Logo

राजकाजभन्दा रमझममै रमाउने राजा त्रिभुवन



नेपालको इतिहासमा ४३ वर्ष राजा भएका त्रिभुवन वीर विक्रम शाहको १ सय १६ औं जन्मजयन्ती हो, असार १७ । विक्रम संवत् १९६८ मा पिता पृथ्वी वीर विक्रम शाहको निधन भएपछि उनी ५ वर्षकै उमेरमा राजसिंहासनमा बसेका थिए । तर उनको ध्यान राजकाजमा भन्दा रमझमतिर ज्यादा रहेको विभिन्न इतिहासकारहरुले उल्लेख गरेका छन् ।

त्यसो त राजा त्रिभुवन शाहवंशीय राजा रणबहादुर शाह र सुरेन्द्रविक्रम शाह जति ‘लम्पट’ थिएनन् भन्ने दाबी पनि नभएका होइनन् । तर राणाहरूले त्रिभुवनको खोपीमा सुरा र सुन्दरीको कहिल्यै कमी हुन दिएनन् । उनी १२ वर्षको छँदै राणाहरूले भारतीय दिदीबहिनी कान्ति र ईश्वरीसँग बिहे गराइदिएका थिए । यसबाहेक राणाशाहीको अन्त्यपछि त्रिभुवनले दरबारमा थप आधा दर्जन युवतीलाई अनौपचारिक रूपमा पत्नी बनाएर राखेका थिए ।

राणा शासकहरूले त्रिभुवनलाई रक्सी, स्त्री र अफिममा सदैव डुब्ने विलासी राजाका रूपमा विदेशीसामु चित्रण गरे पनि राणाकालमै त्रिभुवनकी जेठी रानी कान्ति राज्यलक्ष्मीको मालिस गर्न दरबार छिरेकी युरोपेली युवती एरिका लुखट्यागले उनलाई चुरोटको अम्मली बताएकी छन् । ‘त्रिभुवनकी एरिका’ नामक पुस्तकमा उनले भनेकी छन्, ‘राजा त्रिभुवनले मदिरा र मलाई समान प्रेम गरे ।‘ नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराले पनि राजा त्रिभुवनसँगै रक्सी खाएर नाचेको उल्लेख गरेका छन् ।

विश्वेश्वरप्रसाद कोइरालाले त्रिभुवनको स्त्री र मदिरामोहबारे ‘आत्मवृत्तान्त’मा लेखेका छन्, ‘साम्राज्यशमशेरले आफ्नो घरमा दिएको पार्टीमा छोराहरू र बुहारीहरूकै अगाडि त्रिभुवन रक्सीले मातेर धुत भई आफ्ना लागि साम्राज्यशमशेरको घरमा स्थायी रूपमा बन्दोबस्त गरिएकी केटी च्यापेर एउटा कुनातिर पसेका थिए । बुहारीहरूलाई असहज हुनेगरी युवतीहरूसँग भड्किलो पारामा नृत्य गरेका थिए ।‘ त्यसै कारण युवराज महेन्द्र र पिताको सम्बन्ध ‘बासनादार’ थिएन ।

खोपीमा उपलब्ध सुरा र सुन्दरी अनि काठमाडौंका ‘भूमिगत’ अखडाहरूले नअघाएर उनी कोलकाता पनि उत्तिकै धाइरहन्थे । बेलायती उपनिवेशको राजधानी दिल्ली सर्नुअघि कोलकात्तामै थियो । रूसी मूलका बेलायती बोरिस लिसानेभिचको नामी नाइट क्लब ‘क्लब-३००’ मा मस्ती गर्थे । नाइट क्लब जाने, जथाभावी रक्सी पिउने र खर्च गर्ने उनको बानी थियो । बोरिसलाई उनले नेपाल पनि ल्याए र होटल रोयल खोले ।

राजषी ठाँटबाँट र पदीय ओज भुलेर त्रिभुवनले भारतका नगण्य मानिससँग हिमचिम बढाएको पहिलो भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले चित्त बुझाएनन् । विश्वेश्वरप्रसाद कोइराला दिल्ली गएका बेला उनले भनेछन्, ‘तिम्रा राजा कलकत्ता आउँछन्, बम्बई जान्छन् । स्वास्नीमानिसहरूसँग, हलुका व्यापारीहरूसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन । त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनुपर्यो ।‘

‘राजा कोलकाता-मुम्बईतिरका सुन्दर कन्याहरूसँगको संसर्गबाट मोहित भएका हुन् भने ‘दरबारभित्रै राम्रा–राम्रा ठिटीहरू सप्लाई गर्दा हुँदैन र ?’ नेपालका लागि तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हाले नेहरूकै अगाडि आफूसँग त्यस्तो आशयको भनाइ राखेको कोइरालाले ‘आत्मवृत्तान्त’ मा उल्लेख गरेका छन् ।

लगातार १७ वर्ष भारतको प्रधानमन्त्री रहेका नेहरूले नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई समेत राजा वा राष्ट्राध्यक्षको मर्यादा नघटाउन सचेत गराउँदै पत्राचार गरेका छन् । साथै २००७ को क्रान्तिपछि पनि महावीरशमशेरसँग मिलेर राजधानी कोलकातामा भीड जमाउने अनि अमेरिकी पार्टीमा ‘अलनाइट’ पार्टीमा रमाउने राजाको जीवनशैलीमा असहमति जनाएका छन् ।

नेपालका आठौं शाहवंशीय राजा त्रिभुवन ४८ वर्षको अल्पायुमै २०११ फागुन ३० गते स्विटजरल्यान्डको जुरिकमा बिते । मदिरा र चुरोटको अम्मलका कारण उनी युवावयमै मुटुरोगी थिए । उनीपछि पनि नेपालको राजदरबारमा मदिरा र चुरोटको संगत टुटेन । उनका उत्तराधिकारी राजा महेन्द्र पनि रक्सी र चुरोटका सोखिन थिए । अलिकति टेन्सन हुनेबित्तिकै एक्लै बसेर रक्सी पिउने र चुरोट नटुटाउने बानीका कारण उनको पनि ५१ वर्षमै हृदयाघातले निधन भयो । राजदरबारभित्रै गोलीको सिकार भएका राजा वीरेन्द्र ‘भ्याट ६९’ नामक ह्विस्की र मृगको पारखी थिए । त्यसपछिका राजा ज्ञानेन्द्रले पनि हृदयघात भएपछि चुरोटको अम्मल छाडेका थिए ।

तस्बिरः राजा त्रिभुवनलाई सिगरेट सल्काउन मद्दत गरिरहेका इजिप्टका तत्कालीन राष्ट्रपति जनरल मोहम्मद नागुइब । यो तस्बिर सन् १९५४ को जनवरीतिरको हो । स्रोतः सन्तोष खडेरीको संकलन



प्रतिक्रिया दिनुहोस्