Logo

पाख्रिवास नगरपालिकामा तोडफोड



धनकुटा, ११ असार । धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान सांसद राजेन्द्र राईको गृहक्षेत्र समेत रहेको पाख्रिवास नगरपािलकामा नगर परिषद र बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो।

विपक्षी दलहरुले भने शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा नं. ३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको बताएका छन्। सबै वडाका योजना छलफल नगरी वडाध्यक्षहरुले मनखुसी हालेकोले विरोधको ज्ञापनपत्र बुझाउन जाँदा कार्यपािलका सदस्य रहेका सरोज राईले हातपात गरेको नेकपा माओवादी केन्द्रका सचिब बलराम खड्काले बताए। स्थानीय रवि पौडेलले वडा नं. ४ लाई नगरपालिकाले विभेद गरेर आन्दोलन गर्न बाध्य पारेपछि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न जाँदा वडा सदस्यले आफूलाई हातपात गरेपछि आन्दोलनकारी आक्रोशित भएर अनियन्त्रित भएर तोडफोड भएको बताए।

आगामी वर्षको बजेट विनियोजन गर्दा टोलटोलमा छलफल गरेर प्राथमिकता आधारमा विनियोजन हुनुपर्ने र हातपात गर्ने वडा सदस्यले सार्वजनिक रुपमा माफि नमागेसम्म आन्दोलन जारी रहने नेपाली कांग्रेशका नगर सभापति प्रेम भण्डारीले बताए। उनले पाख्रिवास नगरपालिकाले स्थानीय निर्वाचनपछि अहिलेसम्म विभेदकारी काम गरेको बताए।

नगरपालिकाले केही समयअघि शिक्षक नियुक्ति गर्दा राजेन्द्र राई र नगर प्रमुख विर्खबहादुर राईको मनोमानीले आफन्त नियुक्ति गरेकोदेखि धेरै काम नकारात्मक रहेको स्थानीयको आरोप छ। यो पटक बजेट विनियोजन गर्दा कमिसन आउने ठाउामा मात्रै दिएको र उपभोक्ता समितीमा पनि मनोमानी गरेको आन्दोलनमा सहभागीहरुले बताए। यो नगरपालिका संघीय संसद राजेन्द्र राईको गृह नगर रहेकोले पनि उनले मनोमानी गरेको स्थानीयको आरोप छ। नगरपालिका राजेन्द्र राईको मनोमानीले सिस्टम, विधि पद्वती सकेको र चरम पक्षपात पुर्ण ब्यवहर गरेको कुरा स्थानीय बताउँछन। निवर्तमान संसद राईको आदेशमा वडा वडामा उनी पक्षका वडाध्यक्षले मनोमानी योजना छनौट गरेको हरेक योजना कमिसन मागेको स्थानीय बताउँछन।

संघीय समाजवादी पार्टीका नगर संयोजक जितेन्द्र माङफुङले विधी प्रक्रिया विपरित मनोमानी गरेकोले आन्दोलनमा होमिनु परेको बताए। माङफुङले नियम विपरित काम नसच्याएसम्म आन्दोलन जारी रहने बताए। विधी प्रक्रियाबाट पुन वडा परिषददेखि नगरपरिषद हुनुपर्ने माङफुङले बताए।

धनकुटाको पाख्रिवास नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य गरि जम्मा ५२ सिट रहेकोमा तत्कालिन एमालेले सबै सिट जितेको थियो। हाल एमाले दुई समूहमा विभाजन भएपछि वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला नेपाल समूहमा लागेका छन भने बाँकी सबै ओली समूहमा लागेका छन। निरौलाले आफू वडाध्यक्ष रहेको वडामा योजना छनौट गर्दा जेष्ठ वडा सदस्यको संयोजकत्वमा योजना छनौट गरिएको थाहा पाएपछि विरोधमा उत्र्एिको बताए।

स्थानीय तह सञ्चालन ऐनमा वडाध्यक्षको मृत्यु भएको खण्डमा मात्रै जेष्ठ सदस्यले अध्यक्षता गर्न पाउने व्यवस्था रहेकोले फरक विचार राखेकै कारणले आफू मरेको देखाउन खोजेको निरौलाले आरोप लगाए। उनले गत वर्ष वडामा ४२ लाखको बजेट सिलिङ आएको भएपनि यसपटक अन्य वडामा ४० लाख र आफू अध्यक्ष रहेको वडामा ३० लाख मात्रै बजेटको सिलिङ आएको जानकारी दिए। उनले यो विषयमा निवर्तमान संसद राजेन्द्र राईसँग कुरा गर्दा तिमी अर्को पार्टीमा लागेको हुनाले मैले १० लाख कटौती गर्न लगाएको जवाफ पाएको बताए।

पाख्रिबासको वडा नं। ४ नगरपालिकामै सबैभन्दा बढी राजस्व संकलन हुने क्षेत्र भएपनि बजेट विनियोजनमा सुरुदेखि नै विभेद गरिएको र अहिले फरक विचारको वडाध्यक्ष भएकोले विभेदमाथि विभेद गरिएको स्थानीय रवि पौडेलले बताए। उनले अब यही अवस्था रहे वडा नं। ४ मा निवर्तमान संसद राई र नगरप्रमुख राईलाई वहिष्कार गर्ने बताए।



प्रतिक्रिया दिनुहोस्