Logo

यस्तो छ तिब्बतको पठारमा गुड्ने बुलेट ट्रेन



एजेन्सी, १७ असार । चीनको तिब्बत भौगोलिक दृष्टिले निकै जटिल छ । अग्ला हिमाल, नदीनाला र खोल्साहरु छन् । तर, त्यस्तो जटिल भूगोलमा चीनले बुलेट ट्रेन गुडाएर विश्वलाई चकित पारेको छ ।

तिब्बतको राजधानी ल्हासाबाट निग्चीसम्मको ४३५ किलोमिटर लामो बुलेट ट्रेनको लाइन २५ जुनबाट सुरु भएको हो । प्रतिघन्टा १६० किलोमिटरका दरले रेल कुद्ने भएकाले ३ घन्टाभन्दा कम समयमा यात्रा गर्न सकिन्छ ।

तिब्बतमा बुलेट ट्रेन पुगेपछि चीनको सबै ३१ प्रान्तमा यस्तो ट्रेन पुगेको हो । चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षगाँठको केही दिनअघि बुलेट ट्रेन उद्घाटन भएको थियो ।

तिब्बतको बुलेट ट्रेन निर्माणमा ६ वर्ष लाग्यो । ९० प्रतिशत रेललाइन ३,००० मिटरभन्दा बढी उचाईमा अवस्थित छ । ल्हासा-निग्ची रेललाइनमा ४७ सुरुङ र १२१ पुलहरु छन् । जसमध्ये ५२५ मिटरको जाङमु रेल्वेपुल पनि छ ।

ल्हासा-निग्ची रेललाइन निर्माणमा ५ अर्ब ६० करोड डलर खर्च भएको थियो । यो ६ खर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । नेपालको कुल आर्थिक वर्षको बजेटको ३५ प्रतिशत हुनआउँछ ।

उचाईमा गुट्ने भएकाले तिब्बतको बुलेट ट्रेनमा अक्सिजन प्रणाली पनि जडान गरिएको छ । यात्रुहरुलाई कठिनाई परेमा अक्सिजन प्रयोग गर्न सक्छन् ।

तस्बिर स्रोतः सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot