Logo

एआइजीको दरबन्दी थपेर थापालाई बढुवा सिफारिश, भावी आइजीपीमा पोखरेललाई चुनौती



काठमाडौं, १४ असार । नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थपिएको छ । दरबन्दी थपिएलगत्तै डिआइजी सहकुल थापालाई बढुवाको सिफारिश गरिएको छ ।
आइजीपी शैलेश थापा क्षेत्री सदस्य सचिव रहेको बढुवा समितिले एआइजीमा बढुवा सिफारिश गरेको हो ।

यसअघि तीन एआइजीको दरबन्दी रहेकोमा पछि थपेर विश्वराज पोखरेललाई बढुवा गरिएको थियो । फेरि थपेर सहकुल थापालाई बढुवा सिफारिश गरिएको छ । दुवै बढुवामा आइजीपी शैलेश थापाको ब्याची छुटेका छन् ।

बढुवा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) को प्रावधान अनुसार गरिएको उल्लेख छ ।

थापा हालैमात्र सीआइबीबाट सरुवा गरिएका थिए । उनलाई एआइजीमा बढुवा गर्नकै लागि दरबन्दी थपिने चर्चा पहिले देखि नै थियो । उनको बढुवालगत्तै भावी आइजीपीको प्रतिष्पर्धा रोचक हुने भएको छ ।

अर्को वर्ष आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुँदा उनका ब्याची हालका तीनजना एआइजी पनि सँगै घर जानेछन् । त्यसपछि अहिलेका कनिष्ठ एआइजी विश्वराज पोखरेल प्रतिष्पर्धाविहिन रुपमा आइजीपी हुनसक्थे । तर, थापाको बढुवा निश्चित भएसँगै प्रतिष्पर्धी थपिएका छन् । पोखरेल र थापा एउटै ब्याची हुन् ।



प्रतिक्रिया दिनुहोस्