Logo

मदन भण्डारी भन्थे, ‘मलाई जागिरमा नथुन्नुस्’



प्रदीप नेपाल

एउटा मानिस मर्दा उसकी पत्नी विधवा हुन्छे
एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ ।

को हो त्यस्तो अनौठो मानिस ?

त्यो मानिसको नाम हो मदनकुमार भण्डारी ।
मदन भण्डारी त्यस्तो नाम हो जसले निर्धारण गरेको सिद्धान्तको आधारमा नेपालमा लोककल्याणकारी राज्यको व्यवहार आरम्भ भयो । लोककल्याणकारी राज्य भनेको जनताको हितमा सबै काम गर्ने, राजनीतिक नेता, कर्मचारी, निर्वाचित जनप्रतिनिधि कसैले पनि भ्रष्टाचार नगर्ने राज्य हो । यति मात्र जसले निर्धारण गरेको शिक्षा नीतितर्फ देश विस्तारै अघि बढ्दैछ । हामी सबैले चिन्नु पर्छ जनता र राष्ट्रको हितरक्षामा जीवन अर्पण गरेका मदन भण्डारीलाई ।

बाल्यकाल र शिक्षा

ताप्लेजुङको पश्चिमी भेगमा ढुङ्गेसाँघु नाम गरेको एउटा सुन्दर गाउँ छ । यही ढुङ्गेसाँघु गाउँ विकास समितिको ठोट्ने गाउँमा मदन भण्डारीको जन्म भएको थियो । २००९ साल असार १४ गतेको मध्यरातमा उनी  जन्मिएका हुन् । उनका आमाको नाम चन्द्रकला र पिताको नाम देवीप्रसाद भण्डारी हो । मदन भण्डारीको जन्म हुँदा उनको गाउँमा माध्यमिक विद्यालय थिएन । गाउँकै प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढेपछि उनी जिल्ला सदरमुकाम, ताप्लेजुङ बजारको छेउमा स्थापना गरिएको बालसुवोधिनी माध्यमिक विद्यालयमा पढ्न गए ।

माध्यमिक विद्यालयमा पढ्दा उनीसँगै पढ्ने साथीहरुको भनाइ अनुसार ‘मदन भण्डारीमा एकछिन पनि खाली नबस्ने, अध्ययन गरिरहने, थोरै बोल्ने, धेरै होहल्ला नगर्ने, ठूलो स्वर निकालेर हाउहाउ गर्दै नहाँस्ने, थोरै हाँस्ने, बढी मुस्कुराउने स्वभाव थियो ।’ पछिल्लो समय सात वर्षसम्म मदनसँग एउटै कोठामा बस्ने अमर श्रेष्ठले भनेका छन्, ‘मदन भण्डारी कोठामा बस्ता कि लेखिरहनु हुन्थ्यो, कि पढिरहनु हुन्थ्यो, कि छलफल चलाइरहनु हुन्थ्यो । उहाँलाई खाली बसेको कहिल्यै देखिनँ ।’

मदन भण्डारीलाई भविष्यको महान मानिस बनाउने गुण यही थियो । केटाकेटीमा नबोल्ने भए पनि, खेल्न मन पराउने भए पनि, अध्ययन गर्ने, असहाय र दुःखीलाई सहयोग गर्ने चरित्र बोकेका मदन भण्डारी, यिनै गुणहरुका कारण महान् मानिस भएका हुन् ।  बालसुबोधिनी माध्यमिक विद्यालयको पढाइ सक्याएपछि मदन भण्डारी उच्चस्तरको अध्ययन गर्न भारततिर लागे । भारतमा उनले संस्कृत साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गरे ।

भारतको विभिन्न स्थानबाट स्नातक तहसम्मको शिक्षा सकेर स्नातकोत्तर पढ्न उनी बनारस पुगे । नेपालमा राजनीति र प्रजातन्त्रमाथि प्रतिबन्ध लागेको समय थियो त्यो । नेपालमा प्रतिबन्ध लागेकै कारण बनारस नेपाली राजनीतिको एउटा केन्द्र बनेको थियो । नेपालमा प्रतिबन्धित भएका नेपाल कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसका दर्जनौँ नेताहरु बनारसमा निर्वासित भएर बसेका थिए । त्यहाँको वातावरण राजनीतिमय थियो । मदन भण्डारी पनि यसबाट अछुतो रहन सकेनन् । साधुबेला संस्कृत विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गर्दा मदन भण्डारी नेपाली राजनीतिको सेवामा हेलिए ।

बनारसमा अध्ययनरत रहँदा नै उनी कम्युनिस्ट पार्टीमा लागे । कम्युनिस्ट पार्टीमा लागेपछि उनले यस्तो कविता लेखेः

जाँडरक्सी खान छोडिदेऊ, जुवातास खेल्न छोडिदेऊ,
महिलासँग छेडछाड गर्न, भाँडभैलो बोल्न छोडिदेऊ,
जनतासँग जिउने मर्ने सुख र दुःखको भागी होऊ,
जनताको लागि मर्न नै परे हाँसेर खुशीले मरिदेऊ ।

कविता त जसले पनि लेख्न सक्छ । आफूले लेखेको कवितालाई आफैँमा लागू गर्ने मान्छे यथार्थमा महान हुन्छ । मदन भण्डारीले आफ्नो सिङ्गो जीवनलाई यही कवितामा लेखिएका वाक्य जस्तै इमान्दार ढङ्गबाट जिउने काममा लगाए । बाँचुन्जेल उनी जनतासँगै बाँचे । मृत्युपछि पनि उनी जनतासँग बाँचिरहेका छन् र आउने लामो समयसम्म उनी नेपाली जनतासँग बाँचिरहने छन् ।

