Logo

हलिउड सुन्दरी र नेपाली तन्नेरीको ९० वर्ष पुरानो लभस्टोरी



नेपालको इतिहासमा राणा प्रधानमन्त्रीहरुको विवाहका अनेक किस्सा छन् । राणाकालका जम्मा ९ प्रधानमन्त्रीमध्ये पहिलो जंगबहादुरले ४२ महिलासँग वैधानिक बिहे गरेका थिए भने सातौं जुद्धशमशेरको यौन आशक्तिका कारण सर्वसाधारणको घरगृहस्थी नै बिथोलिएको थियो । उनलाई राम्री देख्नै नहुने ! दुनियाँमा उनको नजर लागेजति छोरी-बुहारीलाई उनको खोपीमा हाजिर गराउनैपर्थ्यो ।

तिनको तुलनामा बरु २८ वर्षसम्म शासन सत्ता सम्हालेका चन्द्रशमशेर यौनको मामिलामा संयमित मानिन्छन् । उनले बहुविवाह गरेनन् । एक महारानी र अर्की एक उपपत्नीमै चित्त बुझाए । स्वास्थ्य त्यति अनुकूल नभएकाले उनी मदिराबाट पनि टाढा थिए । तर चन्द्रशमशेर पुत्र विष्णुशमशेर (जन्मनासाथ जनरल) को प्रेम ९० वर्ष पहिले नै संसारभरि ‘भाइरल’ हुन पुग्यो । उपपत्नी बालकुमारीतर्फका जेठा अनि ८ छोरामध्ये छैटौं राणा राजकुमार विष्णुशमशेर ले हलिउड अभिनेत्री स्यान्ड्रा रेम्बोसँग मच्चाएको रासलीलाको चर्चा अद्यापि छँदै छ ।

सन् १९२९ मा चन्द्रशमशेरको निधनपछि अंशबण्डा गर्दा विष्णुशमशेरको भागमा ८० लाख रूपैयाँ परेको थियो । र, २५ वर्षको कटौले उमेरमै उनी प्रधानमन्त्री भीमशमशेरको अनुमतिबिना राणा रोलक्रमबाट हटेर सन् १९३१ मा बेलायत बसाइँ गए । स्मरणीय के छ भने चन्द्रशमशेरले कान्छी पत्नी बालकुमारी देवी अनि उनका छोरा जनरल मदनशमशेर र विष्णुशमशेरका लागि पाटनमा श्री दरबार निर्माण गराएका थिए । विष्णुशमशेर बेलायत गएपछि श्री दरबार र यसको जग्गाको भोगाधिकारको एकलौटी मदनशमशेर र उनकी पत्नी जगदम्बाकुमारी देवीको भयो ।

सन् १९०८ मा बेलायतको भ्रमण गरी बेलायतीलाई तिब्बत पस्न सघाएका चन्द्रशमशेरको छोरा भएकाले विष्णुशमशेरलाई त्यहाँका मिडियाले ‘प्रिन्स विष्णु अफ नेपाल’ भनी खबर छापेको पाइएको आर्काइभ अध्येता सन्तोष खडेरीले उल्लेख गरेका छन् । उनका अनुसार विष्णुशमशेरसँग युरोपका विभिन्न महँगा सहरका बडेबडे पार्टी आयोजना गरी प्रशस्त धन खर्चने हैसियत थियो ।

सन् १९३२ को सुरुवाततिर उनी अमेरिकी सांगीतिक समूहका साथ हलिउड अभिनेत्री डोरोथी रेम्बो उर्फ ‘स्यान्ड्रा रेम्बो’ समेत सहभागी फ्रान्सको एक भव्य कार्यक्रममा पेरिस पुगे । त्यही बेला उच्च घरानियाँ सम्भ्रान्त पोसाक, आकर्षक जीउडालका विष्णुसँग सुन्दरी स्यान्ड्रासँग सम्मोहित भइहालिन् । स्यान्ड्रा उनीभन्दा ३ वर्ष कान्छी थिइन् ।
खडेरीले लेखे अनुसार पेरिसको अविस्मरणीय भेटलगत्तै लन्डनको डोरचेस्टर होटेलमा भएको मध्यरातको भेटले नै उनीहरूको सम्बन्धलाई नयाँ मोड दियो । स्यान्ड्राले १९३४ अप्रिल ५ मा ओटागो डेली टाइम्ससँग भनेकी थिइन्, ‘लन्डनको भेटको एक सातापछि विष्णुले मलाई प्रेम प्रस्ताव राखे । मैले स्वीकार गरें अनि हामी अगाडि बढ्यौं ।’
युरोपको विभिन्न सहर घुम्दै रोमान्स गर्ने क्रममा विष्णुले स्यान्ड्रालाई निकै बहुमूल्य हिरा, जुहारात लगायतका उपहार दिएका खबरले पनि हंगामा मच्चाएको थियो । उनीहरुको प्रेम प्रसंग र विवाह योजनाबारे मिडिया हटकेक भयो ।

त्यसै क्रममा सन् १९३४ जनवरी २९ मा अभिनेत्री स्यान्ड्राका मातापिताले अमेरिकाको क्यालिफोर्नियाबाट ‘छोरीको नेपालका हिन्दु राजकुमार विष्णुसँग लन्डनमा बिहे हुन लागेको’ सार्वजनिक गरे । धेरै हल्लाखल्ला भएपछि भारतको कलकत्तामा रहेका विष्णुशमशेरले समाचारको तत्काल खण्डन गरे । सन् १९०६ नोभेम्बरमा जन्मेका विष्णुशमशेरको विवाह ११ वर्षको उमेरमा उर्मिला राज्यलक्ष्मीदेवीसँग भइसकेको थियो । तिनीबाट छोरासमेत जन्मिसकेका थिए ।

विष्णु र स्यान्ड्राको ‘गसिप’ चल्दै गर्दा सन् १९३४ मा नेपालले बेलायतमा दूतावास स्थापना गरेको थियो । त्यस क्रममा विष्णुलाई बिहेको मामिलामा नेपाल सरकार र बेलायती प्रतिनिधिले सचेत गराएकाले स्यान्ड्रासँग बिहे नगरेको समाचार पनि आए । कतिपय मिडियाले भने गोप्य रूपमा विवाह गरिसके पनि राजकीय कारणले सार्वजनिक नगरिएको लेखे ।

विष्णुशमशेरको कुल सम्पत्ति ३० लाख पाउन्ड थियो । १९३६  नोभेम्बरमा उनको लन्डनस्थित निवासबाट १० हजार पाउन्ड बराबरको गहना चोरी भएको थियो । सन् १९३५ तिर स्यान्ड्राको सम्बन्ध अरबी राजकुमार र बेलायती राजकुमार जर्जसँग जोडेर खबर आए । सन् १९४१ मा ३२ वर्षीया स्यान्ड्राले जर्मनीका नाजी सेनाका वृद्ध मेजर जनरल फ्रान्ज रिट्टेर भोन एपसँग पेरिसमा विवाह गरेकी थिइन् ।

हलिउड सुन्दरी स्यान्ड्रासँग रासलीला मच्चाउने विष्णुशमशेर सन् १९४१ तिर लन्डनबाट बहामसको नासु टापुमा बसाइँ सरे । त्यही बेला आफ्नो निवासमा पति विलियम र अन्य साथीहरूसहित बास बसेकी २५ वर्षीया अमेरिकी युवती कुन्जको शंकास्पद मृत्यु भएपछि विष्णुले अड्डा-अदालत धाउनुपर्यो । पछिल्ला दिनहरूमा ‘अल्कोहोलिक’ भइसकेका विष्णुशमशेर १९४६ फेब्रुअरी ४ बिहान ८:२० बजे बिछयौनामै मृत भेटिए । डाक्टरले हर्ट एट्याकबाट निधन भएको रिपोर्ट दिए । ४० वर्षको अल्पायुमा बितेका उनको शव भारतको बनारस ल्याएर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो । तर आजसम्म विष्णुशमशेरको प्रेमकहानीलाई माथ खुवाउने कोही नेपाली माइकालाल जन्मेको छैन ।



प्रतिक्रिया दिनुहोस्