Logo

एक लाखभन्दा बढी बिरुवा रोपिए



काठमाडौं, असार १५ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार देशभर एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । वन तथा वातावरणमन्त्री कृष्णगोपाल श्रेष्ठले बूढानीलकण्ठ नगरपालिकाको रुद्रमती÷धोबीखोला करिडोरमा सोमबार असारे बिरुवा रोपेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गरे।

रुद्रमती करिडोरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रोपिएका बिरुवालाई हुर्काउन सके सहरको प्रदूषण कम हुने र सहरी सौन्दर्य सुधार गर्न सकिने विचार व्यक्त गरे। उनले वन तथा वातावरण मन्त्रालयका पदाधिकारीलाई भने, “वृक्षरोपणसँगै जगेर्ना गर्ने, हुर्काउने योजनासमेत समावेश गरिनुपर्छ । ”

त्यस अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले मन्त्रालयले घना बस्ती भएका सहर बजारमा वातावरणीय स्वच्छता कायम गर्न र सहरी सुन्दरताका लागि सहरी वन विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बूढानीलकण्ठ नगरपालिका र रुद्रमती हरियाली उपभोक्ता समितिको सहकार्यमा करिब पाँच किलोमिटर क्षेत्रको नदी किनार दायाँबायाँ कपुर, चाँप, धूपी, करवीर, टेकोमा, कल्की, असारे, चेरी, ज्याकाराण्डा लगायतका करिब तीन हजार २५० वटा बिरुवा रोपिएको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्