मदन भण्डारीको पुस्ताले जस्तो राज्य शासन भोग्यो, त्यस्तो कसैले भोग्नु नपरोस् । पञ्चायती प्रजातन्त्र भनिन्थ्यो त्यसलाई । तर त्यहाँ प्रजातन्त्र थिएन । त्यसैले हामी राजनीति गर्नेहरुले त्यसको नामाकरण गरेका थियौँ उतिबेला – निरङ्कुश पञ्चायती व्यवस्था । शासनसँग प्रजातन्त्रको कुनै साइनो सम्बन्ध नभएको हुनाले पञ्चायतको विरोध गर्ने त्यो पुस्ताले प्रजातान्त्रिक प्रणालीको स्थापना गर्नाका लागि ३० वर्ष निरन्तर सङ्घर्ष गर्नुपरेको थियो । पञ्चायती शासनको समयमा पार्टी र पार्टीको झण्डा मृत्युको पर्याय बनेको थियो । पार्टीमा लागेका दर्जनौँ कार्यकर्ताको हत्या गरिएको थियो ।

यस्तै गैरन्यायिक हत्या भएको थियो झापा र इलामको सीमाना–क्षेत्रको सुखानी जङ्गलमा । नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जालि फटाहा, अत्याचारी दुराचारीका विरुद्ध सङ्घर्ष गर्न उभिएका पाँच जना बहादुर नेपाली युवाहरुलाई तत्कालिन राज्यले सुखानीको जङ्गलमा लगेर गोली हानेर मार्यो । यो समय थियो २०२९ सालको फागुन २१ गते । सुखानीका शहीद भनी ती योद्धाहरुको नाम इतिहासमा अङ्कित भएको छ । रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई मारिएको स्थानलाई अहिले तारको बेरा लगाएर सुरक्षित गरिएको छ । त्यहाँ एउटा परिचय स्तम्भ खडा गरेर उनीहरुको नाम जोगाउने काम गरिएको छ भने उहाँहरुको सम्मानमा झापा जिल्लामा पर्ने शनिअर्जुन नगरपालिकामा ‘शहीद वन’ को भव्य संरचना निर्माण गरिएको छ ।

पञ्चायती निरङ्कुश शासनको विरुद्ध सङ्घर्ष गर्ने प्रण गरेका यी युवाहरुको हत्याले नेपाली राजनीतिक आन्दोलनमा नयाँ लहर उत्पन्न गर्यो । ठाउँठाउँमा युवाहरुका सङगठन खुल्न थाले । ‘सुखानी हत्याकाण्डको विरोध गरौँ’ भन्ने भावना र नाराका साथ उत्साही युवाहरु सङ्गठित हुन लागे । यस्तो सङ्गठन निर्माणको काम खालि झापामा मात्र भएन । त्यसको सबैभन्दा चर्को राप नेपालको राजधानी काठमाडौंमा महसुस गरियो । विशेष गरेर त्यतिबेला विद्यार्थी जीवन बिताइरहेका युवाहरुले सुखानीको रापलाई आन्दोलनको तापमा बदल्ने कोसिस गरे । शहीदहरुको हत्याले झापा तातेकै थियो, त्यसलाई बलियो आड दियो काठमाडौंको रापले ।

मदन भण्डारी पनि यसबाट अछुतो रहेनन् । उनको पढाइ समाप्तितिर पुगेको थियो । पढाइ सकेर छोराले जागीर खाला, हामीलाई सुखसँग पाल्ला भन्ने आशमा बसेका आफ्ना आमाबालाई सम्झाउँदै मदन भण्डारीले भने, ‘देशमा निरङ्कुश पञ्चायती सरकार छ । यो सरकार जनता बलियो र सुखी भएको देख्न चाहँदैन । भोकाहरु मरिरहुन्, रोगीहरु छटपटाइरहुन्, हामीजस्ता पढे लेखेकाहरु उनीहरुको दानापानी खाएर उनीहरुकै चाकरीमा रमाइरहुँ, देशमा जनताले स्वतन्त्रतापूर्वक हिँड्ने, डुल्ने, सभा सङ्गठन गर्ने अधिकार कहिल्यै नपाउन् भन्ने अनिष्टकारी, जनविरोधी सोच बोकेर यो सरकार बाँचिरहेको छ । यस्तो अवस्थामा म जस्तो बुझेको मान्छेले पनि देशलाई बिर्सिएर, अरु मरे मरुन् म चाहिँ खान पाइरहुँ भन्ने सोच राख्ने हो भने हाम्रा सुखका दिन कहिल्यै आउँदैनन् । मलाई जागिरमा नथुन्नुस् । मेरो ठाउँमा अर्को कुनै बाआमाको छोराले जागिर खाला । मुलुकका जनताको अधिकार रक्षा गर्ने सङ्घर्षमा थोरै मात्र मानिस समाहित हुन्छन् । तर सत्य उनीहरुकै पक्षमा हुन्छ । त्यसैले उनीहरुको जीत हुन्छ ।’

राजनीतिमा मदन भण्डारी

अहिलेको जस्तो खुला राजनीति गर्न पाइने समय थिएन त्यो । पार्टीका कार्यकर्ताहरु विद्यार्थी, शिक्षक र कर्मचारीको आवरणमा लुकेर मात्र काम गर्न सक्दैनथे । निरङ्कुश राज्यका सुइरा जस्ता आँखा र कुकुरको जस्तो सुँध्ने शक्ति भएका राज्यकर्मीहरुबाट लुकेर काम गर्नका लागि घरबार, परिवार, इष्टमित्र सबैलाई बिर्सिएर राजनीतिक जीवन बिताउनु पर्ने समय थियो त्यो ।

सकृय सामाजिक कार्यकर्तालाई समेत मुद्दा मामिलामा फसाउँथे गाउँका पञ्च र ठूलाठालुहरु । त्यस्ता सबैजसो मुद्दाहरु झुट्टा हुन्थे । मदन भण्डारी माथि पनि मुद्दा लाग्यो । त्यो पनि झुट्टै थियो । तर जेल गएर समय कटाउन चाहँदैनथे मदन भण्डारी । जेलको साटो जनताको बीचमा गएर राजनीतिक काम गर्न उनी भूमिगत भए । पार्टीले उनको कर्मक्षेत्र पनि मोरङ जिल्ला नै तोकेको थियो ।

गाउँठाउँमा साझा संस्था खोलिन्थ्यो र त्यो सँस्थाले गाउँलेको धान सङ्कलन गरेर ठाउँ ठाउँमा थुपार्ने काम गर्थ्र्यो । तर आपत परेको बेला आफैँले जम्मा गरेको धान समेत प्रयोग गर्न पाउँदैनथे गाउँलेहरुले । मदन भण्डारीको गाउँमा पनि थियो यो साझा भण्डार । एकपल्ट अनिकाल पर्यो गाउँमा । आफूले राखेको धान माग्न जाने नै भए गाउँलेहरु । तर गाउँ पंचायतका प्रधानपञ्च र साझा भण्डारका प्रबन्धकहरु गाउँले आफैँले भण्डार गरेको धान गाउँलेलाई दिन तयार भएनन् । अनिकालको चर्को पीडा सहन नसकेर गाउँलेले साझाको धन्सार फोरे र आपसमा अन्न बाँडचुँड गरे ।

घटना भएको समयमा मदन भण्डारी गाउँमा थिएनन् । तर उनलाई पनि मुद्दा लाग्यो । उतिबेला राजनीतिक कार्यकर्ता माथि मुद्दा लाग्नु भनेको घटीमा ३ वर्ष र बढीमा २० वर्ष झ्यालखानमा कोचिने काम हुन्थ्यो । त्यसैले खुला काम गरिरहेका राजनीतिक कार्यकर्ताहरु पनि मुद्दा लागेपछि प्रायः भूमिगत हुने चलन थियो । मुद्दा लागेपछि मदन भण्डारी पनि भूमिगत भए । भूमिगत हुनु भनेको गाउँघरमा लुकेर राजनीतिक काम गर्नु हुन्थ्यो उतिबेला । जनताले जे दिन्छन् त्यही खाने, जे लगाउन दिन्छन् त्यही लगाउने, सुखसुविधा खोज्न नपाइने, गाउँ गाउँमा लुक्तै छिप्तै मानिसहरुलाई पञ्चायती निरङ्कुशतन्त्रका विरुद्ध सङ्घर्ष गर्न तयार पार्ने काम गर्ने मानिसलाई नै भूमिगत राजनीतिक कार्यकर्ता भनिन्थ्यो ।

भूमिगत भएपछि मदन भण्डारीले मोरङ जिल्ला मात्र होइन, सिङ्गो कोशी अञ्चलको कामको जिम्मा लिनु पर्ने भयो । ठूलो जिम्मेदारी दियो उनी सङ्गठित रहेको नेकपा (माले) ले उनलाई । मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाको कामको पनि नेतृत्व लिनु पर्यो उनले ।

आजीवन पञ्चायतका मुख्य मान्छे भएका सूर्यबहादुर थापाको घर थियो धनकुटामा । धनकुटामा कम्युनिस्ट पार्टीको गतिविधि बढ्ने कुरा ती पञ्चायती प्रधानमन्त्रीलाई सह्य हुने कुरो पनि भएन । साना साना घटनामा उनले चिताई नसक्नुको दमन गराए । धनकुटाको यो विशेष दमन ‘छिन्ताङ हत्याकाण्ड’ भनेर इतिहासमा चिनिन्छ । एक दर्जन निर्दोष गाउँलेहरु मारिए । धनकुटाको उत्तरपट्टीका पाटोबाट अरुण नदी बग्छ, दक्षिणपटीको पाटोबाट तमोर नदी । कति गाउँलेका लास अरुणमा बगे, कतिका तमोरमा ।
मदन भण्डारीको जिम्मेदारी अन्तर्गत पर्थ्र्यो धनकुटा जिल्ला । त्यसैले छिन्ताङको पीडामा मलम लगाउन आफू छिन्ताङ जानै पर्छ भन्ने उनलाई लाग्यो । चर्को दमन भैरहेको थियो धनकुटाको दक्षिण-पश्चिम भेगमा । त्यही भेगमा पर्थ्र्यो छिन्ताङ गाउँ । दौरा, सुरुवाल, कोट, टोपी लाएर लागे मदन भण्डारी उतैतिर । देख्ने भेट्ने कसैले उनलाई काठमाडौंबाट आएको पञ्च भन्ठाने भने गाउँमा रगरगती घुमिरहेका पुलिसले उनलाई गुप्तचरको हाकिम भन्ठानेर सलाम पनि ठोके । मदन भण्डारीले पञ्च र गुप्तचरको हाकिम भएर पनि बाँचेकाहरुको पीडामा मलम लगाएर सबैको मनलाई शान्ति दिने कोसिस गरे ।

यस्तो शौर्य बोकेका मानिस थिए मदन भण्डारी !

धनकुटाको हत्याकाण्डले पनि पञ्चायतलाई बचाउन सकेन । बचाउन सक्ने कुरा पनि थिएन ।  त्यस्तै हत्याकाण्ड अरु केही जिल्लामा पनि भयो । तर त्यस्ता हत्या र दमनले उतिबेलाका युवा-विद्यार्थीलाई तर्साउन सकेन । बरु उल्टो ठाउँ ठाउँमा भएका पञ्चायती हत्याकाण्डले काठमाडौंका युवा विद्यार्थीहरुलाई ज्वालामुखीको पहाड बनाउँदै गएको थियो । निहुँ मात्र चाहिएको थियो त्यसको विस्फोट हुन ।

पाकिस्तानमा सैनिक शासन थियो उतिबेला । जुल्फीकार अलि भुट्टो पाकिस्तानका जननिर्वाचित प्रधानमन्त्री थिए । सैनिक शासन पनि झुठा मुद्दा लगाएर राजनीतिक नेता कार्यकर्ताको हत्या गर्ने शासन हो । त्यहाँको सैनिक शासनले जुल्फीकार अलि भुट्टोलाई अन्यायपूर्ण तरिकाले फाँसी दिएर मार्यो । त्यो फाँसीको पीडा काठमाडौंमा पनि आइपुग्यो । त्यही पीडा ज्वालामुखी बनेर विस्फोट भयो काठमाडौं शहरमा । त्यो विस्फोटको नेतृत्व गरेका थिए ती विद्यार्थी नेताहरुले जो तत्कालीन नेकपा (माले) का कार्यकर्ता भएर विद्यार्थी क्षेत्रमा काम गरिरहेका थिए ।

