Logo

प्रचण्ड र नेपाल एउटै दलमा रहने खाका पहिल्यै तयार



काठमाडौं, ११ असार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट भइसकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उनीहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गरेका थिए । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएका थिए ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा पुगेका थिए । तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा छन् । ओलीविरुद्ध सक्रिय छन् ।

प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जस अनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । प्रचण्डको पनि यसमा भित्री भूमिका रहेको बुझिएको छ ।

जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसकेका छन् । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने देखेर नयाँ दल खोलेर बढ्ने रणनीति बनाएका हुन् । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।

नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसकेका छन् । बरु एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढेका छन् । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने आँकलन पनि गरिएको छ । नेपालसँग एमालेभित्र मजबुत संगठन गर्न सक्ने खुबी भएका नेताहरु छन् । प्रचण्डसँग भिड्न सक्ने कार्यकर्ता छन् । दुवैले एक भएर शक्तिशाली बन्ने लक्ष्य लिएको देखिदैछ ।

देउवा र प्रचण्डलाई स्पष्ट शब्दमा ब्याक नहुने र बोलेको पूरा गर्ने नेता भएको स्पष्ट पारिसकेका छन् । ओलीसँग सम्झौताका लागि उनको शर्त कडा देखिएको छ । २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक स्वरुप रहनुपर्ने, प्रतिनिधि सभा विघटनको कदममा ओलीले सार्वजनिक रुपमा माफी मागेर आत्मालोचना गर्दै सच्याउनुपर्ने मुख्य छन् । पहिलोमा तयार भएपनि दोस्रोमा ओली तयार देखिदैनन् । यसकारण एमाले एकता कमजोर छ ।

नेपालले आफूलाई कठिन घडीमा साथ दिनेहरुलाई लिएर बढ्ने तयारी गरिसकेका छन् । विगतमा उनको खेमाबाट कानुनमन्त्री भएका शेरबहादुर तामाङले छाडे । अहिले उनी स्वास्थ्यमन्त्री छन् । लालबाबु पण्डित पनि नेपाल खेमाबाट मन्त्री भएका थिए । उनले पनि नेपाललाई छाडे । लालबाबुको नामै तोकेर नेपालले ‘आयाराम गयाराम’ भनेका छन् ।

पछिल्लो समय नेपालसँग टाढिदै गएकामा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायत छन् । नेपाललाई भीम रावलको दरिलो साथ छ । उनको एमालेभित्र अझै पकड बलियो रहेको पुष्टि भइसकेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा उनकै योजना अनुसार ओली खेमाले धक्का खाएको छ । रावललाई नेपाल खेमाबाट कम्युनिष्टका भावी नेतृत्वकर्ता मानिन थालिएको छ । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको पनि नेपाललाई दरिलो साथ हुने देखिएको छ । अमृतकुमार बोहराको पनि साथ हुने देखिएको छ । पुराना एमाले नेताहरुको नेपाललाई बलियो साथ छ । यीनैलाई साथ लिएर नेपाल बढ्दैछन् ।

यसैगरी, माओवादी केन्द्रले पनि बहुपदमा जाने तयारी गरिसकेको छ । स्थायी कमिटी र पोलिटब्यूरो थप गर्दैछ । भविष्यमा माधव नेपाल खेमासँग एकताका लागि यो पूर्वतयारी रहेको बुझिएको छ । यसको खाका बनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्