Logo

कञ्चनपुरमा सुकुम्बासी जग्गाको नापजाँच एवम् अभिलेखीकरण गरिँदै



—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, १५ असार : भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ ।

जग्गाधनी लालपूर्जा वितरणका लागि आयोग र यहाँका स्थानीय तहबीच भएको सहमति अनुसार कृष्णपुर नगरपालिकाले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवम् अभिलेखिकरण कामको शुरुवात गरेको छ ।

नगरप्रमुख कर्णबहादुर हमालले अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षणका लागि जग्गा नापजाँच एवम् अभिलेखीकरण कामको सोमबार कार्यालय परिसरमै जिपिएस प्वाइन्ट राख्ने कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले जग्गा नापजाँच एवम् अभिलेखीकरण कार्यले पाँच दशक अघिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । “भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउन पाउँदा निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “तीन पुस्तासम्म चलन भोग गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन् । यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता छ ।”

अयोगका जिल्ला अध्यक्ष कमला बोहराले गैर सुकुम्बासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “कार्यविधि अनुसार नै सबै काम अगाडि बढाउछौं”, उहाँले भन्नुभयो, “कार्यविधि विपरित कार्य गर्नेलाई दण्डित पनि गर्छौ । जसको अधिकार क्षेत्र भित्र जग्गा छ, त्यसैले पाउँछ ।”

तत्कालीन जिल्ला विकास समितिका पूर्वउपसभापति राजेन्द्र सिंह रावलले वर्षौदेखि वन क्षेत्रमा छाप्रो हालेर बस्दै आएका परिवारले जग्गा पाउन थालेकोमा खुशी व्यक्त गर्दै लालपूर्जा पाइसकेपछि उनीहरु वास्तविक रुपमा जग्गाको मालिक बन्ने बताउनुभयो । कृष्णपुरका पूर्वगाविस अध्यक्ष जयराज पाण्डेयले जग्गासँग जनताको भावना, आवश्यकता र हक जोडिएकाले विगतका आयोगको जस्तो त्रुटी नगरी सबैले जग्गाको स्वामित्व पाउने गरी जग्गा नाप जाँच गरेर जग्गा धनीपूर्जा वितरण गर्नुपर्ने बताउनुभयो ।

भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी लालपूर्जा वितरणका लागि आयोग र यहाँका स्थानीय तहबीच गत कात्तिक २७ गते सम्झौता भएको थियो । जिल्लामा नौ स्थानीय तह रहेका छन् । आयोगले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत लिने कार्य सकेपछि जग्गा जाँच अघि बढाएको हो । यो कार्य जिल्लाका सबै स्थानीय तहमा गरिने छ । लगत लिइने कार्यका लागि अनुसूचि २ आयोगको जिल्लास्थित कार्यालयबाट, भूमिहीन, दलित र सुकुम्बासीका लागि अनुसूचि ३ र अव्यवस्थित बसोवासीका लागि अनुसूचि ४ फारम स्थानीय तहबाट भर्ने कार्य गरिएको छ ।

कृष्णपुर नगरपालिकामा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको सङ्ख्या १५ हजार ३०४ जना रहेको बताइएको छ । तीमध्ये भूमिहीन दलित ५७, सुकुम्बासी १३६ र अव्यवस्थित बसोवासी १४ हजार ९५५ जना रहेका छन् । उनीहरुमध्ये एक हजार ७११ जनाको लगत कम्युटरमा प्रविष्ट गरिएको छ । लगतलाई कम्प्युटरमा प्रविष्ट गर्नका लागि छ कर्मचारीलाई नगरपालिकाले खटाएको छ । नगरपालिकामा जग्गा सम्बन्धी काम गर्नका लागि आयोगको केन्द्रीय कार्यालयबाट दुई सर्भेक्षक र दुई अमिनलाई खटाइएको छ । नगरपालिकाले पनि थप दुई सर्भेक्षक र दुई अमिनका लागि दरखास्त आव्हान गरी छनौट गरेको छ । एक÷दुई दिन भित्रै नियुक्ति पत्र दिई चारै जनालाई जग्गा नाप जाँचका लागि खटाइने नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताउनुभयो ।

जग्गा नापजाँच कार्यलाई अघि बढाउनका लागि आयोगको केन्द्रीय कार्यालयबाट ९ वटै स्थानीय तहमा दुई÷दुई सर्भेक्षक र दुई÷दुई अमिनलाई खटाइएको छ । कञ्चनपुरमा हालसम्म तीन हजार एक सय ५१ जना भूमिहीन दलित र सुकुम्बासीले बसोवासका लागि फाराम भरेका छन । यसैगरी ४९ हजार २४ अव्यवस्थीत बसोवासी र आयोगको जिल्लास्थित कार्यालयबाट छ हजार चार सय १७ जना जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्