ज्वालामुखी विस्फोट हुनु के थियो त्यो छरियो नेपालभरि । काठमाडौंसँग जुरुक्क उठे मकवानपुर, चितवन, सिराहा, कास्की, रुपन्देही जस्ता दर्जनौँ जिल्लाहरु । यस्ता सबै जिल्लाहरुमा नेकपा (माले) को नेतृत्व रहेको थियो ।

आन्दोलनले राजालाई गलायो । तत्कालीन राजा वीरेन्द्रले ‘निरङ्कुश पञ्चायती व्यवस्थाको विकल्पमा सुधारिएको पञ्चायत ल्याउने कि बहुदलीय व्यवस्था ल्याउने’ भन्ने मुद्दामा जनमत सङ्ग्रह गराउने घोषणा गरे । यो घोषणाले नेपालको राजनीतिमा गम्भिर मोड ल्याइदियो ।

तर भूमिगत राजनीति गरिरहेका त्यतिबेलाका शक्तिशाली मानिने नेपाली काङ्ग्रेस, नेकपा (माले), नेकपा (मशाल) जस्ता पार्टीहरुले जनमत सङ्ग्रहबाट राजनीतिक परिवर्तन गराउन सकिने मुद्दालाई च्याप्प समातेर नेपालमा बहुदलीय व्यवस्था ल्याउने महत्वपूर्ण काम गर्न सकेनन् । नेपाली काङ्ग्रेसले कम्युनिस्ट पार्टी र राजा मध्य एक छान्नुपर्ने अवस्थामा राजाकै पक्ष लियो । पञ्चायत एकढिक्का थियो, बहुदलवादीहरु छिन्नभिन्न थिए । त्यस्तो स्थितिमा जनमत सङ्ग्रहको परिणाम बहुदलीय व्यवस्थाको पक्षमा नआउने कुरो निश्चित नै थियो । सोही भयो । बहुदल हार्यो । सुधारिएको पञ्चायती व्यवस्थाले जित्यो ।

पञ्चायती व्यवस्थालाई जिताउन सरकारले हदैसम्म बर्बरता देखायो । इतिहासमा कहिल्यै नभएको बन विनाश भयो । इलाम, सङखुवासभा, धनकुटा, सिन्धुली, महोत्तरीमा दर्जनौँ बहुदल पक्षधरलाई मारियो । पञ्चायत निरङ्कुश थियो ०१७ सालमा जन्मदादेखि नै । ०३७ मा सुधारिएको भनी नामाकरण गरिए पनि त्यो निरङ्कुश नै रहिरह्यो ।
तर ०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा पञ्चायत आतङ्क, त्रास र धम्कीलाई चिर्दै जनताले बहुदलीय व्यवस्थाको पक्षमा दिएको ४५ प्रतिशत भन्दा बढी मतले मदन भण्डारीलाई चिन्तनको एउटा नयाँ मोडमा उभ्यायो । अध्ययनशील त थिए नै उनी । त्यही अध्ययनले उनलाई नयाँ निष्कर्षमा पुर्याएको थियो । उनको भनाइ यस्तो थियो, ‘खालि भूमिगत सङ्गठन गरेर मात्र, गाउँगाउँमा फुसफुस गरेर मात्र पञ्चायती व्यवस्थालाई ढाल्न सकिँदैन । यस्तो अवस्थामा नेकपा (माले) ले विद्यार्थी, महिला, मजदुर, किसान, शिक्षक, कलाकार, साहित्यकार मात्र होइन, मानव अधिकारवादीहरुलाई समेत सङ्गठित गरेर जनआन्दोलन चलाउनु पर्छ । हामीले यसरी समुदायलाई सङ्गठित गर्यौँ भने नेपाली काङ्ग्रेस पनि आन्दोलन गर्न बाध्य हुन्छ । किनभने हामीले यस्ता सामुदायिक सङ्गठन बनाएपछि काङ्ग्रेसले पनि त्यस्ता सङ्गठनहरु बनाउँछ । यस्ता सङ्गठनले बुढो काङ्ग्रेसलाई तिनकै युवाहरुले आन्दोलनको आवश्यकताको बोध गराउने छन् । त्यसपछि एउटा बृहद् मोर्चाको माध्यमबाट हामी पञ्चायती निरङ्कुशतन्त्रलाई पराजित गर्न सक्छौँ ।’

विद्यार्थीहरु आन्दोलनबाटै सङगठित भैसकेका थिए । महिलाको आन्दोलनलाई सङ्गठित गर्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८), मजदुरको आन्दोलनलाई सङ्गठित गर्न अन्तर्राष्ट्रिय मई दिवस (मई १ तारिख) मनाउने अवधारणा नेकपा (माले) ले नै नेपालमा भित्र्याएको थियो ।

विचारको क्षेत्रमा पनि मदन भण्डारी अब्बल रहे । नेपालको कम्युनिस्ट राजनीतिमा राजाको भूमिका विवादित थियो । पुराना धेरै कम्युनिस्ट पार्टीहरु नेपालमा राजाको भूमिकालाई सकारात्मक देख्थे । नेकपा (माले) भित्रै पनि राजाको भूमिका बहसमा थियो । तर दर्जनौँ नागरिकको हत्या, जनमत सङ्ग्रहमा राजाको पक्षबाट भएको धाँधली, नेपाली नागरिकका सबै खाले प्रजातान्त्रिक अधिकारहरु खोस्ने काममा राजाको प्रत्यक्ष सङ्लग्नता देखिएको थियो ।

राजतन्त्रको यही भूमिकाको विश्लेषण गर्दै मदन भण्डारीले ‘राजा नै प्रजातन्त्र र नागरिक अधिकारको सबैभन्दा ठूलो दुश्मन’ भएको हुनाले राजतन्त्रका विरुद्ध आन्दोलन केन्द्रित गर्नुपर्छ भन्ने नयाँ विचार पार्टीभित्र ल्याए । पार्टीका ठूला नेताहरु मदन भण्डारीका विचारसँग सहमत भएनन् । तर उनले लगातार छलफल, बहस गरेर ‘राजतन्त्रका विरुद्ध प्रहार केन्द्रित गरी जनआन्दोलन सञ्चालन गर्ने’ विचारका पक्षमा सबैलाई उभ्याउने काम गरे ।

