Logo

मनसुनले मात्र गएको होइन बाढीपहिरो



काठमाडौं, असार १३। असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो । हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डुबायो । माथिल्लो भेग हेलम्बुदेखि ओइरिएको बाढीपहिरोका कारण अझै २० जना बेपत्ता छन् । चार जनाको मात्र मृत्यु पुष्टि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् । भूगर्र्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् ।

पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउन्छन । उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।

मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनको रहेको छ । उनले भने, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”

बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न गएको थियो । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सुनाए । उनका अनुसार एकरडेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् ।

नदीले बनाएका टारमा पछि बस्ती र बजार बनेकाले बाढीको चपेटामा पर्न गएको बाँस्कोटा तर्क गर्छन । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्