Logo

ओली संकटका कारकः विपक्षी



काठमाडौं, असार ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा उभिन सञ्चारजगत्लाई आह्वान गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी ९जसपा० को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा नेपालले बिहीबार सम्पादकहरूसँग भेट्दै राष्ट्रिय हित संरक्षण र लोकतन्त्रको रक्षाका निम्ति संयुक्त मोर्चा बनाएर अघि बढेको बताएका हुन्।

प्रधानमन्त्री ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संविधानसभाबाट जारी भएको संविधान र मुलुक नै संकटमा परेको भन्दै सबै मिलेर यसलाई जोगाउनुपर्नेमा शीर्ष नेताहरूले जोड दिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ,’ कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रतिनिधिसभाका बहुमत १ सय ४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी ग¥यौं। स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरू अदालत गएको दाबी गर्दै देउवाले राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्रको रक्षा र जनतालाई महामारीबाट बचाउने उद्देश्यका साथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाका साथ अग्रसर भएको जनाए। सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधानमा उल्लिखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिका आधारमा सुमधुर सम्बन्ध कायम गर्न आफूहरूले चाहेको पनि देउवाले जनाएका छन्। निरंकुशताविरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षड्यन्त्र चिर्दै संविधान रक्षामा जुटौं भन्ने आह्वानका साथ राजनीतिक दलहरू, सञ्चारमाध्यम, विभिन्न पेसा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच बृहत्तर सहकार्यको पक्षमा आफूहरू जुटेको देउवाले जनाए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्