Logo

एमाले महाधिवेशन आयोजक कमिटी विघटन



काठमाडौं, असार १७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आयोजक कमिटी विघटन गरेर १८ असार (शुक्रबार) केन्द्रीय कमिटीको बैठक बस्दै छ । १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको केन्द्रीय कमिटी सक्रिय भएको छ ।

बैठकले आठ जना नेतालाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ । पूर्वमाओवादी केन्द्रतर्फका चार र एमालेका चार गरी आठ जना नेतालाई स्थायी कमिटीमा मनोनीत गरिएको हो । यी आठै जना नेता एमाले र माओवादी केन्द्रबीच एकता भएपछि स्थायी कमिटीमा रहेका थिए ।

स्थायी कमिटीमा मनोनित हुनेमा माओवादी केन्द्रतर्फका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा र एमालेतर्फका रघुजी पन्त, रघुवीर महासेठ, डा बेदुराम भुषाल र विष्णु रिमाल रहेका छन् ।

स्थायी समितिमा मनोनित महासेठ र रिमाल प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् । पन्त र भुसाल भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन् ।

यस्तै, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाक्रीसहित ११ नेताहरूलाई गरिएको कारबाही स्वतः निष्क्रिय भएको प्रवक्ता ज्ञवालीले बताए । महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएको र पार्टी एकताका लागि समेत आधार भइरहेकाले महाधिवेशन आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटीलाई नै सक्रिय बनाइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्