Logo

सेटिङको आशंका गर्दै प्रधानमन्त्री ओलीले भनेः अदालतबाट राजनीतिक फैसला खोजियो



काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले सर्वोच्च अदालतबाट राजनीतिक फैसला खोजेको भन्दै आलोचना गरेका छन् । उनले अदालतमा सेटिङको आशंका गरे ।

शुक्रबार परराष्ट्र अध्ययन प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘अदालतबाट राजनीतिक फैसला खोजियो । एकछिनको मज्जा आउला तर भविष्यमा समस्या आउनसक्छ ।’

उनले राजनीतिक विषयको टुंगो राजनीतिक संस्थाबाट गरिनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङमा अदालतले गर्न सक्ने फैसलाबारे बोलेको जस्तै भएको उल्लेख गर्दै भने,‘काठमाडौंमा कुखुरा हराउँदा धादिङमा स्याल करायो ।’

ओलीले राजनीतिक प्रणालीप्रति चिन्तित र सजग हुनुपर्नेमा जोड दिए । उनले प्रचण्डतर्फ संकेत गर्दै गणतन्त्र सिध्याउन खोजेको आरोप लगाए । उनले भने,‘उहाँहरुमा गणतन्त्रप्रति वैरभावी छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको भन्दै विपक्षी गठबन्धनप्रति आक्रोश पोखे । उनले भने,‘बिरालो रिसायो भने खाबो चिथोर्छ, अहिले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको छ ।’

ओलीले माओवादी अध्यक्ष प्रचण्डको नाम नलिई नेपालमा हस्तक्षेप गराउने कुरा बोलेको आरोप लगाए । उनले भने,‘एकजना पूर्वप्रधानमन्त्रीले विदेशीसँगको कार्यक्रममा माइक्रो म्यानेजमेन्ट होइन ठूला कुरामा हात हाल्नुहोस् न पोलिसी मेन्टेनमा हात हाल्नुहोस् न भनेका छन् । के मा हात हाल्नुहोस् भनेको ?’

ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्दिनुहोस् भन्न जानेहरुले आफूले साथ लिएर जाँदा बेठिक भनेको टिप्पणी गरे । उनले भने,‘ महन्थजीलाई डबलीमा बुद्धिजीवी साक्षी राखेर भनेको होइन । ’



प्रतिक्रिया दिनुहोस्