Logo

निधिको अस्त्रले पौडेल समूह विभाजित, देउवालाई फाइदा



काठमाडौं, १५ असार । नेपाली काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र फुट देखिएको छ । उक्त समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्यासँगै फुटको अवस्था देखिएको हो ।

१३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये ५ जना सभापतिका मुख्य दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका अलावा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला दाबेदार देखिएका हुन् ।

भदौंमा तय भएको महाधिवेशन नजिकिदै गर्दा पौडेललाई एक्ल्याउने रणनीतिहरु बन्दै गएका छन् । १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिममा रहेका विमलेन्द्र निधिले चालेको अस्त्रले पौडेल एक्लिने अवस्था बनेको हो । निधिले सशांक कोइराला र प्रकाशमान सिंहलाई पौडेलबाट अलग्गाउने सफलता हासिल गर्दै गएका छन् ।

निधि, कोइराला र सिंह मिलेर काँग्रेसको भावी नेतृत्वका लागि अगाडि बढ्ने तयारी भइरहेको छ । यसले पौडेल सशंकित भएका छन् । उनले पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गरेर अगाडि बढ्न खोजेका छन् । त्यसमा सुजाता कोइरालालाई पनि साथमा लिन खोजेका छन् । सुजाताको निवासमा सोमबार पौडेल र सिटौला बसेर सहमतिका लागि छलफल गरी सन्देश समेत दिएका छन् ।

काँग्रेसभित्र निधिले सभापतिको दाबी गर्दै कोइराला र सिंहसँग सहकार्य गर्न खोजिरहँदा पौडेल समूहमा भने फुट देखिएको छ । उक्त समूहका स्पष्ट रुपमा धेरै समूह विकास भएको छ । समूहहरुमा पनि महाधिवेशन पूर्वको गठबन्धनहरु विकास भइरहेका छन् । सशांक कोइराला र प्रकाशमान सिंह नजिकिदै गएका छन् ।

पौडेल आफै अरु नेता मिलाएर बढ्न खोजेका छन् । डा.शेखर कोइराला पनि सभापतिको दौडमा छन् । सुजाता कोइराला पनि सभापतिको आकांक्षी हुन् । अहिलेसम्मको घटनाक्रमले सशांक कोइराला र प्रकाशमान नजिकिएको, रामचन्द्र पौडेल र सुजाता कोइराला नजिकिएको देखिएको छ । शेखर कोइराला आफ्नै टिम बनाइरहेका छन् । यसले अन्तत्वगत्वा देउवालाई नै फाइदा हुने देखिदैछ ।

देउवाको समूहबाट निधि मात्र टाढिएको देखिन्छ । अन्य नेताहरु भने गुट छाडिहाल्ने अवस्थामा देखिएका छैनन् । पौडेलको समूहमा भने समस्या बढ्दै गएको छ ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि गुट जोगाउन मुश्किल पर्दै गएको छ । १३औं महाधिवेशनमा उनको टिममा रहेका गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायत नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ बढ्न थालेका छन् । उनीहरु महाधिवेशन नजिकिदै गर्दा फरक समूहसँग नजिकिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्