Logo

अझै पुरानै पाठ्यपुस्तक !



काठमाडौं, असार १४। सरकारी निर्देशन अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पढाउने विद्यालयलाई कानुनको दायरामा ल्याइने भएको छ ।

सरकारले यस वर्षदेखि कक्षा २, ३, ६ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याए पनि केही विद्यालयले पुरानै पाठ्यपुस्तक पढाउने गरेको पाइएपछि ती विद्यालयमाथि निगरानी थालिएको हो । यसरी पुरानै पाठ्यपुस्तक अध्यापन गरेको प्रारम्भिक प्रमाण फेला परेका झण्डै आधा दर्जन निजी विद्यालयलाई पाठ्यक्रम विकास केन्द्रले सोधपुछका लागि बोलाएको छ ।

केन्द्रका महानिर्देशक अनप्रसाद न्यौपानेले अनुगमनका क्रममा केही विद्यालयले पुरानै पाठ्यपुस्तक नै कार्यान्वयनमा ल्याएको देखिएपछि आफूहरूले छलफलका लागि ती विद्यालयलाई बोलाएको जानकारी दिए। विद्यालयका प्रतिनिधिको जवाफका आधारमा थप प्रक्रिया अगाडि बढाइने उनले बताए ।

विशेषगरी अहिलेको शैक्षिक सत्रमा कक्षा ११ को पठनपाठन सुरु हुन बाँकी रहे पनि कक्षा २, ३ र ६ का पाठ्यपुस्तक विद्यार्थीले किनिसकेको समेत पाइएको छ । केन्द्रले विद्यालयको नाम भने सार्वजनिक गरेको छैन ।

यसका लागि अब विद्यालयको कक्षा कोठासम्म पुग्ने गरी अनुगमन प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको सरकारी अधिकारीले बताएका छन् ।

पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिका साथै देशभरका स्थानीय तहका शिक्षा शाखा र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइ र अभिभावकले समेत चासो राखेको अवस्थामा मात्रै पुराना पाठ्यपुस्तक पढाउने प्रवृत्तिमा कमी आउने बताइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot