Logo

यी हुन् एमालेको नवौं महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय सदस्य (नामावलीसहित)



काठमाडौं, १६ असार । नेकपा एमालेको २ जेठ २०७५ को केन्द्रीय कमिटी ब्युँतिएको छ । कमिटी ब्युँतिएपछि कुन पक्षमा को भन्ने चासो समेत बढेको छ ।
एमालेको वैकल्पिक, आमन्त्रित र पदेनसहित २०५ जना निर्वाचित केन्द्रीय सदस्य थिए । तीमध्ये केहीको निधन भइसकेको छ । अहिले २०३ जना निर्वाचित केन्द्रीय सदस्य छन् ।

नवौं महाधिवेशनमा शतप्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने विधानमा थियो । तर, नेकपा माओवादी केन्द्रसँगको एकतापछि एमालेबाट केन्द्रीय सदस्य थपिएका थिए ।

केन्द्रीय सदस्यको चुनाव हारेका महेश बस्नेत, खगराज अधिकारी, गोकुल बाँस्कोटालगायतलाई पनि मनोनित गरिएको थियो । तत्कालीन नेकपामा रहँदाका जो एमालेको नवौं महाधिवेशनमा निर्वाचित भएका थिएनन् केन्द्रीय सदस्यमा उनीहरुको संख्या उल्लेख्य छ । एमालेको केन्द्रीय सदस्यमा रहेका माओवादी केन्द्र र एमालेमा रहँदा केन्द्रीय सदस्य नभएकाहरुको संख्या ३८ जना छ ।

एमालेभित्र नवौं महाधिवेशनबाट निर्वाचितलाई मात्र केन्द्रीय सदस्य मान्ने वा नेकपा हुँदा केन्द्रीय सदस्य भएका ३८ जनालाई पनि जोडेर कुल २४१ लाई मान्नेबारे विवाद छ ।
नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा र इश्वर पोखरेल महासचिवमा निर्वाचित भएका थिए । ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए ।

एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । तीमध्ये ६० प्रतिशत ओली पक्षमा छन् । बाँकी ४० प्रतिशत जति नेपाल पक्षमा छन् ।

पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता अवस्था फेरबदल भइसकेको छ । अहिले नवौं महाधिवेशनको केन्द्रीय कमिटी सदस्यमध्ये केहीको मृत्यु भइसकेको छ । कतिपयले गुट परिवर्तन गरेका छन् ।

निर्वाचित पदाधिकारीमध्ये केपी ओलीसहित उनको खेमामा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ्ग मात्र उनको पक्षमा छन् । उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।

माधव नेपालको खेमामा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य छन् ।

विधान अनुसार स्वतः वरिष्ठ नेता भएका झलनाथ खनाल पनि उनकै पक्षमा छन् । माधव नेपाल पछि मात्र वरिष्ठ नेता बनाइएका थिए ।

एमालेको नवौं महाधिवेशन २०७१ सालमा भएको थियो । दशौं महाधिवेशन हुन सकेको छैन । माओवादीसँगको एकतापछि महाधिवेशन गर्ने भनिएपनि हुन सकेको थिएन । २३ फागुन २०७७ मा सर्वोच्च अदालतको आदेशबाट एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।



प्रतिक्रिया दिनुहोस्