आफू अल्पमतमा परेका बेला, चर्काचर्की बहस चलेको बेला उत्तेजित नहुने मदन भण्डारीको अनौठो स्वभाव थियो । यस्तो गुण भएका नेताहरु असाध्यै थोरै हुन्छन् । खुशी हुँदा मुसुक्क हाँस्ने अनि रिस उठेको बेला टाउको बटार्ने थुप्रै नेता नेपालमा छन् । विचारको लडाइँमा पनि, जितेको बेला मक्ख पर्ने र हारेको बेला अँध्यारो अनुहार लाउने नेता पनि नेपालमा जताततै भेटिन्छन् । तर जीतमा अनि हारमा अनुहार, अभिव्यक्ति र सोचमा कुनै फरक नपार्ने नेता मदन भण्डारी बाहेक अर्को देख्न पाएको छैन मैले ।
मदन भण्डारीको वैचारिक विकासको तीव्रता बढिरहेको थियो । यसैबीच उनी र उतिबेला भोजपुर क्याम्पसमा अध्ययन गरिरहेकी विद्या पाण्डेबीच विवाह भयो । अध्ययन अघि बढाउन र विराटनगरको पार्टी काममा सघाउ पुर्याउने उद्देश्यले पार्टीले विद्या पाण्डेलाई पनि मोरङ जिल्लामा पठायो । मदन भण्डारी र विद्या भण्डारीका दुई छोरी छन्, उषाकिरण र निशाकुसुम भण्डारी ।

प्रजातान्त्रिक आन्दोलनका अभियन्ता

रिस उठेका बेला पञ्चायतका विरुद्ध सशस्त्र सङ्घर्ष गर्न बन्दुक किनिहाल्ने अनि मन खुश भएको बेला कम्युनिस्ट पार्टीको विरोध गर्दै पञ्चायती वर्गीय सङ्गठनको सदस्यता अनिवार्य नगरे राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिने नीतिका बीचमा नेपाली काङ्ग्रेस रुमल्लिइरहेको थियो । यस्तो ढुलमुलको स्थितिमा रहेको नेपाली काङ्ग्रेसलाई प्रजातन्त्र प्राप्तिको लडाइँमा सामेल गर्ने काम साह्रै अप्ठ्यारो थियो । तर काङ्ग्रेसलाई आन्दोलनमा सामेल नगरी पञ्चायती निरङ्कुशतन्त्रको अन्त्य गर्ने लडाइँलाई सफलतामा पुर्याउन सकिने अवस्था पनि थिएन । त्यसैले मदन भण्डारीले अर्को नयाँ विचार अगाडि सारे । नेपालका सबै कम्युनिस्ट पार्टीहरुको एउटा मोर्चा बनाउने, त्यसको नाम ‘संयुक्त वाममोर्चा’ राख्ने, संयुक्त वाममोर्चाको नेतृत्वमा नेपाली काङ्ग्रेसले पत्याउने खालका वामपन्थी नेताहरुलाई राख्ने, नेकपा (माले) पृष्ठभागमा बसेर आन्दोलनलाई अगाडि बढाउन चौतर्फी मद्दत पुर्याउने विचार मदन भण्डारीले अगाडि सारे । यो एउटा चातुर्यपूर्ण प्रयत्न थियो । यो विचारलाई नेकपा (माले) को विचारको रुपमा सार्वजनिक गर्ने प्रस्तावलाई नेकपा (माले) ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनले पारित गर्यो । त्यही महाधिवेशनले मदन भण्डारीलाई नेपाल कम्युनिस्ट पार्टीको महासचिव चुन्यो ।

नेकपा (माले) ले सोचे जसरी नै २०४७ को आन्दोलन टुङ्गियो । यही आन्दोलनलाई प्रजातन्त्रको पुनःस्थापना भनियो । आन्दोलनपछि राजा संवैधानिक हुन राजी भए । आन्दोलनको सफलताको श्रेय पार्टीगत हिसाबमा संयुक्त बाममोर्चा र नेपाली काङ्ग्रेसले पाए । आन्दोलनको योजना बनाउने र आन्दोलन सञ्चालन गर्ने काममा अगुवाइ गरेको पार्टी पर्दाभित्रै रह्यो । यस्तो हुनुहुँदैनथ्यो भनी आफ्ना साथीहरुले गुनासो गर्दा मदन भण्डारीले भने, ‘हालको हाम्रो मुख्य काम बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना हो । हामीले अहिलेको गन्तव्य प्राप्त गरेका छौँ । अब नेपाली राजनीतिमा नेपाली काङग्रेसको भूमिका झन नकारात्मक हुन्छ । हामीसित एउटा स्पष्ट बाटो छ । संवैधानिक राजतन्त्र हाम्रो लक्ष्य होइन । यो त सम्झौताको एउटा टेको मात्र हो । हाम्रो राजनीतिक लक्ष्य भनेको राजाबिनाको प्रजातन्त्र हो । गणतन्त्र हो ।

काङग्रेसको यात्रा संवैधानिक राजतन्त्र मात्र हो । अब काङ्ग्रेसको आन्दोलन सकियो । तर हाम्रो आन्दोलनको यात्रा जारी रहने छ । त्यसैले यसपालिको आन्दोलनमा हाम्रो भूमिका देखा परेन भनेर पिरिनु हुँदैन । आन्दोलनमा हाम्रो नेतृत्वदायी भूमिका छ भन्ने जानेको भए नेपाली काङ्ग्रेस आन्दोलनमा आउन मान्ने थिएन । अब काङ्ग्रेस आए पनि नआए पनि हामी भावी आन्दोलनको नेतृत्व गर्न सफल हुन्छौँ । त्यही सफलताले हाम्रो पार्टीको भूमिकालाई उच्चस्थानमा पुर्याउने छ ।’

