Logo

कङ्गोमा नेपाली शान्ति सैनिकप्रति सकारात्मक भावना



काठमाडौँ, १६ असार: नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ । मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको बताइएको छ ।

जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ । पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ । पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्