Logo

गाँजा कारोबारी घटे, खैरो हिरोइन तस्कर बढे



असार १२, काठमाण्डौ । शनिवार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यो दिवस विश्वभरी हरेक वर्ष मनाइन्छ । तर अवैध तस्करी र दुव्र्यसनी नियन्त्रण हुन सकेको छैन । यो समस्याबाट नेपाल पनि अछुतो छैन ।

नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् । त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा हुन् । विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको छ । त्यस्का अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ । गाजा चरेश लगाएत लागु औषध नेपालबाट निर्यात हुने र अफिम, कुकिङ र फर्मासिटिकल्स ड्रग्सहरु भारत हदै नेपाल भित्रिने गरेको ब्युरोका निमिक्त प्रमुख एसपी ऋषिराम कडेल बताउँछन् ।

गत तीन पर्षको अनुपातमा लागुऔषध सम्बन्धी मुद्दामा कमि आएको ब्यूरोका निवर्तमान प्रमुख दिलिप चौधरीको दावी छ । यसै साता अवकाश पाउनुभएका चौधरीले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएको बताउदै पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको उल्लेख गनरे । उनले गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइनको संख्या बढेको बताउनुभयो ।

नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको छ । नेपालमा १४ देखि ३० वर्ष उमेर समुहका युवाहरु लागु पदार्थ दुव्र्यसनीमा फस्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको छ । नेपालमा लागू औषध नियन्त्रण गर्न सुरक्षा निकायले गरेका प्रयासमा अभिभावक, सामाजिक संस्था, आम नागरिकको सकारात्मक भूमिका र सहयोग अत्यावश्यक हुन्छ । त्यसैगरी जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउन आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्