Logo

आज असार १५, दही–चिउरा खाने दिन



काठमाडौं, असार १५ । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कोरोना महामारीकै बीच मंगलवार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएको छैन ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ यस वर्ष अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल समारोह समितिको आयोजनामा मंगलवार खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को जग्गामा धान रोपाइँ गरी सरकारले औपचारिक रूपमा धान दिवस मनाउन लागेको हो । धानबालीको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा, आत्मनिर्भता र राष्ट्रिय समृद्धि हासिल गर्ने दिशामा सहकार्यका लागि सम्पूर्ण सरोकारवालालाई सरकारले आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्