Logo

यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार



१६ असार : यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अल–जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताएका छन् ।

मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै यस आक्रमणबाट एक बच्चा सहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

इरान समर्थित हुथी समूहले मध्य यमनको तेल खानी रहेको मरिब क्षेत्रलाई नियन्त्रणमा लिन पछिल्ला केही दिनदेखि सरकारी सेना विरुद्ध कारबाही थालेको छ । त्यहाँ साउदी अरबको समर्थन प्राप्त यमनको सरकारी सेनाको नियन्त्रण छ ।

मरिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झण्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण दश हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने लाखौं मानिस अन्यत्र पलायन भएका छन् ।

संयुक्त राष्ट्रसंघले हालै द्वन्द्वरत पक्षहरुलाई वार्तामा ल्याई युद्धबिराम गराउने प्रयास समेत विफल भएको थियो । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ । यमनका प्रमुख विद्रोही समूह हुथीले राजधानी साना सहित सबैजसो उत्तरी प्रान्तहरुलाई नियन्त्रणमा लिएको छ ।–सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्