Logo

दूध नबिक्दा फलेवासका किसान मर्कामा



पर्वत, असार १३ । पर्वतको फलेवास नगरपालिकाका किसान दुध विक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध विक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करीब १ हजार ५ सय कृषक सहकारीमा आबद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरूले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् ।

दूध विक्री गरेर जीविका चलाउँदै आएका किसान विक्री नहुँदा समस्यामा परेका हुन् । फलेवासको संकलन केन्द्रमा दैनिक १ हजारदेखि २ हजार लिटरसम्म दूध संकलन हुन्छ । दूध विक्री नहुँदा दूधबाट अन्य परिकार बनाउने उपकरण छैन ।

उपकरण भएको भए मिल्क होलिडेमा अन्य परिकार बनाएर विक्री गर्न सके घाटा पूर्ति सकिने किसानहरू बताउँछन् । ऋण खोजेर चर्को मूल्यमा गाईभैंसी खरीद गरी दुध बेचेर गुजारा चलाउँदै आएका किसानलाई दूधले बजार नपाएपछि ठूलो समस्या भएको फलेवास दुग्ध सहकारी संस्थाका पूर्वाध्यक्ष भरत श्रेष्ठको भनाइ छ ।

उक्त सहकारीमार्फत यहाँ वरपरका स्थानीय किसानले दूध संकलन गरी पोखराको लवकुश डेरी उद्योगमा लगेर विक्री गर्दै आएको श्रेष्ठले बताए । निषेधाज्ञाका कारण उक्त डेरीले बजार बन्द भएर दूध विक्रीवितरण गर्न नसकेको बताएपछि दूध संकलन अभियान बन्द गरिएको छ ।

यस्तै देवीस्थानको कृष्णगण्डकी दुग्ध सहकारी संस्थामा पनि दैनिक २ हजार ५ सय लिटर दूध संकलन हुँदै आएको संस्थाका सचिब बुद्धिराज गौडेलले जानकारी दिए । संस्थाले पोखराको लवकुश डेरीमा दूध विक्री गर्दै आएको छ । बजार बन्द भएसँगै विक्रीवितरण घटेको गौडेलले बताए ।

दूधको माग घटेकाले १ दिन बिराएर बजार पठाउने गरिएको सहकारीले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot