Logo

सुस्वास्थ्यका लागि प्राणायाम



योगका अङ्कहरूमध्ये क्रमान्तरले आसन पछि प्राणायाम आउँछ । त्यसैले आसन सिद्ध भएपछि श्वासप्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रित गर्नुलाई प्राणायाम भनिन्छ । प्राणायाम शब्दलाई केलाउँदा समेत यसको व्युत्पत्ति प्राणस्य आयामः अर्थात् प्राणको नियन्त्रण नै प्राणायाम हो भन्ने हुन्छ । वास्तविक रूपमा प्राण एउटै भए पनि शरीरगत स्थानभेदले एउटै प्राण प्राण, अपान, उदान, समान र व्यान नामले चिनिन्छः—

ह्दि प्राणौ गुदेद्रपानः समानौ नाभिमण्डले ।
उदानः कण्डदेशे स्यात् व्यानः सर्वशरीरगः ।।

प्राणः— शरीरमा घाँटीदेखि मुटुसम्मको भागमा जुन वायुले काम गर्छ त्यसलाई प्राण भनिन्छ ।
अपानः— नाभिदेखि लिएर खुट्टाको बुढीऔँलासम्म जुन प्राण गतिशील हुन्छ, त्यसलाई अपान भनिन्छ ।
समानः— मुटुदेखि नाभिसम्म क्रियाशील प्राणवायुलाई समान भनिन्छ ।
उदानः— घाँटीदेखि माथि टाउकोमा रहने प्राणवायुलाई उदान भनिन्छ ।
व्यानः— शरीरका सम्पूर्ण तन्तु, जोर्नी, मांसपेसी तथा नाडीलाई समेत क्रियाशील गराई उर्जा प्रदान गर्ने वायुलाई व्यान भनिन्छ ।

यी सम्पूर्ण प्राणहरू बाहिर निक्लने एउटै द्वार भनेको नाकेओडार हो । यसरी नाके ओडारबाट श्वासप्रश्वासको गति चलिरहँदा भित्रबाट आएको श्वासबाट शरीरजन्य विभिन्न विकार, कुण्ठा, वासनालाई बाहिर निकाली स्वच्छ प्रकृतिबाट स्वच्छ र सफा वायुलाई व्यवस्थित गर्दै श्वासप्रश्वासका माध्यमले शरीरगत आन्तरिक जगत्मा प्रवेश गरेर  योगीलाई त्यहाँको परमानन्दको दीव्य झलकको अनुभव गराउनु नै प्राणायामको मुख्य उद्देश्य रहेको देखिन्छ ।

प्राण भनेको यो पाञ्चभौतिक शरीरको संरक्षक हो, जसले चौबिसै घण्टा यो शरीरलाई जीवित तुल्याउँछ । त्यसैले शरीरको जीवन मरणको सम्बन्ध केवल प्राणसँग हुन्छ । शरीरका हरेक प्रतिक्रिया र अङ्कको सम्बन्ध प्राणसँग हुन्छ । विभिन्न आसनद्वारा स्थुल शरीरका अनेकन् विकृति र पिडाहरूलाई हटाउन सकिन्छ तर वासना, इच्छादिजन्य जुन सूक्ष्म शरीर हुन्छ त्यसका वासना, कण्ठा, अविद्या र दुःखरूपि जुन अन्धकार छ, त्यसमा प्रकाश छर्ने काम केवल प्राणायाम रूपि सूर्यले गर्छ । प्राणायामले अन्तःकरणको वृत्तिहरूलाई विस्तारै क्षीण गराउन सहयोग गर्दछ र सच्चिदानन्द स्वरूप तत्त्वतर्फ उत्प्रेरित गरिरहन्छ । श्वासप्रश्वासका माध्यमले फोक्सोमा भरिएको श्वासले भित्र पुगेर शरीरलाई अक्सिजन प्रदान गर्दछ । विभिन्न ग्यासहरूलाई बाहिर निकाल्छ । यो प्रकृयाको समुचित निरन्तरताले फोक्सो बलियो हुन्छ र शुद्ध रक्तसञ्चारको प्रकृयाले निरन्तरता पाउँछ ।

सामान्यतया मानवीय फोक्सोमा करिब सात करोड प्वालहरू हुने गर्दछन् । सामान्य श्वासप्रश्वासको प्रकृयामा करिब २ करोड प्वालहरूमा श्वास पुग्दैन र ती प्वालहरू निष्क्रिय हुन्छन् जसले गर्दा मानिसहरू क्षयरोग, खोकी जस्ता खतरनाक रोगहरूको सिकार भैरहेका छन् । जसको एउटै मात्र समाधानको उपाय प्राणायाम हो । प्राणायाम प्रकृयामा श्वासप्रश्वासको गतिसँगै फोक्सोमार्फत् सम्पूर्ण शरीरभरी नयाँ तथा स्वच्छ वायु सञ्चार हुने भएकोले प्राणायाम गर्ने मानिस सधैँ फुर्तिलो, सक्रिय र निरोगी हुन्छ । मानवीय मनका उद्वेग, काम, क्रोध जस्ता विकारहरूलाई बाहिर निकालेर मनको विरेचन गरी परम शान्ति तथा परमानन्दको अनुभूति गराउने अद्वितीय तत्त्व भनेको प्राणायाम नै हो ।

तात्स्थ्य प्रकृतिमा जन्मिएका औषधीमूलक बोटविरुवा तथा विषादियुक्त पदार्थको र प्राकृतिक स्वच्छता, सुन्दरता र शुद्धताको सकारात्मक तथा नकारात्मक प्रभाव प्राणायामको प्रकृयाबाट सम्पूर्ण शरीरमा सञ्चरण हुने भएकोले शुद्ध, स्वच्छ र सुन्दर प्रकृतिमा बसेर प्राणायाम गर्नाले जीवनमा प्रज्ञा, मेधा, सुख, शान्ति र सन्तोष प्राप्त भई मानिसले खोजेको वास्तविक सुख हात पर्छ । योगले शारीरिस, वैचारिक, मानसिक पीडा, कुण्ठा र उद्वेगहरूलाई निर्मूल पार्दै परं तत्त्वमार्गी बनाउँछ । विभिन्न रोग, पीडा र उद्वेगहरूका शान्तिका लागि प्राणायामका विभिन्न प्रकारहरू बताइएका छन् । त्यसमध्ये मुख्य प्रकारहरू निम्न छन्ः—

१. भस्त्रिका प्राणायाम,
२. कपालभाती प्राणायाम,
३. बाह्य प्राणायाम,
४. अनुलोमविलोम प्राणायाम,
५. भ्रामरी प्राणायाम,
६. ॐकार जप ।

१. भस्त्रिका प्राणायामः— सिद्धासन, पद्मासन वा कुनै पनि एउटा ध्यानको आसनमा आफूलाई सुविधा हुने तरिकाले बसेर दुवै नाके ओडारबाट भित्र डायफ्रमसम्म पूरा शक्ति लगाएर श्वासलाई जोडसँग तान्ने र तदनुसार विशेष धक्काका साथ बाहिर निकाल्ने प्रकृयालाई भस्त्रिका प्राणायाम भनिन्छ । यस प्रकृयालाई तीनदेखि पाँच मिनेटसम्म गर्नाले रुघा, खोकी, दम, एलर्जी र अन्य श्वाससम्बन्धी रोगहरू निर्मूल हुन्छन् ।

२. कपालभाती प्राणायामः— कपालभाती ‘कपाल + भाती’ यस संरचनामा कपाल शब्दको अर्थ मस्तिष्क र भाती शब्दको अर्थ तेज, आभा वा प्रकाश भन्ने हुन्छ । समग्रमा मस्तिष्कमा आभा, ओज तथा कान्ति बढाउने तथा मस्तिष्कको पुनर्ताजकीकरण गर्ने श्वासप्रश्वासको प्रकृयालाई कपालभाती प्राणायाम भनिन्छ । यो प्राणायामको विधि भस्त्रिका भन्दा केही फरक छ । भस्त्रिकामा रेचक (श्वास तान्ने प्रकृया) र पूरक (श्वास छोड्ने प्रकृया) मा समान रूपले श्वासप्रश्वासमा दबाव दिइन्छ तर कपालभातीमा भने श्वासलाई शक्तिपूर्वक बाहिर फाल्न तल्लिन हुनुपर्दछ । श्वास लिने प्रकृयालाई महत्व दिइँदैन । यस प्राणायामलाई कम्तिमा पाँच मिनेटसम्म गर्नाले मस्तिष्कको पुनर्ताजकीकरण साथै अनुहारमा ओज तथा सौन्दर्य बढ्छ । मुटु र फोक्सो सम्बन्धी सबै समस्या निराकरणका साथै कब्जियत, मोटोपन जस्ता रोगहरूबाट समेत छुटकारा मिल्छ ।

३. बाह्य प्राणायामः— यस प्राणायाम अन्तर्गत विधिपूर्वक आफ्नो फाइदा अनुसारको आसनमा बसी श्वासलाई सकेसम्म एकै पटकमा बाहिर निकाल्नुपर्छ र सम्पूर्ण बन्धहरू (मूलबन्ध, उट्ठियानबन्ध, जालन्धरबन्ध) लगाएर श्वासलाई सकेसम्म बाहिरै रोक्नुपर्छ र श्वास लिने इच्छा भएपछि बन्धहरूलाई हटाँदै विस्तारै श्वास लिनुपर्दछ । भित्र लिएको श्वासलाई नरोकिकनै पहिला जस्तै बाहिर निकाल्नुपर्छ । यस प्राणायामलाई कम्तिमा तीनदेखि बढिमा २१ पटकसम्म गर्न सकिन्छ । जसले मनको चञ्चलता घटाउँछ । यस प्राणायामले पेटका हरेक भागहरूमा बल पुग्ने भएकाले पेटका कमजोर भागहरूको दुखाइमा नियन्त्रण गरी पेटलाई आरोग्यता प्रदान गर्दछ ।

४. अनुलोमविलोम प्राणायामः— अनुलोम विलोम प्राणायाम भनेको नाकको बायाँ प्वालबाट श्वास लिएर दायाँ प्वालबाट बाहिर छोड्ने तथा दायाँ प्वालबाट लिएर बायाँ प्वालबाट छोड्ने प्रकृया हो । बुढि औँलाले नाकको दायाँ प्वाललाई बन्द गरेर वायाँ प्वालबाट विस्तारै श्वास लिनुपर्दछ र भित्र श्वास पूरा भरिएपछि बीचको औँलाले बायाँ प्वाललाई थुनेर दायाँ प्वालबाट पूरा श्वासलाई बाहिर फल्ने गरिन्छ । यस प्रकृयालाई लगभग १ मिनेटसम्म दोहोर्याइ रहनाले शरीरमा थकाइको महसुस हुने भएकाले बीचमा आराम गर्दै यस प्रकृयालाई तीन मिनेटदेखि १० मिनेटसम्म दोहोर्याउन सकिन्छ । यस प्राणायामले मुटुका धमनीहरूमा आएको अवरोधलाई हटाउनुका साथै शरीरलाई पूर्ण स्वस्थ र कान्तिमय तथा बलियो बनाउँछ ।

५. भ्रामरी प्राणायामः— भ्रामरी प्राणायाम भनेको भमराको जस्तै आवाज निकालेर श्वासलाई बाहिर छोड्ने प्रकृया हो । जसमा फाइदाजनक आसनमा बसी श्वासलाई पूरा भित्र भरिन्छ । त्यसपछि बीचको औँलाले नाकको मूलमा आँखाको छेउबाट दुवैतर्फ हल्का दबाब दिँदै बुढि औँलाले दुवै कानलाई पूरा बन्द गरेर मनलाई आज्ञा चक्रमा केन्द्रित गर्दै भमराको जस्तै आवाज निकालेर ठूलो श्वरमा ॐकारको उच्चारण गर्दै श्वासलाई बाहिर निकालिन्छ । यस प्राणायामलाई तीन पटक अवश्य गर्नुपर्दछ भने बढीमा ११ देखि २१ पटकसम्म दोहोर्याउन सकिन्छ जसबाट मानसिक तनाव, उत्तेजना र उद्वेग कम भई मुटुमा समेत फाईदा पुग्छ ।

६. ॐकार जपः— ॐकार भनेको कुनै व्यक्ति वा आकृति नभएर एउटा दिव्य शक्ति हो जसले यो सम्पूर्ण चराचर जगत्को सञ्चालन तथा संरक्षण गरिरहेको छ । त्यही परमात्मा परमेश्वरको स्मरण नै ॐकार जप प्राणायाम हो । जस अन्तर्गत सुखासनमा बसेर सुरुमा श्वास भित्र भर्नुपर्दछ र मन्द गतिमा श्वासलाई बाहिर निकाल्दै आफ्नो शरीरलाई ॐकारमय बनाउनु पर्छ । यो प्राणायामले आफ्नो वास्तविक स्वरूपको भान गराई त्यसतर्फ धकेल्न विशेष सहयोग पुर्याउँछ । यस प्रकृयामा प्रणवको साथसाथै वेदहरूका मन्त्रहरूको समेत अर्थपूर्ण जप गर्न सकिन्छ । यस प्रकारको ध्यान वा जप गर्दागर्दै सच्चिदानन्द स्वरूप ब्रह्मको स्वरूपमा समाहित हुँदै साधकले समाधिको अनुपम दिव्य आनन्दलाई प्राप्त गर्न सक्दछ ।

नवराज घिमिरे

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम