Logo

कोरिया रोजगारी सुचारु गर्न पहल



काठमाडौं, असार १७ । चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्।

सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले रोकिएको रोजगारी सुचारु गर्न कोरियाले केही सर्त अघि सारेर छलफल सुरु भएको बताए।

‘बन्द रोजगारी सुचारु गर्नुपर्ने हाम्रो निरन्तरको प्रयासअनुरूप कोरियाबाट चासो हुन थालेको छ,’ उनले भने, ‘कोरियाले राखेको सर्तबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि रोजगारीका लागि कोरिया जाने प्रक्रिया सुरु हुन्छ।’ कोरियाले नेपाली श्रमिक लैजान नेपालबाट सिधैं कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नु पर्ने र कोरिया पुगेपछि श्रमिक निजी खर्चमा क्वारेन्टिन बस्नुपर्ने सर्त राखेको छ। ‘यी सर्त पूरा भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने कोरियाले पत्राचार गरेको छ,’ दवाडीले भने।

रोकिएको रोजगारी सुचारु गर्न सर्त राखे पनि कोरिया सकारात्मक देखिएकाले चाँडै सुरु हुने विभागका अधिकारीहरूले अपेक्षा गरेका छन्। सरकारले गत साता दक्षिण कोरियामा पनि नियमित उडान सुरु गर्ने निर्णय गरिसकेको छ। यद्यपि निर्णय कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ। मन्त्रालय पनि रोकिएका कामदारलाई चाँडोभन्दा चाँडो कोरिया पठाउने पक्षमा रहेकाले कोरियाको सर्तमा फटाफट निर्णय हुने धेरैको अपेक्षा छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot