Logo

महानगरले निःशुल्क खाना बनाउने स्थान भत्काएकोमा हाम्रो टिम नेपालको आपत्ति, खाना पकाउने सामाग्री फिर्ता गर्न माग



काठमाडौं, १५ असार । ‘हाम्रो टिम नेपाल’ ले संचालन गर्दै आएको निःशुल्क खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले बलपुर्वक भत्काएकोमा आपत्ति जनाएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हाम्रो टिमले महानगरले गरेको व्यवहारको भत्सर्ना गर्दै जफत गरिएको खाना पकाउने सम्पुर्ण सामाग्री फिर्ता गर्न आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले काठमाडौं महानगरले अमानवीय व्यवहार गरेको आरोप लगाए । उनले दुःखी, गरिब, अशक्तमाथि अन्याय गरेको बताए । उनले भने,‘हामीले लकडाउन भरी नगरपालिका भित्र मजदुरी गर्दै आएका मजदुरहरुलाई सेवा गछौ भन्दा पनि दिइएन ।’ अध्यक्ष पन्तले महानगरले शक्ति प्रयोग गरेर २५ लाख बराबरको सम्पत्ति तोडफोड गरेको जिकिर गरे । ६० बोरा चामल, १० बोरा दाल, २५० जोर सिरक/डसना, ५० जार पानी, ३५ अक्सिजन सिलिन्डर, खाना बनाउने/खुवाउने सम्पुर्ण भाडाकुँडा, संस्थाका सम्पुर्ण डकुमेन्ट प्रमाणपत्रहरु तोडफोड गरिएको भन्दै सम्पुर्ण सामान फिर्ता गर्न माग गरे । उनले हालसम्म सबै सामान लगेको कुनै पनि जानकारी नआएको समेत गुनासो गरे ।

कार्यक्रममा टिमका सचिव सचिव लक्ष्मणसिंह धामीले महानगरको व्यवहारले साह्रै दुःखी बनाएको बताए । उनले भने,‘खाना नपाउनेहरुको पीडाबाट झन मर्माहत भएका छौ ।’ उनले सरकारको सहयोगी भूमिकामा काम गरिरहेको हाम्रो टिम नेपालमाथिको हमला नियोजित रहेको आरोप समेत लगाए ।

सिंहले सामाजिक अभियान एक÷दुई जनाको अभिष्ट पुरा गर्न रोक लगाउने कुराले कहिल्यै नरोकिने पनि चेतावनी दिए । उनले महानगरपालिकाकै जिम्मेवार वडाले अनुमति दिएको ठाउँबाट सेवा दिएको समयमा पनि धरपकड र कुटपिट हुँदा दुःख लागेको गुनासो पोखे ।

हाम्रो टिम नेपालकी सदस्य सपना मगरले नेपाल सरकारले प्रहरी लगाएर गरिएको कुटपिट र धरपकडबाट स्वयंसेवकहरु घाइते भएको बताइन् । मगरले यो अभियानबाट आगलागी पीडित, बाढी पीडित, दुःखी गरिबलाई खाना खुवाउदै आएको सामान सकुशल फिर्ता गर्न माग गरिन् ।

संस्थाले २०७६ चैत्रबाट कोरोनाको कहर लकडाउन सुरु भएसँगै रोजी रोटी गुमाएर सडकमा आउन बाध्य भई भोकभोकै ज्यान गुमाउनेहरुको संख्या बढ्दै जादाँ निःशुल्क खाना खुवाउने, कपडा बैंक खोलेर निशुल्क कपडा व्यवस्था गर्दै आएको छ । संस्थाले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट निशुल्क खाना खुवाउदै आएको हो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हाम्रो टिम नेपालले पवित्र काम गरेको बताए । राज्य, महानगर तथा सरकारले गर्नुपर्ने धेरै ठुलो मात्रामा मानवीयता सहायता हाम्रो टिमले गरेको उल्लेख उनको भनाई छ ।

‘सरकारले महिनौँदेखि लकडाउन गरेको छ, सारा मानिसलाई घरभित्र थुनिँदा अहिले बेसहारा, दैनिक मजदुरी गर्नेहरुको जिविका खोसिएको छ ।’–अधिवक्ता त्रिपाठीले भने,‘उनीहरुको कुनै माध्यम छैन् । त्यस्ता समुदायहरुलाई खाना खुवाउनेहरुलाई पनि यस्तो व्यवहार गर्न मिल्छ ?’

 



प्रतिक्रिया दिनुहोस्