Logo

बन्दिपुरको खहरे र तामुङमा पहिरो, २ जनाको मृत्यु, ३ बेपत्ता



तनहुँ, १७ असार । तनहुँमा गए रातिदेखि निरन्तर आएको वर्षाको कारण आएको पहिरोले बन्दिपुर वडा नं ३ तामुङमा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । घर माथिबाट खसेको पहिरोले घर पुरेको अवस्थामा तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको बन्दिपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास अधिकारीले बताए ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको छ । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको छ।

त्यस्तै खहरेमा पनि पहिरोले ५ घरलाई क्षति पुर्याएको छ । इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको हवल्दार कृष्ण गान्धारीको नेतृत्वमा खटिएको टोलीले खहरेको ५ घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानन्तरण गरेको हो ।

प्रहरी निरीक्षक अधिकारीले खहरेका ५ परिवारलाई उद्धार गरी वस्तीलाई नै सुरक्षित स्थानमा सारिएको जानकारी दिए । स्थानिय तथा नेनिसंघका नेता रोजन बानियाँले खहरेको पहिरोले जोखिम वस्तीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानन्तरण गरेको बताए ।

साथै रातिदेखिको आएको अविरल वर्षाले बन्दिपुर–डुम्रे सडक खण्डको छ स्थानमा पहिरो जादा बाटो अबरुद्ध भएको छ । बन्दिपुर–सिमल्टार डाड्खोला मोटरबाटोमा ३ स्थानमा पहिरो गएको छ ।

निरन्तरको वर्षाले सिमलटारलाई कुवादीसँग जोड्ने २ तले पुल समते बगाएको प्रहरीले जनाएको छ । अहिले स्थानिय र बन्दिपुर इलाका कार्यालयका प्रहरीहरु उद्धारमा खटिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्