Logo

सय वर्षमा चीनमा के भयो ?



जुलाई १ (असार १७) मा चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) स्थापना भएको १ सय वर्ष पुग्यो । चीनको राजधानी बेइचिङको तियानमेन स्क्यायरमा भएको शतवार्षिकी समारोहमा चिकपाका महासचिव एवं केन्द्रीय सैनिक आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सी चिनफिङ सहभागी भए ।

समाचार संस्था एएफपीका अनुसार बेइजिङस्थित बर्डस् नेस्ट रङ्गशालामा ‘द ग्रेट जर्नी’ नामक कला प्रदर्शनीमा पार्टी र देशको इतिहास झल्काए पनि सांस्कृतिक क्रान्ति, १९८९ तियानमेन स्क्वाएर प्रदर्शन र हङकङका प्रजातन्त्र समर्थकको प्रदर्शन समेटिएनन् ।

शतवार्षिकी समारोहमा राष्ट्रपति सी जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने, चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको र कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताए ।

सन् १९२१ मा स्थापना भएको चिकपा २८ वर्ष लामो गृहयुद्धपछि ७२ वर्षअघि सत्तामा पुगेको थियो । चिकपाको केन्द्रीय सङ्गठन विभागका अनुसार चिकपाको कुल सदस्य सङ्ख्या ९ करोड ५१ लाख छ भने प्रारम्भिक तहको सङ्गठन ४९ लाख वटा छन् । पार्टी सदस्यमध्ये २ करोड ७४ लाख ५० हजार जना महिला छन् । यो कुल पार्टी सदस्य सङ्ख्याको २८.८ प्रतिशत हो ।

हालका सदस्यमध्ये १ लाख ३४ हजार सदस्यहरू सन् १९४९ को अक्टोबरमा जनगणतन्त्र चीन स्थापना हुनुअघि नै पार्टीको सदस्य थिए । पार्टी सदस्यमध्ये झन्डै २ करोड ३६ लाख ८० हजार जना अर्थात् २४.९ प्रतिशत ३५ वर्ष वा सोभन्दा कम उमेरका छन् । सन् १९२१ मा पार्टी स्थापना हुँदा सदस्य सङ्ख्या जम्मा ५० थियो ।

‘द ग्लोबल टाइम्स’ का अनुसार सांस्कृतिक क्रान्ति (१९६६–१९७६) मा भएको क्षतिबाट देशको उपचार गर्न सन् १९७०–दशकको उत्तरार्धमा गहन आत्मसमीक्षापछि चिकपाले सन् १९७८ मा सुधार र खुलापनको नीति अंगीकार गरेको थियो । तर, सन् १९८०–दशकको उत्तरार्धमा चिकपामाथि पश्चिमा उदारवादी विचारको प्रभाव र सुधार तथा खुलापन नीतिको कारण पार्टीभित्र फस्टाएको भ्रष्टाचारजस्ता समस्याका कारण ‘अँध्यारो समय’ आइलागेको थियो ।

सांस्कृतिक क्रान्तिको कारण संसारका अन्य देशको दाँजोमा चीनको विकास पछि परेको थियो । संसारका विभिन्न देशसँगको सम्बन्ध भएका, पश्चिमा देशको भ्रमणबाट त्यहाँको विकास र समृद्धि देखेका, भ्वाइस अफ अमेरिका सुनेका, हलिउड चलचित्र हेरेका र कोकोकोला पिएका चीनका सरकारी अधिकारी र बुद्धिजीवीहरू पश्चिमको विकास र समृद्धि देखेर चकित पर्थे ।
अफिम युद्धपछि चीनभन्दा पश्चिमा देशहरू अघि बढ्न सक्नुको मूल कारण त औद्योगिकीकरण थियो । त्यत्तिबेला देङ स्याओपिङ नेतृत्वको चिकपाका नेताहरूले चिनियाँ विशेषतासहितको समाजवादमा जाने सही निर्णय गरे । चीन आजको संसारको दोस्रो ठूलो अर्थतन्त्र हो । कोभिड–१९ महामारीको समयमा चीनको प्रशासन र राजनीतिक प्रणालीले पश्चिमा प्रणालीभन्दा बढी प्रभावकारी ढङ्गले काम गरेको विश्लेषण गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्