Logo

एकै दिन १९ करोडभन्दा बढीको दही विक्री



विराटनगर, असार १६ । असार १५ का दिन दहीचिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ र अन्य सहकारीलगायत अनौपचारिक क्षेत्रले असार १५ को अवसरमा एकै दिन कुल १९ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको १६ लाख ७१ हजार ४ सय लिटर दही विक्री गरेका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दिएको जानकारीअनुसार मंगलवार एकै दिन डेरी उद्योग संघले सबैभन्दा धेरै ८ करोड ५ लाख रुपैयाँको ७ लाख लिटर बराबर दही विक्री गरेको छ । देशभरका विभिन्न सहकारीलगायत अन्य अनौपचारिक क्षेत्रले ५ करोड ७५ लाख रुपैयाँ बराबरको करीब ५ लाख लिटर दही विक्री गरेका छन् ।

नेपाल डेरी एशोसिएशनले ४ करोड ७० लाख रुपैयाँ बराबरको कुल ४ लाख लिटर दही विक्री गरेको छ भने दुग्ध विकास संस्थानले पनि ८२ लाख ११ हजार रुपैयाँको ७१ हजार ४ सय लिटर दही विक्री गरेको छ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तले असार १५ मा उल्लेख्य रूपमा दहीको विक्री हुन नसकेको बताए । उनका अनुसार सामान्य अवस्थामा यो दिनमा देशभर करीब २५ लाख लिटरसम्म दही विक्री हुने गथ्र्यो । असार १५ लाई गाउँदेखि शहरसम्मका सबै नेपालीले दही चिउरा खाने दिनका रूपमा मनाउने प्रचलन रहेको छ ।

बोर्डका अनुसार महामारीका कारण अहिले दुग्ध विकास संस्थानको दहीको खपतमा १० प्रतिशतले कमी आएको छ भने निजीक्षेत्रको दही खपतमा पनि करीब ३५ प्रतिशतले कमी आएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्