Logo

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्रको शिलान्यास



काठमाडौं, १६ असार । जननायक बी.पी. कोइराला स्मृति ट्रष्टद्वारा निर्माण गरिने बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र -B.P Koirala Studeis and Research Center_ को काठमाडौंमा आज एक समारोहका बीच शिलान्यास गरिएको छ ।

काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादर देउवाले उक्त भवनको शिलान्यास गर्दै राष्ट्रवादी नेता बी.पी.कोइरालाको राजनीति तथा साहित्यबारे अनुसन्धान तथा अध्ययन गर्ने चाहने जोकोहीलाई पनि केन्द्र महत्वपूर्ण हुने बताए । काँग्रेसका पूर्व प्रधानमन्त्रीहरुसमेत रहेका सभापति देउवाले चाहँदा चाहँदै गर्न नसकेको काम आज सुरु हुँदा आफू अन्यन्तै खुसी भएको प्रतिक्रिया दिए ।

यसैगरी समारोहका अर्का अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा बी.पी. ट्रष्टका सदस्य शशांक कोइरालाले बी.पी.कोइरालाबारे अध्ययन अनुसन्धान गर्न चाहने नेपालीलाई मात्र नभई विदेशी अनुसन्धान तथा शोधकर्तासमेतलाई यो भवन उपयोगी बनोस् भन्ने धारणा राखे ।

कार्यक्रममाथि प्रकाश पार्दै जननायक बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले अध्ययन तथा अनुसन्धान केन्द्रबाट बीपी कोइराला र नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जिज्ञासु देश÷विदेशका सबैले चाहेजति सूचना तथा जानकारी पाउने बताउनुभयो । उहाँले यो भवन बनाउन सघाउने सबै संस्थालाई धन्यवाद दिएका थिए ।

यसैगरी समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बी.पी.कोइरालाजस्तो आदर्शवान् नेताबारे सुनेको, जानेको उल्लेख गर्दै भने, तर आज आफूले नै बी.पी.भवन निर्माणमा सहयोग गर्ने अवसर पाउँदा अति खुसी लागेको छ । उनले उक्त भवनलाई आगामी बजेट मार्फत समेत सहयोग गर्ने बताए ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, बागमती प्रदेश तथा काठमाडौं महानगरपालिकाको सहयोगमा करिब नौ करोडको बजेटमा अति सुविधासम्पन्न अध्ययन केन्द्र निर्माण हुनेछ । भवन लगभग १८ महिनादेखि दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त भवनको बी.पी. ट्रष्टको तर्फबाट सुपरिवेक्षण तथा अनुगमन प्रा.डा. ई.हरिदर्शन श्रेष्ठले गर्नुहुने छ भने नगरपालिकाको तर्फबाट सहरी विकास आयोजनाप्रमुख ई. राम थापाले गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्