Logo

एमालेको नवौं महाधिवेशनमा विजयी र पराजितहरु (मतसहित)



काठमाडौं, १६ असार । नेकपा एमालेको ७ वर्ष अघि भएको नवौं राष्ट्रिय महाधिवेशनतर्फ सबैको चासो बढेको छ । १९ देखि २५ असार २०७१ मा काठमाडौंमा भएको महाधिवेशनको कमिटी ब्युँतिएपछि यसतर्फ चासो बढेको छ ।

सर्वोच्च अदालतको आदेशले पनि नवौं महाधिवेशनको निर्वाचित कमिटीको निर्णयहरु मान्य हुने भनिएपछि उक्त कमिटी ब्युँतिएको छ । उक्त कमिटीमा केपी शर्मा ओली अध्यक्ष र इश्वर पोखरेल महासचिव छन् ।

ओलीले माधवकुमार नेपाललाई ५६ मतान्तरले पराजित गरी अध्यक्ष बनेका थिए । त्यतिबेला उनलाई तत्कालीन अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतमको पनि साथ थियो । गौतमले खुलेरै ओलीलाई साथ दिएका थिए । अहिले दुवै नेता ओलीबाट टाढा छन् ।

महासचिवमा १५ मतान्तरले ईश्वर पोखरेलले सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । पोखरेल ओली समूहबाट महासचिवको उम्मेदवार बन्दा पाण्डे माधव नेपाल समूहबाट मैदानमा उत्रिएका थिए । दुवै अहिले पनि एउटै समूहमा छन् ।

उपाध्यक्षमा सर्वाधिक मत भिम रावलले ल्याएका थिए । त्यसपछि वामदेव गौतम, विद्यादेवी भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले मत पाएका थिए । गौतम र भण्डारी ओली खेमाबाट र बाँकी नेपाल खेमाबाट उम्मेदवार बनेका थिए । भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्ष पद खाली छ ।

उपाध्यक्षका उम्मेदवारमध्ये ओली समूहका प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ साह पराजित भएका थिए । नेपाल समूहका राजेन्द्रप्रसाद पाण्डे र लालबाबु पण्डित पनि पराजित भएका थिए । अहिले पण्डित ओली समूहमा गइसकेका छन् ।

उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल विजयी भएका थिए । भुसाल नेपाल समूहबाट र पौडेल ओली समूहबाट उम्मेदवार भएका थिए । दुवै अहिले पनि सोही समूहमा छन् । उपमहासचिवमा ओली समूहका शंकर पोखरेल र नेपाल समूहका रघुजी पन्त पराजित भएका थिए ।

सचिवमा ओली समूहबाट प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग विजयी भएका थिए । उक्त समूहबाट उम्मेदवार बनेका विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ पराजित भएका थिए । नेपाल समूहबाट गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य विजयी भएका थिए । सोही समूहबाट उम्मेदवार बनेका परशुराम मेघी गुरुङ्ग र वेदुराम भुषाल पराजित भएका थिए ।

त्यतिबेला सुवास नेम्वाङ सभामुख भएकाले कुनै पदमा उम्मेदवार भएनन् । उनलाई पछि स्थायी कमिटी सदस्यमा मनोनित गरिएको थियो ।

केन्द्रीय सदस्यको खुलातर्फको ३५ सिटमा सर्वाधिक मत माधवकुमार नेपाललाई प्राप्त भएको थियो । अध्यक्षमा १००३ मत पाएका नेपालले केन्द्रीय सदस्यमा १११३ मत पाएका थिए । त्यसपछि सर्वाधिक मत सुरेन्द्र पाण्डेले १०९६ पाएका थिए । यो उनले महासचिवमा पाएको १०३० भन्दा ६६ मत बढी हो ।

तेस्रो लोकप्रीय मत रविन्द्र अधिकारीले १०८६ पाएका थिए । त्यसपछिको लोकप्रीय मत राजेन्द्रप्रसाद पाण्डे, लालबाबु पण्डित, ठाकुर गैरे, प्रकाश ज्वाला, टंक कार्की, अरुण नेपाल, डा. विजयकुमार पौडेललगायतले पाएका थिए ।

हालै उपप्रधानमन्त्रीबाट पदमुक्त भएका रघुवीर महासेठ, गृहमन्त्रीबाट पदमुक्त भएका खगराज अधिकारी, एमालेका चर्चित नेता महेश बस्नेत केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

महिलातर्फको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्रीले सर्वाधिक लोकप्रीय मत पाएकी थिइन् । त्यसपछि राधा ज्ञवाली, पद्मा अर्याल, थममाया थापा, जयन्ती राई, श्रीमाया थकालीले लोकप्रीय मत पाएका थिए ।

जनजातितर्फको केन्द्रीय सदस्यमा लोकप्रीय मत पाउनेहरुमा क्रमशः दलबहादुर राना, शेरधन राई, यज्ञराज सुनुवार, पार्वत गुरुङ्ग, सानुकुमार श्रेष्ठ, वैजनाथ चौधरी, शेरबहादुर तामाङ, खगेन्द्र राई, लिलानाथ श्रेष्ठ, ज्ञानबहादुर भुजेल र डम्बरसिंह सम्वाहाम्फे थिए ।

एमालेको वैकल्पिक, आमन्त्रित र पदेनसहित २०५ जना निर्वाचित केन्द्रीय सदस्य थिए । तीमध्ये केहीको निधन भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्