Logo

पौडेल र सिटौलालाई निवासमा डाकेर सुजाताले के भनिन्



काठमाडौं, १४ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई टेलिफोन सम्पर्क गरिन् । दुवै नेतालाई सोमबार दिउँसो मण्डिखाटारस्थित निवासमा निम्तो गरिन् । दुवै नेताले आउने जवाफ दिए ।

पौडेल पहिल्यै पुगे । त्यसपछि सिटौला पुगे । दुवै नेतालाई राखेर १४औं महाधिवेशनको तयारीबारे कुरा सुरु गरिन् । उनले काँग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको नीति उल्लेख गरिन् ।

काँग्रेस जोगाउने हो भने सबै मिल्नुपर्ने बताइन् । विश्वस्त स्रोतका अनुसार कोइरालाले सभापति शेरबहादुर देउवाको विकल्प दिने गरी सहमतिमा बलियो सभापतिको उम्मेदवार खडा हुनुपर्ने बताइन् । पौडेल र सिटौलालाई मिलेर जान आग्रह गरिन् । दुई नेता नमिल्दा पार्टी नेतृत्व देउवाको हातमा गएको र अहिले अप्ठ्यारो परिस्थित आएको विषय राखिन् ।

सुजाताले पौडेल र सिटौलालाई मिलेर जान तयार भएमा सभापतिमा आफ्नो साथ रहने बताइन् । ‘तपाईंहरु मिल्नुहोस् र दुईमध्ये एकजना सभापतिका लागि बढ्नुहोस् । होइन भने म अगाडि बढ्छु साथ दिनुहोस्,’ भेटमा कोइरालाले भनिन् । आफू काँग्रेस बलियो बन्छ भने त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्दै नेताहरुलाई बारम्बार सहमति निकाल्न जोड दिइन् ।

पौडेल र सिटौलाले मिलेर जान आफूहरु तयार रहेको बताए । उनीहरुले सबैलाई मिलाएर जानुपर्नेमा समेत जोड दिएका थिए ।

पौडेललाई ‘तपाईं सिधा हुनुहुन्छ, सिटौलाजीसँग गिरिजाबाबुसँग लामो समय काम गरेको अनुभव छ’ भन्दै सहमति निकाल्न खोजेकी थिइन् । कुरा सकारात्मक भएपनि पौडेल र सिटौला मिलिहाल्न सजिलो छैन । दुई नेता भिड्दा १३औं महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्