु खान नहुने नियमको वकालत गरेका उनले बुद्धकै हत्या गर्ने थुप्रै प्रयास गरेका थिए । जर्मनका कुख्यात तानाशाह हिटलर पनि मांसहार गर्दैनथे तर उनले जति धेरै मानिसहरुको बीभत्स हत्या सायद अरु कसैले गरेनन् होला ।

बुद्धको शिक्षाको एउटामात्र लक्ष्य निर्वाण प्राप्ति अथवा दु:खबाट पूर्णमुक्ति हो । शील, समाधि र प्रज्ञाको पूर्ण अभ्यास नगरी मात्र मासु नखाँदैमा कसैलाई पनि निर्वाण प्राप्त हुने हँुदैन । निर्वाण मनको स्वच्छ र पवित्र अवस्था हो । वर्षौंदेखि सफा नगरेको घरभैंm मनलाई सफा र पवित्र बनाउन सजिलो हुँदैन । भगवान् बुद्धले मानव मन सफा गर्नका लागि शील, समाधि र प्रज्ञाको मार्ग देखाउनु भएको हो ।

शील, समाधि र प्रज्ञाको पूर्णताका लागि ठूलो प्रयत्न र सावधानी आवश्यक हुन्छ । यसका लागि एक हैन, अनेक जीवन लाग्न सक्छ । सगरमाथा चढ्ने विशाल लक्ष्य बोकेर हिँडेको पर्वतारोही पहिलो खुट्किलोमै अड्किएभैंm मासु खान हुन्छ हँुदैन भन्ने विषयमै अलमलिएर शील, समाधि र प्रज्ञाको अभ्यास गर्ने गम्भीर विषयलाई ओझेलमा पार्नु कुनै पनि मानेमा राम्रो होइन । त्यसैले मासु खाए पनि प्राणी हिंसामा आफूलाई संलग्न नगर्नु, सक्दो दान दिनु, शीलपालन गर्नु, स्वस्थ शरीर र मनका लागि ध्यानको नियमित अभ्यास गर्नु बुद्धिमानी हुन्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्