Logo

अमेरिकाबाट २०२२ यता खरिदको खोप आउन नसक्ने



काठमाडौं, १६ असार । अमेरिकाबाट २०२२ यता खरिदको खोप आउन नसक्ने भएको छ । अमेरिकी खोप उत्पादक कम्पनीले नेपाललाई तत्काल खोप आपुर्ति गर्न नसक्ने जनाएपछि खोप आउन नसक्ने भएको हो ।

अमेरिकाका तीन खोप उत्पादक कम्पनीहरु जोन्सन एण्ड जोन्सन, मोर्डना र नोभाभ्याक्सले नेपाललाई तत्काल खोप दिन नसक्ने जवाफ दिएका हुन् । नेपालले ती कम्पनीसँग खोप खरिदको पहल गरेको थियो ।

जुन १७ मा जोन्सन एण्ड जोन्सनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच भएको भर्चुअल कुराकानीको क्रममा ५० लाख डोज खरिदको लागि आग्रह गर्दा जोन्सनका प्रतिनिधिले २०२२ अगाडी खोप आपुर्ति गर्ने सम्भावना न्युन भएको जवाफ दिएको बुझिएको छ । अमेरिकास्थित नेपाली राजदूतावासले पनि खोप ल्याउन पहल गरिरहेको थियो । तर, प्रयास सफल भएन ।

अमेरिकाको अर्को खोप उत्पादक कम्पनी मोर्डनालाई २० लाख डोज खोप खरिदको लागि नेपालले आग्रह गरेको थियो । तर मोर्डनाले पनि तत्काल खोप विदेश निर्यात गर्ने अवस्था नरहेको जानकारी दिएको छ । मोर्डनाले २०२२ सम्म खोप निर्यात गर्न नसक्ने जनाएको छ ।

यसैगरी, अमेरिकाको अर्को खोप उत्पादक कम्पनी नोभाभ्याक्सले पनि नेपाललाई खोप नदिने भएको छ । नोभाभ्याक्सले तत्कालका लागि खोप व्यवसायिक रुपमा खोप निर्यातमा तयार नरहेको जानकारी हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका अन्य देशहरुलाई ७० लाख डोज खोप दिने प्रतिवद्धता जनाएका थिए । उक्त खोप अनुदानमा दिइने हो । अनुदानको खोपबाहेकको खोप ल्याउन नेपालले अमेरिकासहित भारत, चीन, रुसलगायत देशहरुसँग पहल गरेको थियो । भारतबाट खोप खरिद भइसकेको तर आइपुगेको छैन । चीनबाट पनि खोप खरिदको प्रक्रिया बढेको छ ।



प्रतिक्रिया दिनुहोस्