Logo

सुजाताले गरिन् पौडेल र सिटौला मिलाउने पहल, नयाँ समूह बन्नसक्ने



काठमाडौं, १४ असार । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा ध्रवीकरण तिव्र बन्दै गएको छ । शक्तिशाली नेताहरुले महाधिवेशनका लागि फरक समूह तयार गर्न गृहकार्य बढाएका छन् ।

आज मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पुगेर गम्भीर छलफल गरेका छन् । पौडेल र सिटौलालाई मिलाउने पहलसहित कोइरालाले भेटको वातावरण बनाएकी थिइन् ।

विश्वस्त स्रोतका अनुसार कोइरालाले दुवै नेतालाई टेलिफोन सम्पर्क गरेर तपाईंहरु मिल्नुपर्छ नत्र काँग्रेस झन् कमजोर हुन्छ भनेकी थिइन् । उनले दुवै नेतालाई कफी खानेगरी आउन भनेकी थिइन् । त्यसपछि दिउँसो सुजाताको निवासमा पुगेका पौडेल र सिटौलाले काँग्रेसको पछिल्लो राजनीतिबारे गम्भीर समिक्षा गरेका थिए ।

सुजाताले सबै मिलेर जानुपर्नेमा जोड दिएकी थिइन् । उनले काँग्रेसलाई नयाँ नेतृत्व दिनका लागि मिलेर जान प्रस्ताव राखेपछि पौडेल र सिटौला सकारात्मक भएका थिए । कफी पिउँदै भएको कुराकानी सकारात्मक भएको बुझिएको छ ।

१३औं महाधिवेशनमा पौडेल र सिटौला दुवै सभापतिका उम्मेदवार थिए । सुशील कोइराला सभापति हुँदा दुवैजना एउटै समूहमा थिए । पछि फरक समूह बनाएका थिए । पौडेल र सिटौला मिलेमा काँग्रेसको राजनीतिमा नयाँ घटना विकास हुन सक्छ ।

पछिल्लो समय उपसभापति विमलेन्द्र निधिले वर्तमान महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग मिलेर नयाँ समूह निर्माण गर्ने पहल गरिरहेका छन् । तीनैजना सभापतिका दाबेदार हुन् ।



प्रतिक्रिया दिनुहोस्