Logo

जसले सरकारको नेतृत्व गरे तर प्रधानमन्त्री भनिएन



२००७ देखि २०७८ सम्मको कालखण्डमा नेपालमा २७ जनाले सरकार (मन्त्रिपरिषद्) को नेतृत्व गरे । तीमध्ये २० जनाले मात्र प्रधानमन्त्रीको पद पाए । सुवर्णशमशेर जबरा र खिलराज रेग्मीले मन्त्रिपरिषद्को अध्यक्षको पद पाए भने डा. तुलसी गिरि र सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रिपरिषद्को अध्यक्ष दुवै पदमा काम गर्न पाए ।

तीन जना यस्ता व्यक्ति छन् जसले प्रधानमन्त्री वा मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त नभएको समयमा सो पदले गर्ने कार्यभार त बहन गरे । तर त्यो पदले सम्बोधित हुन भने पाएनन् । ती तीन जना निम्नानुसार छन्:-

अतिरथी केशरशमशेर राणा:

२००९ साउनमा मातृकाप्रसाद कोइरालाको मन्त्रिपरिषद् आठ महिना नपुग्दै विघटन भएपछि एक महिनाको लामो छलफलले पनि कुनै पार्टीको अर्को सरकार बन्न सकेन । त्यसपछि राजा त्रिभुवनले २००९ साउन ३० गते अतिरथी केशरशमशेर राणाको अध्यक्षतामा ६ सदस्यीय शाही परामर्श दातृसमिति गठन गरेका थिए । अतिरथी राणाले २०१० साल असार ४ गतेसम्म मन्त्रिपरिषद्को सट्टामा काम गरेको शाही परामर्श दातृ समितिको नेतृत्व गरेका थिए ।

सरदार गुञ्जमान सिंहः

राष्ट्रिय प्रजा पार्टी र प्रजापरिषद्को संयुक्त सरकार विघटन भएपछि डेढ महिनासम्म देशमा नयाँ सरकार गठन हुन सकेन । अन्तत: राजा महेन्द्रले २०१२ वैशाख १ गते सरदार गुञ्जमान सिंहको अध्यक्षतामा पाँच सदस्यीय शाही सल्लाहकार परिषद् गठन गरे । सरदार गुञ्जमान सिंहले २०१२ माघ १३ गतेसम्म मन्त्रिपरिषद्को सट्टामा काम गरेको शाही सल्लाहकार परिषद्को नेतृत्व गरेका थिए ।

गेहेन्द्रबहादुर राजभण्डारीः

प्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा भाग लिन २०२६ साल चैत्र ३० गते आफ्नो पदबाट राजीनामा गरेपछि मन्त्रिपरिषद् विघटन भयो । नेपाल-चीन सीमामा रहेका १८ वटा सैनिक चेक पोस्ट सफलतापूर्वक हटाएका विष्टदेखि राजा निकै खुसी थिए । राजाले राजीनामा स्वीकृत गर्ने बेला विष्टलाई आश्वासन दिएका थिए- ‘फेरि रापंस चुनिएर आयौ भने तिमीलाई नै पुन: प्रधानमन्त्री बनाऊँला ।’

त्यसपछि राजा महेन्द्रले २०२६ चैत्त ३१ गते कसैलाई पनि प्रधानमन्त्री नबनाईकन नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरे । सो मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री (फस्ट मिनिस्टर) गेहेन्द्रबहादुर राजभण्डारीलाई नियुक्त गरिएको थियो । उनले २०२८ वैशाख १ गतेसम्म मन्त्रिपरिषद्को अध्यक्षता गरेका थिए ।

स्रोतः खगेन्द्र गिरी ‘कोपिला’



प्रतिक्रिया दिनुहोस्