Logo

म पूर्वराजा ज्ञानेन्द्रलाई राजा बनाउनुपर्छ भन्ने पक्षमा छैन, र भन्नेवाला पनि छैन : पूर्व प्रधानसेनापति कटवाल (भिडिओसहित)



काठमाडौं, १५ असार । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बनाउनुपर्छ भनेर कहिल्यै नभनेको स्पष्ट पारेका छन् । र, भोलिका दिनमा पनि भन्नेवाला नभएको उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू कसैको पनि ईशारा र ईच्छाअनुसार नचल्ने दाबी गरे । बरु, आफूले नेपाल र नेपालीको हितबारे सोच्ने गरेको पनि उनको भनाई छ । उनले निर्वाचनले मात्रै मुलुकले निकास पाउने दाबी गरे । उनले भने,‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाव गरानुपर्छ । नेपालमा चिनिएका मान्छेहरु हुनुहुन्छ ।’ उनले आगामी चुनावपछि नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए । उनले नेपालको विश्व जगतमा शीर गिरेको पनि गुनासो पोखे । नेपालमा अहिले कुर्सीको लागि रातदिन मारामार भैरहेको भन्दै कटवालको गुनासो छ ।

कटवालले अहिलेको संकटको मूल कारण नेपालको संविधान २०७२ रहेको बताएका छन् । उनले भने-“यो संविधान चाहीँ किन सारा समस्याको मूल कारण हो भने यो संविधान चाहीँ नेपाल र नेपालीको लागि र नेपालीको ईच्छाअनुसार बनेको होईन । म यो संविधान फाल्नैपर्छ भनेर म भन्दिन् । तर, यो संविधानमा मेजर एमेडमेन्ट गर्नुपर्छ । जुन यो देशको क्षमताले धान्न सक्दैनन्, त्यस्ता चिजहरु चाहीँ एमेडमेन्ट गर्नुपर्छ । जस्तै यो देशले धान्न नसक्ने एउटा त संघीयता हो । यो देशले चाहेको पनि होईन । खाजेको पनि होईन् । अर्को, धर्मनिरपेक्षतापनि हो । यो देशले चाहेको पनि होईन् । संघीयता हाम्रो देशको लागि अभिषाप भयो । अहिले हेरौं न, संघीयताले यो देशमा के-के फाईदा भयो त ?” उनले आफूलाई मन्त्री बनाईदेउ भनेर कहीँपनि नगएको स्पष्ट पारेका छन् । उनले अहिलेको अवस्थामा कुनै पनि नेताको घरमा धाउन नगएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम