Logo

धनकुटाको पाख्रीवास नगरसभामा हुलदंगा र तोडफोड



धनकुटा, असार १२ । धनकुटाको पाख्रीवास नगरपालिकाको नगरसभामा हुलदंगा र तोडफोड भएको छ । बिहिबार आयोजित आठौं नगरसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी सम्बद्ध नेता कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी र झ्यालको सिसा फुटाएका हुन् ।

वडागत बजेट सिलिङ्गमा विभेद गरिएको र राजनीतिक पूर्वाग्रहका आधारमा बजेट सिलिङ्ग तोकिएको भन्दै उनीहरुले नगर सभामा प्रवेश गरी हुलदंगा गरेका हुन् । पाख्रीवास नगरपालिकाको केन्द्रसमेत रहेको वडा नं। ४ मा कम बजेट तोकेर विभेद गरिएको उनीहरुको तर्क छ । नगर कार्यपालिकाको बैठकले वडा नं १, ४ र ७ मा ३०÷३० लाख, ३ र १० नं वडामा ३५÷३५ लाख र वाँकी वडामा ४०÷४० लाखका दरले बजेट सिलिङ्ग तोकेको थियो ।

नगर सभाको सुरुवातमा वडा नं ४ का वडाध्यक्ष सोवित निरौलाले बजेटमा विभेद गरिएको भन्दै बैठक बहिस्कार गरेर बाहिरिएका थिए । लगत्तै नगर सभाभित्र प्रवेश गरेको समूहले नाराबाजी गर्दै तोडफोड गरेको हो । तोडफोडबाट सभाहलको आधा दर्जन झ्यालका सिसा फुटेका छन् । दर्जनौं कुर्सी तोडफोड गरिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्