Logo

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच सम्झौता



काठमाडौं,१३ असार । नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराज र नेपाल ओलम्पिक कमिटीबीच सम्झौता भएको छ । दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको हो ।

बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो । यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरेको छ ।

“टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । श्रेष्ठले नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राख्दै दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।

दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले खेलाडीहरुलाई शुभकामना दिँदै कोभिड–१९ को यस कठिन समयमा सबैको जीवनमा असर पर्दा पनि यसले केहि खुसी दिने प्रयास गरेको बताए । ‘टोकियोमा हुने ओलम्पिक खेलका लागि यस सहकार्यमा साथ दिन पाउँदा गौरव महसुस गरिरहेको बताउदै उत्कृष्टता, सम्मान र मित्रता ओलम्पिकको मानहरु हुन् र हामी दराज पनि यसैमा अडिग छ’, उनले भने ।

टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्