Logo

भटमासको तेल निर्यात चार गुणा बढ्यो



काठमाडौं, असार १३ । नेपालबाट भटमासको तेलको निर्यात पोहोरको तुलनामा चार गुणाले वृद्धि भएको छ। पोहोरभन्दा चालु आर्थिक वर्षको ११ महिनामा ३२ अर्ब ११ करोड रूपैयाँ धेरैको प्रशोधित भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ। पोहोरको जेठसम्म १० अर्ब १३ करोड रूपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएकोमा चालु आवको जेठसम्म ४२ अर्ब ३४ करोड रूपैयाँको भटमास तेल निर्यात भएको हो। स्वदेशमा कच्चा पदार्थ उत्पादन नभए पनि विदेशबाट कच्चा पदार्थ ल्याएर यहाँका उद्योगले प्रशोधन गरी निर्यात गरेका हुन्।

यहाँका तेल उद्योगीले ब्राजिल, अर्जेन्टिना, सिंगापुर, मलेसिया लगायत मुलुकबाट भटमासको कच्चा तेल आयात गरेर प्रशोधन गरी निर्यात गरेका हुन्। मुलुकबाट निर्यात हुने प्रमुख हिस्सा भटमासको तेलले ओगटेको छ। चालु आवमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रूपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएकोमा सबैभन्दा ठूलो हिस्सा ९४२ अर्ब ३४ करोड० भटमास तेलको रहेको छ।

विगतमा नेपालबाट निर्यात हुने प्रमुख वस्तु प्रशोधित पाम आयलमा भारतले प्रतिबन्ध लगाएपछि भटमास तेल निर्यात ह्वात्तै बढेको हो। विदेशबाट कच्चा पदार्थ आयात गरेर निर्यात गर्ने भएकाले त्यसको धेरै लाभ नेपालले लिन सक्दैन।नेपालबाट भटमासको तेल निर्यात भए पनि यहाँका उपभोक्ताले प्रयोग गर्न तेल विदेशबाट आयात हुन्छ। यहाँका उद्योगले विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने गरेका हुन्। कच्चा पदार्थबाट प्रशोधन गरेर बिक्री गर्दा केही मूल्य थप भए पनि यसमा नेपालले धेरै लाभ लिन भने सकेको छैन।

भटमास खेतीको नेपालमा प्रचूर सम्भावना भएकाले स्वदेशमै कच्चा पदार्थ उत्पादनमा ध्यान दिनुपर्ने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। यहाँको उत्पादनले स्वदेशमा खाने तेलको माग पनि धान्दैन। स्वदेशी कच्चा पदार्थ उत्पादन गरेर निर्यात गर्न सके व्यापार घाटा घटाउन मदत सरोकारवाला बताउँछन्। कच्चा पदार्थ स्वदेशकै प्रयोग गर्न सके मुलुकले धेरै लाभ लिने कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘स्वदेशमा भटमासको उत्पादन वृद्धि गरेर तेल निर्यात गरे व्यापार घाटा कम गर्न सकिन्छ,’ कार्कीले भने, ‘तेलजन्य बालीको उत्पादनमा प्रोत्साहन गरे पनि अपेक्षित रूपमा खेती विस्तार हुन सकेको छैन।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्