Logo

सन्तोषी हत्याका अभियुक्त सुरेशको बयानः पाइन्ट खोलेको र लाएको मात्र थाहा पाएँ



काठमाडौं, १० असार । पशुपंछीको आवाज निकाल्न सक्ने सन्तोषी सुब्बाको हत्याका अभियुक्त हुन् सिन्धुपाल्चोकका युवक सुरेश तिमिल्सिना । उनी दक्षिणकालीमा बस्दै आएका थिए ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घरभएका उनी एक दशकभन्दा अघि देखि काठमाडौं बस्दै आएका थिए ।

सन्तोषीसँग उनले घटनाको दिन मात्र भेटेका थिए । खान र बस्न मुश्किल परेको भन्दै उनले सहयोगको आशा राखेकी थिइन् । तर, सुरेशले सन्तोषीसँग यौनसम्बन्ध राख्न खोजेका थिए । सम्बन्ध राख्न नदिएपछि उनले हत्या गरेको प्रहरीसँगको बयानमा भनेको बुझिएको छ ।

सन्तोषी ५ असार शनिबार पारेर दक्षिणकाली पुगेकी थिइन् । उनी सोही दिन त्यहीँको होटलमा बास बसेकी थिइन् । पशुपंछीको आवाज निकाल्ने कला पनि देखाएकी थिइन् । ६ असारमा चीया खान पसलमा जाँदा उनलाई सुरेश तिमिल्सिनाले भेटेका थिए । पशुपंछीको आवाज निकाल्ने भनी परिचय दिएका थिए ।

सुरेशलगायतका साथीहरु भट्टी पसलमा बसेका थिए । सन्तोषीलाई पनि खाजा खुवाएका थिए । साँझ भएपछि सन्तोषीले बास मागेकी थिइन् ।

सन्तोषीले बास मागेपछि सुरेशले आफूसँगै गाडीमा बस्न भनेका थिए । सन्तोषी पनि मानेकी थिइन् । त्यसपछि उनीहरु गाडीतर्फ जाने भन्दै गएका थिए । तर, सुरेशले गाडीमा नलगी जङ्गलतर्फ लगेका थिए । उनले यौन सम्बन्ध राख्न खोजेका थिए । सन्तोषीले त्यसको विरोध गरेकी थिइन् । सुरेशले भने जर्बजस्ती गर्न खोजे ।

आफूलाई जर्बजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । बयानमा पनि सुरेशले त्यस्तै भनेको प्रहरीले बताएको छ । सुरेशले सन्तोषीलाई जर्बजस्ती पक्रिएपछि सन्तोषी कराउन र चिच्याउन थालेको र दुवैबीच झडप भएको थियो ।

घम्साघम्सीबीच दुवै सामान्य घाइते भएका थिए । सन्तोषीले घटनाबारे खोलिदिने भनेपछि सुरेश आक्रोशित भए । उनले सल तानेर घाँटी कसे । सन्तोषीको प्राण गयो । शव नचिनियोस् भनेर ढुङ्गाले हानेर क्षतविक्षत पारे । तर, सुरेशको अपराध लुक्न सकेन ।

सुरेशले बयानका क्रममा मदिरा सेवन गरेको बताएका छन् । अत्याधिक मदिरा सेवन गरेपछि सन्तोषीलाई गाडीमा सँगै बस्ने भनी लगेको तर जङ्गलमा यौनसम्पर्क गर्न खोजेको खुलाएका छन् । तर, मदिरा सेवनले बेहोश जस्तै भएकाले यौनसम्पर्क गरेका या नगरेको थाहा नै नभएको बयान दिएका छन् । प्रहरीका अनुसार ‘पाइन्ट खोलेको र लगाएको मात्र थाहाभएको’ बयान दिएपनि बलात्कारको आशंका गरिएको छ ।

सन्तोषीको सलमा वीर्य पनि भेटिएको छ । उनको भेजाइनल स्वाब परीक्षणका लागि लगिएको छ । यसबाट बलात्कार भएको हो या होइन रिपोर्ट आउनेछ । सुरेशको पनि स्वास्थ्य परीक्षण गरिएको छ ।

घटनाको दिन नै सुरेर ट्याक्सी चढेर दक्षिणकालीबाट भागेका थिए । उनी असनस्थित साथीको घरमा लुकेर बसेका थिए । प्रहरीले घटनापछि त्यस क्षेत्रमा नरहेकाहरुको निगरानी गर्दा सुरेश नरहेको खुल्यो । त्यसपछि उनीसँग सम्पर्क गर्दा ढाँटेका थिए । प्रहरीले अनुसन्धानको सुई उनीमाथि घुमायो । असनमा लुकेर बसेको खुलेपछि मोबाइल ट्रयाक गरी कोठा पत्ता लगाएको थियो ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्