Logo

प्रदेश १ को बजेट अधिवेशन लम्बिने संकेत



विराटनगर, असार १६ । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूले मंगलवार समेत प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नुपर्ने माग राख्दै सोमवार पनि सभा अवरुद्ध पारेका थिए । दैनिक प्रदेशसभा बैठक प्रभावित भएपछि बजेट अधिवेशन लम्बिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने तटस्थ बसेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, नेकपा एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको र त्यो गैरसंसदीय तथा असंवैधानिक कार्य हुने भन्दै त्यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गर्दै माओवादी केन्द्रका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन् ।

मंगलवारको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध व्यक्त गरेपछि सभामुखले बैठक स्थगित गरे । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए । मन्त्रीको अभिव्यक्तिपछि अवरुद्ध भएको सदन सुचारु गर्न माओवादी केन्द्रसँगै अन्य प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको कार्कीले बताए ।

यद्यपि मुख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच सोमवार टेलिफोन संवाद हुँदा मुख्यमन्त्री राईले दुवै जनाले माफी मागेर बैठक सुचारु गर्नुपर्ने धारणा राखेपछि वार्ता फलदायी हुन सकेन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले मन्त्री र माओवादी केन्द्रका प्रदेश सदस्यबीच भएको विवादमा नेपाली कांग्रेस मौन बसेको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्