Logo

काठमाडौं महानगरको नयाँ नाराः सांस्कृतिक सहर, काठमाडौं महानगर



काठमाडौं, असार ११ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ भन्ने नारासहित सो अंकको बजेट प्रस्तुत गरेकी हुन् ।

यस बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड रुपैयाँ, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

आगामी आवका लागि ‘प्रस्तावित बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गत वर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझाव, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख खड्गीले भनिन् । उनले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र गत ६ असारमा पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन यस्तो बजेट ल्याएको बताइन् ।

यसैगरी, उनले यो बजेटमा कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको जानकारी गराइन् ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क बेहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी, ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्