Logo

हामी राष्ट्रिय सहमतिको सरकार पनि बनाउन तयार छौं : प्रदीप ज्ञवाली



नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बारम्बार यो कुरा भनेको उल्लेख गरे । अहिले नेपालमा राजनीतिलाई स्वभाविक दिशा र गतिमा बग्न नदिईएको उनको गुनासो छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विपक्षी गठबन्धनले त ओलीले गराउने निर्वाचनमा नजाने बरु आफ्नै नेतृत्वमा चुनाव गराउने भनेको छ नि भनेर सोधेको प्रश्नमा भनेका छन्-“त्यसो भए त सिधै भने भयो त–हामी आफ्नो नेतृत्वमा गराएको चुनावमा मात्रै जान्छौँ । अरुले गराएको चुनावमा जाँदैनौँ भनेर भन्नुपर्यो नि त । किन लुकाउनु हुन्छ ? उहाँहरुले यी सबै कुराहरु किन लुकाउनु भएको त ? उहाँहरुले लोकतन्त्रको रक्षाको लागि अनि अग्रगमनको लागि भनेर किन भनिरहनुपर्यो ? संविधानको रक्षाका लागि किन भनिरहनुपर्यो ? प्रधानमन्त्रीज्युले त सार्वजनिक रुपमा नै बारम्बार भनिरहनुभएको छ कि निर्वाचनबाहेक विकल्प छैन । तपाईँहरु निर्वाचनको निश्पक्षतामाथि शंका छ भने आउनुहोस् ।” प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश :

हाम्रो देशमा अहिले नेताहरुको बीचमा झगडा छ । पोल खोलाखोल छ । हिजो प्रधानमन्त्रीले माधवकुमार नेपाललाई मैले प्रधानमन्त्री बन्नकोलागि सिफारिस गरेको छैन भन्नुभयो । उहाँले त माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्नको लागि आफूलाई बौलाहा कुुकुरले टोकेको छ र समेत भन्नुभयो ? यसलाई कसरी लिनुभएको छ ?

बास्तवमा नेकपा एमालेका नेताहरुका व्यबहारका कारण एउटा समस्याबाटै हामी गुज्रिएका छौँ । तपाईँले भन्नुभएको ठिक हो । कस्तो लेखियो भने फागुन २३ को फैसला पछि नेकपा एमाले जसरी एकताबद्ध भएर अगाडि बढ्नसक्थ्यो, पूनःस्थापित संसद् भित्रपनि हामीले जसरी रोल खेल्नसक्थ्यौं, नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई पुरा अवधि चलाएर मुलुकलाई एउटा सही दिशातिर लैजान सक्थ्यौं । । कतिपय नेताहरुका क्रियाकलापका कारणले यो सम्भावना कमजोर बन्यो । उहाँहरु कहिले कर्णालीमा फ्लोर क्रस गराउने, कहिले बाग्मतीको राष्ट्रियसभाको चुनावमा बागी उम्मेद्धवार उठाएर आधिकारिक उम्मेद्धवारलाई हराउने, लम्बिनिमा काँग्रेसका उम्मेदवारलाई बोकेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने अहिले पछिल्लो समय आफ्नो पार्टीको नेतृत्वको सरकारलाई अपदस्त गरेर प्रमुख विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन जुन ढंगले लागिरहनुभएको छ, त्यसले एकतामाथि गम्भीर प्रश्न गम्भीर चूनौति खडा गरेको छ नै । यति हुँदाहुँदै पनि हामीले प्रयत्न अन्तिम समयसम्म जारी राखेका छौँ । भोली महाअधिवेशन आयोजक कमिटीको बैठक पनि त्यसै प्रयोजनका लागि बोलाईएको छ । अब स्वभाविक छ की ताली त एक हातले त बज्दैन् । हामीले त ताली बजाउनका निम्ति स्वभाविक रुपमा हात अघि बढाएकै छौँ ।

तपाईँहरुले हात अगाडि बढाउनुभयो, तर माधवकुमार नेपालको भनाई के छ भने केपी ओली भनेको तानाशाह हो, निरंकुश हो, केपी ओलीले बोलेको कुरामा कुनै विस्वास छैन, ओली भनेको मर्यादाहीन छ, यस्तो नेतासंग मैले कसरी एकता गर्ने ? अब कसरी एकता होला त ?

म यो वादविवादमा जान चाहन्नँ । उहाँहरुले नेपाली काँग्रेसलगायतका दलहरुसंगको सहकार्यमा कस्ता अभिव्यक्तिहरु दिनुभएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका विरुद्ध, अन्य पार्टी नेताहरुका विरुद्ध अभिव्यक्ति दिनुभएको छ । अहिले केपी ओलीको वर्तमान सरकारलाई सर्मथन गर्ने साथीहरुका विरुद्ध ती रेकर्डहरु पल्टायो भनेदेखि यी सबै प्रष्ट हुन्छन् । त्यसैले म त्यो विवादमा अल्झिन चाहन्नँ । मेरो प्रश्न के हो भनेदेखि कुनै पनि राजनीतिक दलहरुमा खासगरी कम्युनिष्ट पार्टीको त कुरै छोडिदिनुहोस्, ईभन राप्रपामा समेत जसलाई हामीले हिजोको अनुदार वर्गको पार्टी भनेर भन्थ्यौँ, आफ्नो पार्टीको सरकार ढलाएर प्रमुख विपक्षी जसका विरुद्ध जीवनभर संघर्ष गर्नुभएको उसैलाई प्रधानमन्त्री बनाउन हिँडेको नेपालको ईतिहाँसमा कहीँ कतै देख्नुभएको छ ? २०५२ सालपछि राप्रपामा त्यो प्रवृत्ति देखिएको थियो । त्यो प्रवृति कस्तो थियो भन्नुहुन्छ भने एकथरी साथीहरुले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउने, अर्को थरी साथीहरुले सुर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने । तर आफ्नै पार्टीका नेताहरु दुई वटामध्ये एकजनालाई बनाउने भनेर हिड्नुभएको थियो । अलि अलि हिजो नेकपा एमालेमा पनि त्यो समस्या देखिएको थियो । कोही माधवकुमार नेपाललाई कायम राख्ने, कोही झलनाथ खनाललाई बनाउने भनेर आफ्नो पार्टीको नेता यो कि त्यो भनेर रोज्ने त्यो हदसम्म कहिलेकाहीँ दलहरुभित्र यस्ता समस्या आउँछन भन्न सकिन्छ । तर, चुनाव लड्ने सुर्य चिन्हबाट, मत माग्ने नेकपा एमालेमा, जित्ने नेकपा एमालेको घोषणापत्रबाट अनि अहिले लोकतन्त्रको रक्षाको लागि काँग्रेसलाई प्रधानमन्त्री बनाउनुपर्यो भन्ने अनि कहिले के भन्ने ? राजनीतिमा यो तहको विकृति कहीँ खोजेर ल्याईदिनुहोस् न मलाई त्यसो भयो भने छलफल गर्न सजिलो हुन्छ । हामीलाई यो त मर्यादाका सबै सिमाहरु पार गरेको अवस्था भयो । त्यसैले सिर्जना भएको हो, अहिलेको अवस्था ।

तपाईँहरुले परिस्थितिको आँकलन गर्दा र पार्टीलाई एक बनाउनुपर्छ भनिरहँदा , हिजो प्रधानमनन्त्री ओलीले प्रष्ट रुपमा भन्नुभयो कि माधवकुमार नेपाल भनेको शेरबहादुर देउवाको पुच्छर हो । कार्यकर्ता बनेर जानुभयो, प्रचण्ड भनेको अवसरवादी हो, शेरबहादुर देउवाले त प्रचण्डपथलाई अंगिकार गर्नुभयो भन्नुभयो । यस्तो अवस्थामा अब कसरी माधवकुमार नेपालसंग एकता हुन्छ भन्ने प्रधानमन्त्रीको प्रश्न छ ? तपाईँहरु अझैपनि एकताको कुरा गर्नुहुन्छ, यो सम्भव छ ?

राजनीतिमा सम्भावनाका सबै ढोकालाई खुल्ला राखेर नै अगाडि बढ्नुपर्छ । समय गतिशील छ । मान्छेहरुपनि गतिशिल छन । घट्नाक्रम पनि गतिशिल हुन्छन् । त्यो गतिशिलताहरु भित्रैबाट राजनीतिलाई अगाडि बढाउने हो । त्यसो भएको हुनाले अहिले यो एकताको निम्ति प्रयत्न जारी राखेको हो । त्यसका निम्ति प्रयासहरु गरिरएको, त्यसको निम्ति औपचारिक तथा अनौपचारिक संवादमा बसिरहेको व्यक्ति हुनुको नाताले मैले तपाईँलाइ तपाईँमार्फत आम जनतालाई अहिलेका स्थितिहरुको बारेमा केही कुराहरु राख्न खोजेको हुँ । समस्या के भयो भने पुष ५ गते प्रतिनिधिसभा विघटन भयो । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको निर्णय सर्वोच्च अदालतले गर्यो । धेरैलाई के लागेको थियो भने पुनःस्थपित प्रतिनिधिसभाबाट समस्याको समाधान निश्किन्छ । तर, तीन महिनासम्म प्रतिनिधिसभा न त प्रधानमन्त्रीलाई विस्वासको मत दिन सक्ने, न त वैकल्पिक सरकार दिन सक्ने ? यस्तो एउटा अकर्म०यता र गतिहिनतामा हल न चलको अवस्थामा पुग्यो । यो त यथार्थ हो । तपाईँलाई थाहा नै छ । बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो । उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुभएन, उहाँ पदमुक्त हुनुभयो । त्यसपछि राष्ट्रपतिले तीन दिनको समय दिएर बैशाख ३० गते साँझ सम्माको लागि दुई वा दुईभन्दा बढि दल मिलेर आउ, सरकार बनाउ भनेर भन्नुभयो । कसैलेपनि सरकार बनाउनको निम्ति संख्या पुर्याउन सक्नुभएन । दाबी प्रस्तुत गर्न सक्नुभएन । यो अवस्थाभित्र मुलुकलाई निकास दिनको निम्ति एउटा ताजा जनादेशबाहेक अर्को कुनै बाटो देखिएन । यो प्रतिनिधिसभा यही रुपमा रहिरँहदा, राजनीतिक शक्तिहरुको समिकरण यही रुपमा रहिरहँदा र राजनीतिमा यस्ता खालका प्रवृत्तिहरु रहँदा यसले दिने परीणाम भनेको के मात्रै हो भने दलहरुभित्र थप संकट सिर्जना हुने हो । हिजो नेपाल कम्युनिष्ट पार्टी नेकपा यीनै कारणले विभाजित भयो । अहिले नेकपामा त्यो संकट छ । जनता समाजवादी पार्टीमा दुई चीरा देखापरेको छ । हँुदै जाँदा केन्द्रमा राष्ट्रिय जनमोर्चाको सांसद एक जनामात्रै हुनुहुन्छ । तर, प्रदेशमा समेत त्यसका बाछिटाहरु परे । गण्डकी प्रदेशमा त्यसका समस्याहरु देखा परे भनिसके पछि एउटा जनादेशले राम्रोसंग काम गरेन । त्यतिबेलाको जनादेश पुरानो भयो भने जनताको विचमा गएर समाधान खोजौँ, प्रधानमन्त्रीज्युले भनेको यत्ति हो । प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ भने लोकतन्त्रमा प्रधानमन्त्रीलाई दण्डीत गर्ने कसले ? जनताले होला नि त । अन्तिम फैसला सार्वभौम अधिकार त जनतामा होला नि । यो अहिलेको समस्या भनेको स्वभाविक रुपवाट जनताको ताजा जनादेशबाट समाधान गर्न नदिएर त्यो बाटोलाई जवरजस्ती अवरोध गर्न खोज्दा यो समस्या आएको हो ।

तपाईँले निर्वाचनबाट नै देशले निकास पाउनछ भनिरहँदा विपक्षी गठवन्धनको एउटा तर्क आएको छ कि संसद् पुनःस्थापना गराएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर मात्रै देश निर्वाचनमा जान्छ ?

