Logo

स्कुटर चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ



भक्तपुर, १३ असार । सवारी साधन चोरी गरी खरिद बिक्री गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । मोटरसाइकल तथा स्कुटर चोरी गरेको अभियोगमा ४ जना र चोरीको स्कुटर खरिद गरेको अभियोगमा २ जना गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भई हाल भक्तपुर नगरपालिका ८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर नगरपालिका २ दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका २ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका ८ लिवाली घर भएका २० वर्षीय साईन भन्ने रमेश कोजु रहेका छन् ।

यसैगरी चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका १० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका १० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका १० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बिकको भे.७ प ४४१३ नम्बरको मोटरसाईकल गत जेठ ३० गते हराएको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाईकलको नम्बर परिवर्तन गरी बा.७१ प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका १५ बस्ने रबीन्द्र नेपालको बा.३६ प १५८८ नम्बरको स्कुटर समेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपश्चात स्कुटर खरिद गर्ने २ जनालाई समेत प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्