आन्दोलन सकिएपछि नेकपा (माले) ले कम्युनिस्ट पार्टीहरुबीच एकताको प्रस्ताव राख्यो । साङ्गठनिक हिसाबले नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकृत हुने भए । दुई पार्टी बीच भएको एकतापछि नेकपा (एमाले) नाम गरेको नयाँ पार्टी बन्यो । यही नयाँ पार्टीको नाम र चुनाव चिह्न सूर्य (घाम) लिएर नेकपा एमाले चुनावी प्रतिस्पर्धामा उत्रने भयो । २०४७ सालदेखि मात्रै नेपालमा राजनीतिक पार्टीहरुले खुला गतिविधि गर्न पाएका हुन् ।

प्रचार अभियानमा मदन भण्डारीले सबै पार्टीका नेतालाई जिते । अरुले भाषण गर्दा १५ मिनेटमै सुन्न अल्छी मान्ने श्रोताहरु मदन भण्डारीका भाषण सुन्दा २ घण्टासम्म हलचल गर्दैनथे । गाउँखाने कथा, उखान टुक्का र नेपालको इतिहासका सरोकार राख्ने विषयहरु समेटेर स्वरको आरोह अवरोह मिलाउँदै बोल्न सक्ने उनको वाक्शक्ति बेजोडको थियो । उनको जस्तो प्रभावशाली ढङ्गले भाषण गर्ने न उनी अगाडि कोही जन्मिएको थियो, न उनको हत्यापछि अहिलेसम्म कसैले उनलाई पछ्याउन सकेको छ ।
जनतालाई असम्भव आश्वासन बाँड्ने भाषणलाई ठूलो मानिँदैन । जनतालाई अधिकार प्राप्तिको आन्दोलनमा जागरुक बनाउने भाषण नै ठूलो हुन्छ । त्यसका लागि व्यक्ति र राजनीति सम्पूर्ण रुपमा जनताप्रति समर्पित हुनु पर्छ । मदन भण्डारीले भनेका पनि छन्, ‘हाम्रा जनतालाई काम नलाग्ने सिद्धान्त र राजनीति हामीले बोक्नु हुँदैन । हामीले बोकेको सिद्धान्तले जनताको भलो गर्न सक्नु पर्छ । यदि त्यसले जनताको भलो गर्न सक्दैन भने हामीले त्यसलाई बोकिरहनु हुँदैन ।’ उनको यो मान्यतालाई सिद्धान्तमा यसरी लेखिएको छ, ‘जीवन सिद्धान्तका लागि हुँदैन, सिद्धान्त जीवनका लागि हुनु पर्छ ।’ उनले अगाडि सारेको यो सिद्धान्त दक्षिण एशियाका कम्युनिस्ट पार्टीले बोक्दै आएको परम्परावादी सोचभन्दा ठ्याक्कै उल्टो छ । तर बितेको २० वर्षको नेपाली राजनीतिको व्यवहारले यसलाई पुष्टि गरिसकेको छ ।

०४८ सालमा प्रतिनिधि सभा (केन्द्रीय संसद्) को पहिलो चुनाव हुने भयो । सबै पार्टीका नेताहरु पनि चुनावमा उम्मेद्वार बन्ने भए । त्यतिबेला मदन भण्डारीले अर्को ठूलो पार्टी नेपाली काङ्ग्रेससँग सहकार्यको प्रस्ताव राखे । उनले भने, ‘१० वर्षसम्म हामीले मिलेर काम गर्यौँ भने नेपालको प्रजातान्त्रिक प्रणाली बलियो हुन्छ ।’ तर नेपाली काङ्ग्रेसले मदन भण्डारीको प्रस्तावलाई अस्वीकार गर्यो । ‘नेकपा एमालेले १० सिट पनि ल्याउँदैन, हामी १५० भन्दा बढी सिट ल्याउँछौँ’ भन्ने काङ्ग्रेको निष्कर्ष थियो । त्यसैले नेपाली काङग्रेसले, नेकपा (एमाले) ले ठूलो पार्टी हुनका लागि हाम्रो आड खोजेको हो भन्ने निष्कर्ष निकाल्यो ।

त्यतिबेलाको संसद्मा २०५ सिट थियो । चुनावमा नेपाली काङ्ग्रेस र नेकपा एमालेकै बीच मुख्य प्रतिस्पर्धा भयो । काङग्रेसले ११२ सिट ल्यायो भने एमालेले ६९ सिट ल्यायो । यो चुनावमा मदन भण्डारीले कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरे । नेकपा (एमाले) ले यति ठूलो पौरख गर्छ भनेर कुनै राजनीतिक दल र नेताले सोचेका थिएनन् । नेपालभित्रको अवस्था त यस्तो थियो भने बाहिर कसले पो नेकपा (एमाले) लाई पत्याएको थियो होला र ! तर मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) ले कसैले सोच्न समेत नसकेको परिणाम ल्यायो ।

यो निर्वाचनले मदन भण्डारीको ख्यातिलाई विश्वव्यापी बनायो । सबैतिर कम्युनिस्ट पार्टीहरुको पराजय भैरहेको, नेपालका छिमेकी मुलुकहरुमा पनि कम्युनिस्ट पार्टी खासै बलियो नभएको अवस्थामा, नेपालमा नेकपा (एमाले) प्रमुख प्रतिपक्षी पार्टीको रुपमा उपस्थित हुने कुरा अन्तर्राष्ट्रिय जगतका लागि पनि आश्चर्यजनक विषय बन्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार

मदन भण्डारीको प्रष्ट विचार, मिठो बोली र विपक्षीका विचारलाई सुन्ने र सम्मान गर्ने स्वभावका कारण नेपाली काङ्ग्रेसका ‘शीर्ष पुरुष’ गणेशमान सिंह र संवैधानिक बनेपछिका राजा वीरेन्द्रसँग पनि राम्रो सम्बन्ध रहन पुग्यो । मदन भण्डारीको हत्यापछिको समवेदना सन्देशमा तत्कालीन राजा वीरेन्द्रले उनलाई ‘सिद्धान्तनिष्ठ’ व्यक्तिको रुपमा सम्मान गरेका थिए भने नेपाली काङ्ग्रेसका ‘लौहपुरुष’ गणेशमान सिंहले रुँदै ‘प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको’ भनी श्रद्धाञ्जली दिएका थिए ।

