Logo

माधव नेपालका यी विश्वासपात्रलाई ओलीले स्थायी कमिटी सदस्य बनाएपछि…



काठमाडौं, १६ असार । नेकपा एमालेको पुरानै कमिटी सक्रिय भएको छ । आजबाट महाधिवेशन आयोजक कमिटी खारेजीको निर्णय भएसँगै पुरानो कमिटी सक्रिय भएको हो ।

नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताइसकिएको छ । निर्वाचित कमिटीमा ८ जना स्थायी कमिटी सदस्य थपिएका छन् । जसमध्ये माधव नेपाल समूहका वेदुराम भुसाल र रघुजी पन्त पनि हुन् ।

भुसाल र पन्त माधव नेपालका विश्वासपात्र हुन् । नवौं महाधिवेशनमा पन्त उपमहासचिवमा र भुसाल सचिवमा पराजित भएका थिए ।

नेपालका विश्वासपात्रलाई स्थायी कमिटीमा ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर रघुवीर महासेठ र विष्णु रिमाललाई पनि ल्याएका छन् । नवौं महाधिवेशनमा महासेठ र रिमाल दुवैजना सचिव पदमा पराजित भएका थिए ।

ओलीले नेपाल खेमाका समेतलाई स्थायी कमिटीमा मनोनित गरेर एकताका लागि दबाब बढाएका छन् । छुट्टै दल खोल्न ठिक्क परेका माधव नेपाललाई यो निर्णयले नैतिक संकटमा पारेको छ । अब उनले कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ ।

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । उनीहरु पूर्वमाओवादी हुन् । पूर्वमाओवादीलाई स्थायी कमिटीमा ल्याएपछि माधव नेपाल खेमाले असन्तुष्टि जनाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्