त्यसो भए त सिधै भने भयो त–हामी आफ्नो नेतृत्वमा गराएको चुनावमा मात्रै जान्छौँ । अरुले गराएको चुनावमा जाँदैनौँ भनेर भन्नुपर्यो नि त । किन लुकाउनु हुन्छ ? उहाँहरुले यी सबै कुराहरु किन लुकाउनु भएको त ? उहाँहरुले लोकतन्त्रको रक्षाको लागि अनि अग्रगमनको लागि भनेर किन भनिरहनुपर्यो ? संविधानको रक्षाका लागि किन भनिरहनुपर्यो ? प्रधानमन्त्रीज्युले त सार्वजनिक रुपमा नै बारम्बार भनिरहनुभएको छ कि निर्वाचनबाहेक विकल्प छैन । तपाईँहरु निर्वाचनको निश्पक्षतामाथि शंका छ भने आउनुहोस् । सबै दल मिलेर चुनावी सरकार बनाऔं, त्यसको लागि हामी त खुल्ला छौँ । निर्वाचनको सुनिश्चितता कसरी गर्ने ? अनि निर्वाचन धाँधलीरहित र स्वच्छ कसरी बनाउने ? त्यसका लागि के के खालका आचारसंहिताहरु अनि कस्तो विधिहरु बनाउने बरु हामी सबै दलहरुसंग खुलेर छलफल गर्न तयार छौँ भन्नुभएको छ । तर, के छ भने राजनीतिलाई स्वभाविक लयमा बग्न दिनुहोस् । तपाईँले काठमाण्डौँका नदीहरु बाग्मती भन्नुहोस् या धोविखोला भन्नुहोस् जवरजस्ती थुनेर राख्नुभयो, अनि बाटोमा घर बनाउनु भयो , या त्यसमा कुनै संरचना बनाई दिनुभयो भने कुनै अवस्था ती संरचना भत्काएर बाढी आउँछ त, अथवा त्यसले त अरु नोक्सान गर्छ । अहिलेको अवस्था भनेको राजनीतिलाई स्वभाविक लयमा चल्न नदिनुको परीणाम हो । त्यो स्वभाविक किन भएन भन्नुहुन्छ भने हिजो चुनाव दुई वटा प्रवृत्तिको बीचमा भयो । हामी र माओवादी मिलेर एउटा वामगठवन्धनबाट चुनाव लड्यौँ । नेपाली काँग्रेस अर्को ढंगले लड्यो । नेपाली काँग्रेसले त्यतिवेला प्रत्यक्षबाट २३ सिट जित्यो । वामपन्थीहरुले ११६ सिट जिते । आज त्यो गठवन्धन भत्कियो । अहिले २३ सिट जितेको नेपाली काँग्रेसको नेतृत्वमा हिजो एउटा झण्डा, एउटा घोषणापत्रको आधारमा लडिएका साथीहरुले मोर्चा बनाएर हामी अग्रगमन गर्छौं भन्दै हुनुहुन्छ । राजनीति स्वभाविक लयमा बगिरहेको छ र ? राजनीतिलाई स्वभाविक बाटोमा हिँड्न दिईएको छ र ? त्यसकारणले आज यो समस्या उत्पन्न भएको हो ।

निर्वाचनको लागि सरकारले राष्ट्रिय सहमतिको सरकार पनि बनाउन सक्छ ? त्यो सम्भावना छ ?

त्यसका लागि हामी तयार छौँ । प्रधानमन्त्रीज्युले त्यसका लागि औँपचारिक रुपमा आह्वान गर्नुभएको छ । दलहरुको प्रतिनिधिसभाभित्र जे हैसियत छ, त्यो हैसियतको आधारमा आउनुहोस् । त्यसको बारेमा छलफल गरेर निर्वाचनको सुनिश्चितता हुन्छ भने हामी त्यो विषयमा खुल्ला छलफल गर्न तयार छौँ ।



प्रतिक्रिया दिनुहोस्