राजा र गणेशमान सिंहले समेत मदन भण्डारीलाई ‘सिद्धान्तनिष्ठ व्यक्ति’ भन्नुको विशेष कारण छ । मदन भण्डारी अघिको नेपाल कम्युनिस्ट पार्टी टाउकाले टेकेर उभिएको थियो । व्यक्तिभन्दा सिद्धान्त ठूलो, व्यक्ति भन्दा पार्टी ठूलो, स्वतन्त्रता भन्दा समानता ठूलो, सर्वहारा वर्गको अधिनायकत्व, कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्यवादी समाजको स्थापना जस्ता गलत र अवास्तविक सोचबाट ग्रस्त थियो ।

यथार्थमा व्यक्तिले सिद्धान्त बनाउँछ, व्यक्तिले पार्टी बनाउँछ, त्यसैले सिद्धान्त र पार्टी व्यक्ति भन्दा माथि हुँदैनन् । स्वतन्त्रता माथि केही हुँदैन, एउटा स्वतन्त्र समाजले नै समानता प्रत्याभूत गर्छ । साम्यवादी समाज भनेको पार्टी, राज्य, शासक, शासित, वर्ग केही नभएको विश्व समाजको परिकल्पना हो यो सत्य चिन्न र बुझ्न नेपालको कम्युनिस्ट आन्दोलनलाई झण्डै साढे चार दशक लाग्यो । र, नेपाली समाजलाई कम्युनिस्ट पार्टीको वास्तविक चिनारी दिने काममा मदन भण्डारीको अगुवाइ रह्यो । कम्युनिस्ट पार्टीलाई आफ्नो खुट्टामा उभ्याउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्ने काममा सबैको अगुवाइ गरेको हुनाले मदन भण्डारीलाई नवीन विचारक, नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार भनिएको हो ।

विश्व सन्दर्भमा मदन भण्डारी

नेपालमा कम्युनिस्ट पार्टीको उपस्थितिले संसारभरिका कम्युनिस्टहरुलाई खुशीको समाचार पठाएको थियो भने कम्युनिस्ट विरोधीहरुका लागि चिन्ताको अवस्था सिर्जना गरेको थियो । नेपालभित्र नेपाली काङ्ग्रेसले अनुमान गरेजस्तै मुलुक बाहिरका कम्युनिस्ट र कम्युनिस्ट विरोधी दुवैले नेपालको कम्युनिस्ट पार्टी यति धेरै बलियो होला भनेर सोचेका थिएनन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा ल्याउने मान्छे, नेकपा एमालेका युवा महासचिव मदनकुमार भण्डारी हुन् भन्ने जानकारी पाएपछि विश्वभरिका पत्रकारहरु उनीसँग भेटन र अन्तरवार्ता लिन नेपाल आए । धेरैले उनको बारेमा समाचार छापे । तीमध्ये सबैभन्दा प्रभावकारी अन्तरवार्ता छापिएको थियो, अमेरिकाबाट निस्कने ‘न्युजविक’ नाम गरेको साप्ताहिक पत्रिकामा । अन्तरवार्ताको शीर्षक राखेको थियो त्यो पत्रिकाले ‘नेपालमा कार्लमार्क्स जीवित छन् ।’

पत्रपत्रिकामा आउने मात्र होइन, त्यसपछि मदन भण्डारीलाई विभिन्न मुलुकबाट भ्रमण र भेटघाटको निम्तो पनि आउन थाल्यो । तर मदन भण्डारी हतारिँदै कतै दौडिएनन् । एकपल्ट उनी गए, भारतको कलकत्तामा । त्यतिबेला भारतको पश्चिम बङ्गाल राज्यमा मार्क्सवादी कम्युनिस्ट पार्टीको शासन थियो ।

मार्क्सवादी कम्युनिस्ट पार्टीले त्यहाँ ‘समकालीन विश्वमा मार्क्सवाद’ भन्ने विषयमा एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । त्यो अन्तर्राष्ट्रिय सम्मेलनमा मदन भण्डारीले राखेका विचारलाई नौलो मानियो । खास गरेर प्रजातान्त्रिक पद्धति र मानव अधिकारको रक्षालाई मदन भण्डारीले विशेष जोड दिएका थिए । जनहीतका लागि राजनीतिक दलले काम गर्नु पर्ने, युवाहरुलाई काम र वृद्धहरुलाई सुरक्षा, दलित, अपहेलित समुदायलाई विशेष सुविधाको व्यवस्था, गाउँ विकास समिति र नगरपालिका जस्ता स्थानीय निर्वाचित निकायलाई सम्पूर्ण शासकीय अधिकार दिनुपर्ने जस्ता विषयहरु उठाउँदै उनले नेपाली काङ्ग्रेस जस्ता दलाल पुँजीपति वर्गका पार्टीसँग चुनावी प्रतिस्पर्धा गरेरै कम्युनिस्टहरुले शासन चलाउनु पर्छ भन्ने मान्यता प्रस्तुत गरेका थिए । उनका नयाँ मान्यताहरु बहसका विषय बने ।

कलकत्ताबाट फर्किएपछि मदन भण्डारी चीन गए । चीनबाट फर्किएपछि मदन भण्डारीले मुलुकभित्रको कामलाई प्राथमिकता दिए । नयाँ विचार लिएर उदाएको पार्टीको विचारलाई कार्यकर्ता र देशवासीका बीचमा पुर्याउनु पर्ने थियो । ‘जनतालाई काम नलाग्ने विचार राजनीतिक दलहरुले बोक्नु हुँदैन’ भन्ने निष्कर्षमा पुगेका मदन भण्डारीले नेकपा (एमाले) ले ल्याएका नयाँ विचारलाई पार्टीको राष्ट्रिय महाधिवेशनबाट अनुमोदित गराउनुपर्छ भनी नेपाल कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशनको आयोजना गरे । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई पहिले पार्टीबाट पारित गराउने कम्युनिस्ट पार्टीको नियम अनुसार मदन भण्डारीले पहिले स्थायी कमिटीमा आफ्नो ‘जनताको बहुदलीय जनवाद’ शीर्षकको मस्यौदा प्रस्तुत गरे । स्थायी कमिटीले महासचिव मदन भण्डारीको मस्यौदालाई अस्वीकार गर्यो । तर स्थायी कमिटीभन्दा माथिल्लो र अधिकार सम्पन्न कमिटी भनेको केन्द्रीय कमिटी हुन्छ कम्युनिस्ट पार्टीमा । स्थायी कमिटीलाई केन्द्रीय कमिटीको राजनीतिक सचिवालय भन्दा हुन्छ ।

स्थायी कमिटीमा अस्वीकृत भएको दस्तावेजलाई केन्द्रीय कमिटीले के पारित गर्ला र भन्ने लागेको थियो सबैलाई । तर नेकपा एमालेको केन्द्रीय कमिटीको ठूलो बहुमतले जनताको बहुदलीय जनवादलाई पार्टीको तर्फबाट राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजका रुपमा स्वीकार गर्यो । २०४९ को माघ महिनामा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई ‘नेपाली क्रान्तिको मौलिक कार्यक्रम’ र मदन भण्डारीलाई नेपाली राजनीतिक आन्दोलनमा ‘नवीन विचारक’ का रुपमा स्वीकार गर्यो ।

नेपालमा कम्युनिस्ट पार्टीको प्रभाव र प्रतिष्ठा बढ्दै गएको र यो वृद्धिको कारण मदन भण्डारीले अगाडि सारेका विचारहरु हुन् भन्ने थाहा पाएका नेपाली जनताका बैरीहरुले २०५० सालको जेठ ३ गते मदन भण्डारीको षडयन्त्रमूलक हत्या गरे ।

मान्छे मारेर विचार मर्दैन तर मुगलिन–नारायणगढ राजमार्गको दासढुङ्गा भन्ने स्थानमा मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको थियो । उहाँहरुको वधस्थलमा अहिले शालिक स्थापना गरिएको छ । त्यस्तो शालिक जसले मदनआश्रितको हत्यालाई चिच्याई चिच्याई सबैलाई सतर्क हुन र मदन भण्डारीका विचारहरुको पक्षमा उभिन आह्वान गरिरहेको छ ।

हुन पनि मदन भण्डारीको हत्याले सिङ्गो संसारलाई झस्काएको थियो । अन्तर्राष्ट्रिरुपमै बहुआयामिक र योग्य कम्युनिस्ट नेताहरुको हत्याको शृङ्खला आरम्भ भएको समय थियो त्यो । भरखरै रङ्गभेदी शासनबाट मुक्त भएको दक्षिण अफ्रिकामा प्रभावशाली दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीका युवा महासचिव क्रिस हानीको हत्या पनि त्यतिबेलै गरिएको थियो ।

नेपालमा हत्या गरिएका मदन भण्डारीका बारेमा भारतीय कम्युनिस्ट पार्टी (माले) का महासचिव विनोद मिश्रको मूल्याङ्कनमा पनि यो सच्चाइको उद्घोष भएको छ, ‘केही वर्ष पहिले जब नेपाल एउटा महान् ऐतिहासिक सङ्क्रमणबाट गुज्रिरहेको थियो, त्यतिबेला कम्युनिस्ट आन्दोलनले यस्तो सिद्धान्तकार खोजिरहेको थियो जो मार्क्सवादको सार्वभौम सच्चाइलाई नेपालको ठोस स्थितिमा मिलाउन सकोस् । नेपालको जनवादी आन्दोलनले एउटा यस्तो नेता खोजिरहेको थियो जो सुसङ्गत जनवादको झण्डालाई निर्भीकतापूर्वक फहराउन सकोस् र नेपाल एउटा यस्तो राष्ट्रिय व्यक्तित्व खोजरहेको थियो, जो साहसपूर्वक नेपालको राष्ट्रिय हित र आकाङ्क्षाको पक्षपोषण गर्न सकोस् । कमरेड मदन भण्डारीले यी तीनवटै आवश्यकतालाई एकैचोटी पुरा गर्नुभएको थियो ।’

मदन भण्डारीलाई मारेर मदन भण्डारीले ल्याएको विचार मरेन । त्यो झन् झन् प्रभावशाली हुँदै गयो । मदन भण्डारीको हत्यापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी भयो । त्यसले ०५१ सालको मङ्सिरमा नेपालमा पहिलो निर्वाचित कम्यनिस्ट पार्टीको सरकार बनायो । जनताको बहुदलीय जनवादी कार्यक्रमको प्रकाशमा त्यसले धेरै महत्त्वपूर्ण कामहरु गर्न थाल्यो । जनताका लागि जनताबाट निर्वाचित जनताको सरकार भनेर परिचय दिने सरकार पनि त्यही भएको छ अहिलेसम्मको नेपाली राजनीतिको इतिहासमा ।

त्यसै समयमा हिमाल नाम गरेको संस्थाले नेपाली राजनीतिका नेताहरुको लोकप्रियताको राष्ट्रिय सर्वेक्षण प्रस्तुत गर्यो । सबैभन्दा लोकप्रिय नेता स्वर्गीय मदन भण्डारी नै भए । उनले नेपाली काङ्ग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

मदन भण्डारी हुने त कल्पना नगर्दै राम्रो हुन्छ । उनी जस्तो हुन पनि सजिलो छैन । तर मन लगाएर काम गर्ने हो भने मदन भण्डारीको अनुयायी हुन गाह्रो पनि छैन । म नेपाल र नेपालीका लागि बाँचेको हुँ, तिनकै सेवामा समर्पित भएको छु भन्ने भावना भएको जो कोही पनि मदन भण्डारीको अनुयायी हुन सक्छ ।

जेठ २०७२



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम